चार वर्षअघिको अमेरिकी डलरको भाउ राखेर टेलिकम बिलिङको ठेक्का, एसिया इन्फोलाई दिने नियत

उन्नत सापकोटा
२०८१ बैशाख २ गते १९:४४ | Apr 14, 2024
चार वर्षअघिको अमेरिकी डलरको भाउ राखेर टेलिकम बिलिङको ठेक्का, एसिया इन्फोलाई दिने नियत

काठमाडौं। नेपाल टेलिकमले नयाँ बिलिङको ठेक्का पनि एसिया इन्फोले पाउने गरी टेण्डर निकालेको खुलेको छ। टेलिकमले चैत १८ गते नयाँ बिलिङका लागि टेण्डर निकालेको थियो।

Tata
GBIME
Nepal Life

त्यो टेण्डर चार वर्षअघिको अमेरिकी डलरको रेटमा आह्‍वान गरिएको छ।

‘यो नियतबस एसिया इन्फोकै बिलिङ प्रणालीलाई निरन्तरता दिनका लागि डलरको पुरानो दररेट राखिएको हो,’ टेलिकमका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘टेण्डर डकुमेन्ट तयार पार्दा एकजना होइन एक दर्जनभन्दा बढी कर्मचारीले हेरेर सदर हुन्छ। त्यसरी सदर भएको टेण्डर प्रस्तावमा चार वर्षअघिको डलरको रेट राखिएको छ भन्नुको अर्थ ठेक्कामा अनावश्यक विवाद सृजना गरेर पुरानै कम्पनीलाई निरन्तरता दिन खोजिएको हो,’ उनले भने।

टेलिकमले ठेक्का आह्‍वान गरेको दिन (चैत १८ गते) नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरबराबरको बिक्री मूल्य १३३.७५ रुपैयाँ तोकेको थियो। तर, टेलिकमले पूर्वप्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको पालामा नयाँ बिलिङ प्रणाली किन्न गरेको निर्णयकै मितिमा कायम डलर दर (११८ रुपैयाँ)मा टेन्डर सूचना निकालिएको छ।

स्रोतका अनुसार यो टेण्डरपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका २४ उच्च कर्मचारीलाई बयानका लागि पत्र काटेको छ।

बिलिङ प्रणाली किन्न टेलिकमले निकालेको ठेक्काको सूचना

नयाँ बिलिङ प्रणाली किन्न निकालिएको टेण्डरमा टेलिकमले आजको दिनमा बिलिङ प्रणालीको बजार मूल्य कति पर्छ, भ्यालु कति हो, आजको डलरको भाउ अनुसार मूल्यमा के थपघट हुन्छ त्यो पनि हेक्का नराखेको देखिन्छ।

अन्तर्राष्ट्रिय बिडिङ गर्दा आजको दिनमा टेलिकमले कुनै बिचौलियाबिना सिधै उत्पादकसँग कम्तीमा २ करोड ८० लाखदेखि ३ करोड अमेरिकी डलर (३ अर्ब ७२ करोडदेखि ४ अर्ब रुपैयाँसम्म) मा आधुनिक र किफायती बिलिङ प्रणाली किन्न सकिने टेलिकम क्षेत्रका एक जानकारले बताए।

‘मूल्य भनेको स्पेसिफिकेसन र आवश्यकताअनुसार फरक पर्छ। क्लाउडमा आधारित बिलिङ प्रणाली हो भने धेरै सस्तो पर्छ। पूरै फिजिकल बिलिङ, आफ्नै अगाडि जम्मै बिलिङ हुनुपर्छ, यहीँ राख्नुपर्छ अन्त राख्दैनौं भन्यौं भने महँगो पर्छ। किनकि उपकरण, सर्भर, सफ्टवेयर थप चाहिन्छ,’ ती जानकारले बिजमाण्डूसँग भने ‘आजको दिनसम्म पनि टेलिकमले आफ्नो आवश्यकता के हो भनेर प्रस्ट तयारी गर्न सकेको छैन। टेलिकम जसरी पनि एसिया इन्फोलाई नै टेन्डर दिने मुडमा देखिन्छ। उच्च व्यवस्थापन त्यसैको कसरतमा छ।’

बिलिङमा टेलिकमले अहिले दुईवटा कम्पनीको प्रविधि प्रयोग गरिरहेको छ। कस्टमर रिलेसनसिप म्यानेजमेन्ट सिस्टम (सीआरएम) एसिया इन्फो र अनलाइन चार्जिङ सिस्टम (ओसीआर) हुवावेको प्रयोग हुँदै आएको छ। यी दुवै चिनियाँ कम्पनी हुन्।

टेलिकमले बिड सेक्युरिटीबापत इच्छुक कम्पनीले ९ करोड ८५ लाख रुपैयाँ वा ८ लाख ३२ हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने भनेको छ। ठेक्का आह्‍वान गरिएको दिनको सटही दर १३३.७५ रुपैयाँ थियो। सो आधारमा ८ लाख ३२ हजार अमेरिकी डलर भनेको नेपाली मुद्रामा ११ करोड ६ लाख ५६ हजार रुपैयाँ हुनुपर्थ्यो। तर, टेलिकमले १ करोड २१ लाख ५६ हजार रुपैयाँ कम बिड सेक्युरिटी तोकेर ठेक्का आह्‍वान गरेको छ।

सन् २०२० मार्च र नोभेम्बर महिनामा १ अमेरिकी डलरको भाउ ११८ रुपैयाँ थियो। अधिकारीको पालामा ३ करोड ५० लाख अमेरिकी डलरमा नयाँ बिलिङ प्रणालीको ठेक्का अगाडि बढाउने निर्णय गरिएको थियो। तर, उनको पालामा खरिद प्रक्रिया नै अघि बढेन।

उनीपछि टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेलको नियुक्ति भयो। उनी आउँदा पुरानो बिलिङ प्रणालीको ठेक्का सम्झौता सकिन तीन महिना मात्रै बाँकी थियो। ठेक्का प्रक्रिया र डेटा माइग्रेसनका लागि दुई वर्षभन्दा बढी लाग्ने भएपछि उनले पुरानै कम्पनीलाई निरन्तरता दिए। सोही क्रममा अख्तियारले पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको भन्दै पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित बन्न पुगे। अहिले उनी अख्तियारकै हिरासतमा छन्।

त्यसपछि सरकारले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी टेलिकमभित्रकै संगीता पहाडी अर्याललाई दियो। अर्यालले आफूले टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाएको ठिक ६ महिनामा बिलिङ प्रणाली खरिदको ठेक्का आह्‍वान गरेकी हुन्। पुरानै डलर भाउमा बिड गराउने देखेपछि इच्छुक कम्पनीसमेत अन्योलमा छन्।

पौडेलले एसिया इन्फोलाई चार वर्ष र त्यसपछि एक वर्ष थप गर्ने गरी एशिया इन्फोलाई बिलिङ प्रणाली निरन्तरता दिएपछि त्यसमा भ्रष्टाचार भएको भन्दै अहिले अख्तियारले छानबिन गरिरहेको छ। तीन अर्ब रुपैयाँभन्दा माथिको यो खरिदमा ३० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आशंका अख्तियारले गरेको छ। त्यसमध्ये ६ करोड रुपैयाँ एक नेताका छोराको खातामा ट्रान्सफर भएको समेत अख्तियारले फेला पारेको छ।

यो मामिलामा अख्तियारले टेलिकमको सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं हालका मुख्यसचिव बैकुण्ठ अर्याल, टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेल, पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच बिचौलियाको भूमिका निर्वाह गरेका रामचन्द्र भट्टसहित टेलिकमका उच्चपदस्थसँग बयान लिइरहेको छ। केहीको बयान सकिएको र केहीको बयान लिने क्रम जारी रहेको अख्तियार स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ।