लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३४ राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

बिजमाण्डू
२०८१ बैशाख ११ गते ०९:०५ | Apr 23, 2024
लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३४ राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरुलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन तोकिएको समयावधि व्यतीत भएपछि पेस गर्ने, आव २०७८/७९ को प्रतिवेदन पेस नगर्ने, आव २०७९/८० को प्रतिवेदन पेस नगर्ने र आव २०७८/७९ र २०७९/८० को प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने दलहरूलाई स्पष्टीकरण सोधेको हो।

Tata
GBIME
Nepal Life

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका दलहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखापरीक्षण गराइ एक महिनाभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ।  

आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन नबुझाउने १२ वटा दल छन्। आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेस नगर्ने एउटा र आव २०७९/८० को प्रतिवेदन पेस नगर्ने १५ वटा राजनीतिक दल छन्। यस्तै आव २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने दलहरु ६ वटा छन्।

लेखापरीक्षण प्रतिवेदन कानुनले तोकेको समयावधिभित्र किन पेस नगरेको हो? यसकारण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनुनपर्ने हो? भन्ने आफ्नो सफाइसहितको स्पष्टीकरण सोही ऐनको दफा ५४ को उपदफा (८) बमोजिम पेस गर्न ७ दिनभित्र पेस गर्न आयोगले भनेको छ।

आव २०७९/८० को लेखा परीक्षण प्रतिवेदन नबुझाएकाहरु

१. नेपाली कांग्रेस वि.पी. २. तराई मधेस लोकतान्त्रिक पार्टी  ३. नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) ४. जनता प्रगतिशील पार्टी, नेपाल ५. समावेशी समाजवादी पार्टी ६. नेपाल कम्युनिष्ट पार्टी परिवर्तन ७. बहुजन शक्ति पार्टी ८. राष्ट्रिय सदभावना पार्टी ९. नेपाल सदभावना पार्टी १०. नेपाल नौलो जनवादी पार्टी ११. जय जन्मभूमि पार्टी नेपाल १२. पुनर्जागरण पार्टी, नेपाल

आव २०७८/७९ को प्रतिवेदन पेस नगर्ने दल

१. समाजवादी केन्द्र नेपाल

आव २०७९/८० को प्रतिवेदन पेस नगर्ने दल

१. चुरेभावर लोकतान्त्रिक पार्टी २. माओवादी कम्युनिष्ट पार्टी, नेपाल ३. राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी ४. नेश्नलिष्ट पिपल्स पार्टी ५. शिव सेना नेपाल ६. उन्नत लोकतन्त्र पार्टी ७. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ८. नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी ९. राष्ट्रवादी एकता पार्टी १०. देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल ११. राष्ट्रिय एकता मञ्च १२. हाम्रो नेपाली पार्टी १३. नेपाल समाजवादी पार्टी (लोहियावादी) १४. राष्ट्रवादी केन्द्र नेपाल १५. नेपाल मातृभूमि पार्टी

२०७८/७९ र ०७९/८० को प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म नबुझाउने दलहरू

१. गान्धीवादी पार्टी  २. सामाजिक एकता पार्टी ३.  नेपाल राष्ट्रवादी पार्टी ४. साझा पार्टी नेपाल ५. माओवादी जनमुक्ति पार्टी नेपाल ६. नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली)