जैसवालको शतकमा मुम्बईमाथि राजस्थानको सजिलो जित, शीर्षस्थानमा चार अंकको अग्रता

बिजमाण्डू
२०८१ बैशाख ११ गते ०६:४७ | Apr 23, 2024
जैसवालको शतकमा मुम्बईमाथि राजस्थानको सजिलो जित, शीर्षस्थानमा चार अंकको अग्रता
शतकपछि राजस्थानका जसवाल। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्‍न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई हराएको छ। जयपुरमा सम्पन्‍न खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको शतकको सहायतामा मुम्बईलाई ९ विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङमा उत्रिएको मुम्बई पहिलो ओभरमा इशान किशन रन नजोड्दै र दोस्रो ओभरमा रोहित शर्मा ६ रन बनाएर आउट हुँदा सुरुबाटै दबाबमा आएको थियो। त्यस्तै सूर्य कुमार यादव पनि १० रन बनाएर आउट हुँदा मुम्बई ३.१ ओभरमा २०-३ को अवस्थामा थियो।

धर्मराएको मुम्बईको ब्याटिङलाई गति दिन तिलक वर्माले सर्वाधिक ६५, नेहल वधिराले ४९ तथा मोहम्मद नाभीले १९ रनको योगदान दिए।

बलिङतर्फ राजस्थानका सन्दीप शर्माले ५ विकेट लिँदा ट्रेन्ट बोल्टले २ तथा आभेस खान र युजवेन्द्र चहलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानलाई लक्ष्यसम्म पुग्न असहज भएन। ओपनर यशस्वी जसवालले ६० बलमा अविजित १०४ रन बनाउँदा कप्तान सञ्जु सामसन ३८ रनमा अविजित रहे। त्यस्तै जोस बट्लरले ३५ रन बनाए।

बलिङतर्फ मुम्बईको लागि एकमात्र विकेट पियुष चावलाले लिए।

जितसँगै ८ खेलबाट १४ अंक जोडेको राजस्थान अंकतालिकाको शीर्ष स्थानमा छ। यो दोस्रो स्थानमा रहेको कोलकाताको भन्दा ४ अंक बढी हो। कोलकाताले ७ खेलबाट १० अंक बनाएको छ।

६ अंक जोडेको मुम्बई भने तालिकाको सातौँ स्थानमा छ।

आज आईपीएलमा चेन्नइ सुपर किंग्स र लखनउ सुपर जायन्ट चेन्नइमा साँझ पौने ८ बजे भिड्दैछन्।