निगमले दुई विभागीय प्रमुख छान्यो, क्यामोको जिम्मा मरितालाई, फाइनान्समा सुवेदी

बिजमाण्डू
२०८० चैत्र २५ गते १९:२६ | Apr 7, 2024
निगमले दुई विभागीय प्रमुख छान्यो, क्यामोको जिम्मा मरितालाई, फाइनान्समा सुवेदी


काठमाडौ। नेपाल वायु सेवा निगमले कन्टिन्युइङ एयर वर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन (क्यामो) र फाइनान्स विभागको नेतृत्व छानेको छ।

Tata
GBIME
NLIC

निगमले आइतबार महेश मरितालाई क्यामो र दीपेन्द्र सुवेदीलाई फाइनान्स डाइरेक्टरको जिम्मेवारी दिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उनका अनुसार सुवेदीलाई कामु निर्देशकको जिम्मेवारी दिइएको हो।

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायरका कारण क्यामो डाइरेक्टर उपेन्द्र पौडेल र फाइनान्स डाइरेक्टर उमेश पौडेल चैत २२ गते निलम्बनमा परेका थिए। निगमका नायब प्रबन्ध निर्देशक जनक कालाखेती र अपरेसन डाइरेक्टर श्रवण रिजाल पनि यही प्रकरणमा निलम्बनमा परेकामा उनीहरुको स्थानमा भने कसैलाई जिम्मेवारी तोकिएको छैन।

हवाई सुरक्षासँग जोडिएकाले निगमले क्यामो डाइरेक्टर र अपरेसन डाइरेक्टरको जिम्मेवारी दिंदा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिनुपर्छ। निगमले क्यामो प्रमुख मरिताको हकमा स्वीकृति लिन बाँकी छ।

प्रवक्ता पौडेलले प्राधिकरणबाट स्वीकृति लिने प्रक्रिया चाँडै नै अगाडि बढाइने बताए।                

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिद प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्दा निगमका ७ जना बहालवाला र ७ जना पूर्वकर्मचारी परेका थिए।