न राम्रो धितो, न व्यावसायिक क्षमता, आखिर बैंकले कसरी दिन्छन् अढाई अर्ब ऋण?

सुदर्शन सापकोटा
२०८० फागुन २९ गते ०९:०८ | Mar 12, 2024
न राम्रो धितो, न व्यावसायिक क्षमता, आखिर बैंकले कसरी दिन्छन् अढाई अर्ब ऋण?

काठमाडौं। देशकै ठूलोमध्येको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले फोन गरेर भने- एक जना उद्योगपति तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ, समय मिलाएर भेटिदिनुस् न ल। गृहमन्त्रीकै फोन आएपछि सीइओले हुँदैन भन्न सकेनन्।

Tata
GBIME
Nepal Life

एउटा आँपको टोकरी लिएर ती उद्योगपति भोलिपल्टै सीइओलाई भेट्न पुगे। उनले औपचारिकतापछि भने- मलाई एउटा ‘वायर फ्याक्ट्री’ किन्न ऋण चाहिएको छ, मिलाइदिनुपर्‍यो।

उनले झण्डै एक अर्ब रुपैयाँको हाराहारीमा ऋण मागे। उनको हाउभाउ देखेपछि ती सीइओ अनेक बहाना बनाएर ऋण दिनबाट पन्छिए।

ठिक त्यही बेलाको घट्नाक्रम हो। प्रधानमन्त्री शेरबहादुर देउवा थिए, उनका साला भूषण राणा ‘पावरफुल’। राणाले राजस्व अनुसन्धान विभागका हाकिमलाई फोन गरेर बोलाए।

उनले पनि उनै ‘उद्योगपति’ का लागि ऋण भन्दिनका लागि विभागका हाकिमलाई आदेश दिए। त्यतिबेला बैंक तथा वित्तीय संस्थाले जारी गरेको एफपीओमा लाभ भएको र त्यो लाभमा करछली भएको भन्दै विभागले बैंक, बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुमाथि छानबिन गरिरहेको थियो।

त्यो कुराको जानकार राणाले ती उद्योगपतिलाई ऋण दिलाइदिन विभागका हाकिमलाई उपयोग गर्न खोजेका थिए। ती हाकिमले केही बैंकका सीइओलाई फोन गरेर ती उद्योगपतिलाई ऋण दिन भने।

अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत त्यसबाट पन्छिए। तर, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जबरा भने पन्छिन सकेनन्।

ढल्केवरमा बसाई खोलासँगै जोडिएको एभरेष्ट वायर इन्डष्ट्रिजका नाममा हिमालयन बैंकले झण्डै आधा अर्ब रुपैयाँ ऋण दियो। १० करोड रुपैयाँभन्दा कम मूल्यमा सराफ समूहसँग ती उद्योगीले खरिद गरेको एभरेष्ट वायरमा अहिले ६० करोड रुपैयाँ हाराहारीमा ऋण छ। यसबाहेक हिमालयनसँग मर्ज हुनुअघि नै सिभिल बैंकले पनि ऋण दिइसकेको थियो।

यसरी ऋण लिने व्यक्ति हुन्- महोत्तरी भंगाहाका दीनेशकुमार महतो।   

महत्तोको ऋणको कथा यहीँ सकिँदैन। उनले कुमारी बैंकबाट पनि झण्डै एक अर्ब ८० करोड रुपैयाँ हाराहारी ऋण चलाएका छन्। त्यो पनि यस्तै भनसुनका आधारमा।

महत्तोले दुवै बैंकबाट गरेर झण्डै अढाई अर्ब रुपैयाँ ऋण चलाएका छन्। जुन ऋणको लगभग डेढ वर्षदेखि साँवा ब्याज उठ्न छाडेको छ। कुमारी बैंकले त फागुन २१ गते सार्वजनिक सूचना जारी गर्दै महतोका सम्पत्ति लिलामीका लागि १५ दिने समय दिने सिलबन्दी बोलपत्र आह्वान नै गरिसकेको छ। हिमालयन बैंकले पनि लिलामीको प्रक्रिया चाँडै थाल्ने जनाएको छ।

एक जना बैंकर भन्छन्, ‘उनको खासियत नै यही हो, उनी पहिले सानो तिनो पैसा खर्च गरेर राजनीतिक प्रभाव बनाउँछन्, त्यसपछि त्यही प्रभावलाई प्रयोग गरेर अघि बढ्छन्।’

दीनेशकुमार महतोको नाममा फेसबुक प्रोफाइल मात्रै आधा दर्जन छन्। ती प्रोफाइलमा पछिल्ला चार वर्षका टाइमलाइन हेर्ने हो भने देशका ‘हाइप्रोफाइल’ व्याक्तिसँग भेट भएका तस्वीरले भरिएका छन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनालसँग भेटको तस्वीरहरु फेसबुकमा छन्। त्यसबाहेक पूर्वअर्थमन्त्री विष्णु पौडेल, डा. प्रकाशशरण महत, पूर्व गृहमन्त्री बालकृष्ण  खाण, पूर्व उद्योगमन्त्री रमेश रिजालसँग उनीहरु पदमै भएका बेला भेट भएका तस्वीरहरु पनि सामाजिक सञ्जालमा छन्।

त्यसैगरी प्रहरी महानिरिक्षक वसन्त कुँवर, पूर्व महानिरीक्षक धीरजप्रताप सिंहदेखि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसम्मलाई भेटेका तस्वीर पनि फेसबुकमा भेटिन्छन्। उनले सरकारबाट हालै विकास रत्न पदक समेत प्राप्त गरेका छन्।

महत्तोलाई चिन्ने एक जना बैंकर भन्छन्, ‘उनको खासियत नै यही हो। उनी पहिले सानो तिनो पैसा खर्च गरेर राजनीतिक प्रभाव बनाउँछन्, त्यसपछि त्यही प्रभावलाई प्रयोग गरेर अघि बढ्छन्।’

तर, अब त्यसको पनि पटाक्षेप भएको छ।

कारण उनले लिएको ऋण व्यापार विस्तारमा खर्च भएको छैन। व्यापार विस्तार नभएपछि उनलाई बैंकले थप ऋण दिन अस्वीकार मात्रै गरेका छैनन् उनलाई कालोसूचीमा राखेर ऋण असुली प्रक्रिया सुरु गरिएको छ।

यद्यपि, उनको सबै श्रीसम्पत्ति बेच्दा पनि बैंकको आधा ऋण असुली हुने सम्भावना छैन। कारण : भनसुनका आधारमा उनलाई दिइएको ऋणमा धेरै नै कैफियत छ।

तैपनि महतो थप ऋण लिन हच्किएका छैनन्। पछिल्ला दिनहरुमा उनले बैंकका प्रमुख कार्यकारीहरुलाई राजनीतिक तथा सरकारकी अधिकारीहरुका अगाडि उभ्याइरहेका छन् – ऋण दिलाइदिनका लागि। 

महतोको कुनै पनि कम्पनीले वार्षिक वित्तीय विवरण कर कार्यालयमा बुझाएका छैनन् भने मूल्य अभिवृद्धि कर (भ्याट) समेत बुझाउन छाडेका छन्। महतोका लगभग सबै कम्पनी आर्थिक वर्ष २०७८/७९ यता ‘नन्-फाइलर’ का रुपमा बसेका छन्।

आधा दशकमा एक दर्जन कम्पनी

महोत्तरीको एउटा सामान्य परिवारमा जन्मिएका दीनेशकुमार महत्तोको व्यवसायिक यात्रा बिजुलीका सामानको पसलबाट सुरु भएको थियो। उनले लामो समय मुम्बईमा बिजुली सम्बन्धि ‘मेकानिक’ को काम गरेका थिए। त्यही अनुभवले उनी नेपालमा बिजुलीको सानातिना काम गर्न थाले।

काम सिकेपछि उनले ढल्केवरमा २०७२ सालतिर करिश्मा इलेक्ट्रिकल्स नामको पसल सुरु गरेका थिए।

बिजुलीको पसल चलाउँदा चलाउँदै उनले २०७५ सालमा अल्फा वायर नामको उद्योगमा हात हाले। हिमालयन बैंकको बर्दिबास शाखाको ऋणमा उद्योगमा हात हालेका उनले त्यसपछि ऋण बढाउँदै लैजान थाले।

उनले ऋण व्यापार बढाएर होइन्, उद्योग थपेर बढाउन थाले। ढल्केवरमा राजमार्गभन्दा धेरै नै भित्र बसाई खोलाको बगरमा उनको एक बिघा जग्गामा अल्फा वायर छ।

अल्फा वायर चलाउन थालेपछि त्यही खोलाकै बगरमा रहेको अर्को एभरेष्ट उद्योग उनले सर्राफ समूहसँग खरिद गरे। एभरेष्टसँगै उनले रिलायन्स केबल लिए भने २०७७ सालमा देवी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स फेब्रिकेसन कम्पनी पनि बनाए।

उनीसँग करिश्मा इलेक्ट्रोनिक्स मात्रै छैन्, तिनकुने हार्डवेयर, मिथिला हार्डवेयर पनि छ। त्यसैगरी महोत्तरीमा अजात पेट्रोलपम्प र बर्दिवासमा कलश पेट्रोल पम्प पनि उनले नै चलाउँछन्।

तर, अहिले महतोको कुनै पनि कम्पनीले वार्षिक वित्तीय विवरण कर कार्यालयमा बुझाएका छैनन् भने मूल्य अभिवृद्धि कर (भ्याट) समेत बुझाउन छाडेका छन्। महतोका लगभग सबै कम्पनी आर्थिक वर्ष २०७८/७९ यता ‘नन्-फाइलर’ का रुपमा बसेका छन्।

व्यावसायिक कारोबार सुरु गरेको आधा दशकमा एक दर्जन कम्पनी भने महत्तोले ऋण बढाउनका लागि बनाएको देखिन्छ। उनले आफ्नै कम्पनीहरुबीच आन्तरिक कारोबार गर्छन्, त्यो कारोबारको आधारमा बैंकबाट ऋण लिन्छन्।

जस्तो आर्थिक वर्ष २०७८/७९ मा रिलायन्स केवलले अल्फा वायरबाट ९ करोड १७ लाख रुपैयाँको सामान खरिद गर्‍यो भने २८ करोड ६८ लाख रुपैयाँको सामान बिक्रि गर्‍यो। त्यही रिलायन्सले देवी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स फेब्रिकेसनबाट ४ करोड ५५ लाख रुपैयाँको सामान खरिद गर्‍यो।

रिलायन्स केवलले नै उक्त आर्थिक वर्षमा एभरेष्ट वायरसँग ९ करोड ४० लाख रुपैयाँको सामान खरिद गर्‍यो भने ६ करोड ३२ लाख रुपैयाँको सामान बिक्री गर्‍यो। त्यसैगरी करिश्मा इलेक्ट्रिकल्सलाई ६० लाख र तिनकुने हार्डवेयरलाई ७८ लाखको सामान बिक्री गर्‍यो।

यस्तै अवस्था छ आर्थिक वर्ष २०७७/७८ मा पनि। एभरेष्ट वायरले अल्फा वायरसँग ३६ करोड ८३ लाख रुपैयाँको खरिद गर्‍यो भने २० करोड ५२ लाख रुपैयाँको बिक्री गर्यो। एभरेष्टले नै करिश्मा इलेक्ट्रिकल्सलाई १ करोड ७७ लाख रुपैयाँको सामान बिक्री गर्यो।

यी केही उदाहरण मात्र हुन्, अधिकांश कम्पनीको झण्डै ८० देखि ९० प्रतिशतसम्मको कारोबार महत्तोका आफ्नै कम्पनी भित्र छ।

त्यसभन्दा बाहिर भएका कारोबार पनि तीन/चार वटा ठूला पार्टीसँग मात्र देखिन्छ। जस्तो, महतोको कम्पनी एभरेष्ट वायरले आर्थिक वर्ष २०७८/७९ मा जानकी केवल इन्डष्ट्रिजलाई १७ करोड ६८ करोड रुपैयाँको सामान बेचेको छ।

उक्त वर्ष कम्पनीको ४७ करोडको खरिदमा अल्फा वायर एक्लैसँगबाट ३६ करोड रुपैयाँ छ। बिक्रीको ६१ करोडमध्ये अल्फा सहित अन्य आफ्ना कम्पनीसँग ४५ करोडको हाराहारी छ।

बैंकहरुले महतोलाई व्यवसायिक क्षमता वा विस्तारमा ऋण दिएका होइनन्, उनीसँग ऋणलाई खाम्ने गरि धितो पनि छैन, न त स्टक नै। जस्तो १ अर्ब ८० करोड रुपैयाँभन्दा माथिको ऋण भएको कुमारीले तीन वटा उद्योग अल्फा, रिलायन्स र देवी इलेक्ट्रिकल्स तथा अजात पेट्रोलपम्प लिलामीमा राखेको छ।

अल्फा वायरको यही हिसाबकिताबका आधारमा रजिष्टर्ड अडिटर एलबी मिश्रा एण्ड एशोसिएट्सले २०७९ असारमा कम्पनीले एक अर्ब ऋण लिन सक्ने सिफारिस गरेको थियो।

उधारोको उठ्नुपर्ने ७५ करोड, ४३ करोडको स्टक, १९ करोडको एडभान्स र प्रिपेड गरेर १ अर्ब ३८ करोड रुपैयाँको स्रोत कम्पनीमा रहेको भन्दै १ अर्ब ३ करोड रुपैयाँ वर्किङ क्यापिटल ऋण लिन सक्ने सिफारिस त्यो रजिष्टर्ड अडिटर फर्मले गरेको छ।

तर त्यतिबेला फिजिकल भेरिफिकेसनमा गएका एक जना करका अधिकारी भन्छन्, ‘कम्पनीमा ४३ करोड होइन ४३ लाख रुपैयाँको पनि स्टक थिएन।’

‘जुन कम्पनीको फिजिकल भेरिफिकेसनमा स्टक छैन्, जुन कम्पनीको अधिकांश कारोबार आफ्नै समूहभित्र घुमाइएको छ, त्यस्ता कम्पनीलाई अर्बौं ऋण दिइएको छ,’ ती करका अधिकृत भन्छन्, ‘यसमा बैंकहरुको बदमासी देखिन्छ। कसले किन र कति ऋण प्रवाह गरेको त्यसको छानबिन गर्नुपर्छ।’

दबाबमा ऋण दिनुपर्ने भएपछि बैंकले ऋण दिनका लागि प्रक्रिया पुर्‍याउन लगाउँछन्, यही कारण महतोको सन्दर्भमा पनि क्षमताभन्दा सयौं गुणा बढी ऋण गएको उनलाई नजिकबाट चिन्ने एक जना व्यवसायीको बुझाइ छ।

बैंकहरुले महतोलाई व्यवसायिक क्षमता वा विस्तारमा ऋण दिएका होइनन्, उनीसँग ऋणलाई खाम्ने गरि धितो पनि छैन, न त स्टक नै। जस्तो १ अर्ब ८० करोड रुपैयाँभन्दा माथिको ऋण भएको कुमारीले तीन वटा उद्योग अल्फा, रिलायन्स र देवी इलेक्ट्रिकल्स तथा अजात पेट्रोलपम्प लिलामीमा राखेको छ। त्यसैगरी महतो र महतोकी श्रीमतीका नाममा रहेका महोतरी र धनुषाका गरी जग्गा लिलामीमा राखेको छ।

लिलामीमा राखिएका उद्योगहरुसँग ठूला मेसिनरी औजारहरु पनि छैनन्, जहाँ जग्गा छन्, ती पनि खोला किनारामा मूल्यविहीन देखिन्छन्। मेसिनरी र उद्योगबाट पैसा आउने अवस्था छैन्, कम्पनी र व्याक्तिका नाममा रहेका कुल पाँच बिघा जग्गा लिलामीबाट कति पैसा उठ्ला?