हिरोले ल्यायो नयाँ स्कुटर जुम, सुविधा र मूल्यमा होन्डाको डीओलाई चुनौती

बिजमाण्डू
२०८१ बैशाख १० गते ११:०५ | Apr 22, 2024
हिरोले ल्यायो नयाँ स्कुटर जुम, सुविधा र मूल्यमा होन्डाको डीओलाई चुनौती

काठमाडौं। नेपाली बजारमा फेरि हिरो र होन्डाबीच राम्रै प्रतिस्पर्धा हुने भएको छ। होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ र हिरोको नयाँ बिक्रेता चौधरी ग्रुपबीच स्कुटर बिक्रीमा बजारमा प्रतिस्पर्धा हुने देखिएको हो।

Tata
GBIME
Nepal Life

आइतबार हिरोले ल्याएको नयाँ स्कुटर जुम होन्डाको डीओका लागि पर्फेक्ट काउन्टर हो। यी दुई स्कुटरमा फङसन र सुविधा सबै उस्तै उस्तै छन्। जुम डीओभन्दा अलि एडभान्स्ड फिचरका साथ आएको छ। यस्तै कम्पनीले मूल्य पनि डीओको भन्दा १० हजार सस्तो बनाएको छ।

होन्डा डीओमा १०९.५१ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन छ भने हिरोको जुममा ११० सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन उपलब्ध छ। डीओको इन्जिनले ७.७५ बीएच पावर र ९.०३ एनएम टर्क जेनेरेट गर्न सक्छ। यस्तै जुमको इन्जिनले ८.०६ बीएच पावर र ८.९५ एनएम टर्क जेनेरेट गर्न सक्छ।

उत्पादक कम्पनीहरुका अनुसार जुमले प्रति लिटर ४६.५ किलोमिटरको माइलेज दिन्छ भने डीओले प्रति लिटर ४८ किलोमिटर माइलेज दिन सक्छ। डीओमा ५.३ लिटर क्षमताको फ्युल ट्यांक छ भने जुममा ५.२ लिटर क्षमताको ट्यांक छ। यसरी डीओमा फुल ट्यांक फ्युल हाल्दा २५४ किलोमिटरसम्म दुरी पार गर्न सक्छ। यस्तै जुममा फुल ट्यांक फ्युल हाल्दा २४१ किलोमिटर दुरी पार गर्न सक्छ।

यसैगरी हिरो जुमको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ भने डीओको १६० एमएम छ। जुमको लम्बाई १ हजार ८८१ एमएम, चौडाइ ७७१ एमएम र उचाइ १ हजार ११८ एमएम छ। डीओको लम्बाइ १ हजार ८०८ एमएम, चौडाइ ७२३ एमएम र उचाइ १ हजार १५० एमएम छ।

यस्तै हिरो जुममा १ हजार ३०० एमएमको ह्‍वीलबेस छ भने डीओमा १ हजार २६० एमएमको ह्‍वीलबेस छ।

जुम स्कुटरमा प्रोजेक्टर एलइडी हेडल्याम्प, इन्टेलिजेन्ट कर्नरिङ लाइट, डिजिटल स्पिडमिटर, ब्लुतुथ कनेक्टीभीटी, आई ३ एस टेक्नोलोजी(आईडल स्टप-स्टार्ट सिस्टम), साइड स्ट्यान्ड सेन्सरहरु छन्। स्मार्ट कनेन्ट फिचर छ।

यस्तै डीओमा एलइडी हेडल्याम्प, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ट्यूवलेस अलोय ह्‍वील, साइड स्ट्यान्ड सेन्सर, इन्जिन किल स्वीच, डिस्क ब्रेक जस्ता फिचरहरु उपलब्ध छन्।

होन्डा डीओको मूल्य भेरियन्टअनुसार २ लाख ५९ हजार ९०० रुपैयाँ र २ लाख ६९ हजार ९०० रुपैयाँ छ। यस्तै हिरो जुमको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ र २ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ। यसरी हेर्दा हिरोको जुम डीओको तुलनामा मूल्यमा पनि केही सस्तो भएको छ। एउटा भेरियन्टमा डीओभन्दा जुम १० हजार रुपैयाँ सस्तो छ।

डीओमा पावरफुल मोडल लिन चाहनेका लागि १२५ सीसीको अर्को मोडल पनि छ तर, हिरोले भने उक्त मोडलको प्रतिष्पर्धी ल्याइसकेको छैन।