‍यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक काठमाडौंमा हुने, ३५ देशका प्रतिनिधि नेपाल आउँदै

बिजमाण्डू
२०८१ बैशाख १० गते १५:३८ | Apr 22, 2024
‍यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक काठमाडौंमा हुने, ३५ देशका प्रतिनिधि नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन्। यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा सो जानकारी दिएकी हुन्।

Tata
GBIME
Nepal Life

यूएनडीपीका ३५ देशका प्रतिनिधि वैशाख १७ गते काठमाण्डौं आइपुग्ने उनले बताइन्। त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौंमा बस्नेछ। यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलोपटक हो। यसअघि उक्त बैठक थाइल्याण्डको राजधानी बैंककमा बस्ने गरेको थियो।

सो बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि आउनेछिन्। त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

यस्तै, विग्नाराजासहितको टोली हेलिकप्टरमार्फत सोलुखुम्बु क्षेत्रको भ्रमणमा जाने कार्यतालिका छन्। त्यहाँ यनीहरुले इम्जा तालको निरीक्षण गर्नेछन्। इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै युएनडीपीको सहयोगमा तालभन्दा तल्लो भेगमा रहेका बस्तीलाई सुरक्षित बनाउन तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराई बढाइएको थियो।

यूएनडीपीको सहयोगमै दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाइएको थियो। आगामी दिनमा त्यस्तै जोखिममा रहेकामध्ये सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको लाबेले बताइन्।

आज भएको भेटमा लाबेले यूएनडिपीले नेपालको गरिबी निवारण तथा स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे मन्त्री पुनलाई अवगत गराएकी थिइन्। यस्तै उनले ग्लोबल ग्रिन क्लाइमेट फण्डको कार्यक्रम नेपालमा लागू गर्न लागेको विषयमा समेत जानकारी दिएकी थिइन्। आगामी दिनमा यूएनडीपीले नेपालमा गर्ने कामलाई सरकारसँग जोड्न चाहेको उनको भनाइ थियो।

त्यस क्रममा मन्त्री पुनले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक नेपालमा गर्न लागेकोमा धन्यवाद दिएका थिए। सन् १९६३ मा कार्यालय स्थापना गरेयता यूएनडिपीले नेपालको विकासमा गरेको सहयोगका लागि पनि मन्त्री पुनले सराहना गरेका थिए।