काठमाडौं। चालु आर्थिक वर्ष ९ महिनामा १७ अर्ब ४९ करोड रुपैयाँका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
भन्सार विभागले आइतबार प्रकाशित गरेको तथ्यांक अनुसार चैतसम्म १७ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७ हजार ९३ वटा विद्युतीय कार, जीप र भ्यान आयात गरिएका हुन्।
इभी आयातबाट सरकारले ९ महिनामा ७ अर्ब ७८ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।
इभीको आयातमा बीवाइडीको हिस्सा अधिक अर्थात ३८ प्रतिशत छ। बीवाइडीको ८ अर्ब ४ करोड बराबरको २ हजार ७१३ युनिट गाडी भित्रिएको तथ्यांक छ। ती सबै गाडी रसुवागढी नाका हुँदै ल्याइएका हुन्।
बाँकी ६२ प्रतिशत इभी टाटा, एमजी, ओमोडा, नेटा भी, किया, सेरेस, दिपल, ग्रेटवाल लगायत ब्रान्डका हुन्।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ७ वर्षअघि बीवाइडीको ई६ मोडलबाट नेपालमा आफ्नो अटो यात्रा सुरु गरेको थियो। त्यतिबेला कम्पनीलाई गाडी स्थापित गर्न धौधौ परेको थियो।
जब २०७९ असोजमा यसको फ्ल्यागसिप मोडल एटो ३ सार्वजनिक भयो, त्यसपछि नेपाली बजारमा बीवाइडीको हिस्सा बढ्दै गएको छ। गत वर्ष भदौमा डल्फिन र माघमा सिलको इन्ट्रीले बीवाइडीको उपस्थिति अझ बलियो बन्न पुगेको छ।
बीवाइडीको एटो ३ नेपाली बजारमा सबैभन्दा धेरै रुचाइएको छ। यस्तै डल्फिन दोस्रो धेरै बिक्री हुने मोडल हो। कम्पनीले गाडी आयातबाट यो आर्थिक वर्ष ९ महिनामा सरकारलाई ३ अर्ब १८ करोड रुपैयाँ भन्सार शुल्क तिरेको छ।
इभीमा बीवाइडी र टाटाको प्रतिस्पर्धा छ।
सन् २०२३ मा टाटाले २ हजार ९२७ युनिट गाडी बिक्री गर्दा बीवाइडीले बाँकी सबै ब्रान्डलाई उछिनेको थियो। एक वर्षमा नेपालमा बीवाइडीका २ हजार १७७ युनिट गाडी बिक्री भएका थिए।
जबकि कम्पनीले सन् २०२२ मा १४२ युनिट मात्र गाडी बिक्री गर्न सकेको थियो। चालु आवको आयातको तथ्यांक हेर्दा यो वर्ष बीवाइडीले टाटालाई पनि पछि पार्ने अनुमान गरिएको छ।
बीवाइडीको बिक्री बढ्नु अन्य ब्रान्डलाई टाउको दुखाइएको विषय बनेको छ। स्थापित घरानाहरुले नयाँ नयाँ ब्रान्डका इभी ल्याइरहेका छन्।
कुनै समय नेपालमा इभी बिक्री गर्नेमा नम्बर वन रहेको विशाल ग्रुपले चालु वर्ष ९ महिनामा २ अर्ब २७ करोड बराबरका ७७५ युनिट गाडी आयात गरेको छ। एमजी गाडीको आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सले आयात बापत ८७ करोड रुपैयाँ भन्सार शुल्क तिरेको छ। कम्पनीले सन् २०२३ मा १ हजार १३९ युनिट इभी आयात गरेको थियो।
पारामाउन्ट मोटर्सले ग्रेटवाल ओरा ३३७ वटा आयात गरेको छ। ती गाडी ६३ करोड रुपैयाँ बराबरका हुन्।
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ९ महिनामा ४०४ युनिट नेटा भी इभी भित्र्याएको छ। ती गाडी ८६ करोड रुपैयाँ बराबरका हुन्। कम्पनीले कमर्सियल केवाइसी इभी भ्यान पनि नेपाली बजारमा ल्याइरहेको छ। कम्पनीले ९ महिनामा २ अर्ब १२ करोड बराबरको ८६० युनिट इभी भ्यान आयात गरी ४५ करोड रुपैयाँ भन्सार शुल्क बुझाएको छ।
चिनियाँ ब्रान्ड हावी
नेपाली अटो बजारमा चिनियाँ इभीको उपस्थिति बलियो बन्दै गएको तथ्यांकले देखाउँछ। ९ महिनामा आयात भएका इभीमध्ये ४ हजार ५३३ युनिट चिनियाँ हुन्।
भारतबाट २ हजार ४६० युनिट इभी आयात भएको तथ्यांक छ। कोरियाबाट ४८, इन्डोनेसियबाट ३७ र जर्मनीबाट १२ वटा इभी आयात भएको विभागले जनाएको छ।
सरकारले लक्जरी अर्थात ठूलो मोटर पावर भएका इभीमा कर घटाए पनि आयात बढ्न सकेको छैन। सरकारले चालु आवमा १०० किलोवाट मोटर पावरभन्दा माथिका इभीमा कर घटाएको थियो। तर आयात गरिएका अधिकांश इभी १०० किलोवाट मोटर पावरभन्दा कम क्षमताका हुन्।
७ हजार २९ युनिट गाडी १०० किलोवाट मोटर पावर र त्सयभन्दा कमका भएको विभागले जनाएको छ। १०० किलोवाट मोटर पावरभन्दा माथिका इभी ६४ युनिट मात्र आयात भएका छन्।
गाडी उत्पादक कम्पनीले पछिल्लो समय १०० किलोवाट भन्दा कम मोटर पावरका गाडी उत्पादनलाई प्राथमिकता दिइरहेका छन्।