बोर्डको बैठकमा प्रधानमन्त्रीले भने- ‘विस लिष्ट’ भन्दा पनि व्यवहारिक परियोजना प्रस्तुत गरौं

बिजमाण्डू
२०८१ बैशाख ११ गते १३:१२ | Apr 23, 2024
बोर्डको बैठकमा प्रधानमन्त्रीले भने- ‘विस लिष्ट’ भन्दा पनि व्यवहारिक परियोजना प्रस्तुत गरौं
लगानी बोर्डको बैठक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनमा ‘विस लिष्ट’ भन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले मंगलबार लगानी बोर्डको बैठकमा कार्यान्वयन गर्न सक्ने आयोजनालाई सम्मेलनमा प्रस्तुत गर्नुपर्ने बताएका हुन्। बोर्डले वैशाख १६ र १७ गते हुने सम्मेलनमा प्रस्तुत गर्नका लागि निजी क्षेत्रका ३१ वटासहित १४८ आयोजना छानेको छ।

‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन, ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौं,’ प्रधानमन्त्री दाहालले भने। उनले लगानीकर्तालाई आकर्षित गर्ने गरी कानुन संशोधन गरिएको भन्दै त्यसले लगानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘⁠सम्मेलनअघि ऐन संशोधन गरेका छौं। त्यसले लगानी बढाउन मद्दत गर्नेछ। त्यसैले ठोस र व्यवहारिक योजना दिनुपर्छ,’ उनले भने। सरकारले सोमबार अध्यादेशमार्फत ९ वटा कानुन संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिइ देशमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए।

‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’ उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौं।’