सुन तस्करीमा समातिएका जीवन गुरुङसँग अर्थमन्त्रीको फोन सम्पर्क, पुन भन्छन्- दोषीलाई कारबाही हुनैपर्छ

सविन ढकाल
२०८० फागुन २८ गते १३:०८ | Mar 11, 2024
सुन तस्करीमा समातिएका जीवन गुरुङसँग अर्थमन्त्रीको फोन सम्पर्क, पुन भन्छन्- दोषीलाई कारबाही हुनैपर्छ

काठमाडौं। सुन तस्करीको आरोपमा पक्राउ परेका डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङसँग अर्थमन्त्री वर्षमान पुनको पटक पटक टेलिफोन सम्पर्क भएको भेटिएको छ।

Tata
GBIME
Nepal Life

तस्करीको १४ किलो सुनमा संलग्न रहेका भनिएका गुरुङको कल डिटेल रेकर्ड (सीडीआर) मा पुनसँग सम्पर्क भएको भेटिएको हो। सन् २०२३ को सीडीआरमा गुरुङले पुनसँग पटक पटक सम्पर्क गरेको देखिन्छ।

अर्थमन्त्री पुनले भने अरु नै कारणले कुराकानी भएपनि सुनसँग सम्बन्धित कुनै कुराकानी नभएको प्रतिक्रिया दिएका छन्।

‘उपराष्ट्रपतिज्यू (नन्दकिशोर पुन) सँग मेरो पारिवारिक पनि नाता छ। त्यसबाहेक हामीले पार्टीमा २०औं वर्षसँगै काम पनि गर्‍यौं। गुरुङजी उपराष्ट्रपतिज्यूको अवैतनिक सल्लाहकार हुनुहुन्थ्यो क्यार,’ अर्थमन्त्री पुनले बिजमाण्डूसँग भने, ‘त्यस हिसाबले कुराकानी भएको हुन पनि सक्छ। तर, फोनमा कुराकानी भयो कि भएन भनेर चै मलाई सम्झना भएन।’

उनले सोमबार बिजमाण्डूसँग कुराकानी गर्दै अगाडि थपे, ‘मैले बरु अर्थमन्त्री भएर आइसकेपछि भन्सार प्रशासनलाई यसबारेमा गम्भीर भएर अनुसन्धान गर्न भनेको छु। भन्सार प्रमुख बाहिर जानु भएको रहेछ। उहाँले निमित्त दिएर जानु भएको साथीलाई बोलाएर मैले अनुसन्धान गर्न भनिसकेको छु।’

फोन नउठाएको विवरण सीडीआरमा देखिंदैन। कुराकानी भएपछि मात्र सीडीआरमा रेकर्ड देखिन्छ। अर्थमन्त्री पुन र जीवनबीच ६ पटक फोन सम्पर्क भएको सीडीआरमा देखिएको छ।

गुरुङ दुई सातादेखि हिरासतमा छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनलाई फागुन १४ गते बिहान काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको थियो। गुरुङ पक्राउपछि अनुसन्धान गर्दा १४ किलो सुनलाई लिएर माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पुनसँग पटक-पटक कुराकानी भएको फेला परेको हो।

‘म पहिले पनि ऊर्जा मन्त्रालयमा बसेको मान्छे। अर्थमन्त्री पनि भइसकेको मान्छे। त्यहाँ बस्दा मलाई धेरै प्रलोभन आएहोलान्, ती कुनै मैले लिइन भने १४ किलो सुनमा आउने कमिसनका लागि म करियर बिगार्छु होला र?,’ अर्थमन्त्री पुनले भने, ‘मेरो राजनीति अन्तिम भएको भए होला नि त अलिकति लोभ गर्ने भन्ने विश्लेषण हुन्थ्यो होला। त्यो पनि होइन। म त कुनै न कुनै रुपमा पार्टीमा प्रभावशाली ठाउँमै थिए। सरकारमा पनि कुनै न कुनै दिन जानसक्ने अवस्थामै थिएँ।’

अर्थमन्त्री पुनले भन्सार छली भएर आएको सुनको बारेमा गृह मन्त्रालय, भन्सार विभाग र सुनसँग सम्बन्धित आयोगले अनुसन्धान गरिरहेको बताउँदै थप भने, ‘यो कुरा स्पष्ट होस्, हाम्रै साथीभाइ पनि पर्न सक्लान्। तर पूर्ण अनुसन्धान हुनु पर्छ। दोषी देखिए कारबाही हुनैपर्छ।’

गत मंसिर २१ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा भित्र्याइएको १४ किलो सुन प्रकरणमा गुरुङको संलग्नता देखिएको थियो। सुन बरामदपछि फरार भएका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको पत्रका आधारमा सीआईबीले पक्राउ गरेको हो।

पूर्वउपराष्ट्रपतिसँग पटक पटक फोन वार्ता

यसबाहेक गुरुङसँग मा‌ओवादी केन्द्रका अन्य नेता तथा तीनका सन्तानको पनि अस्वाभाविक रुपमा फोन सम्पर्क भएको पाइएको छ।

गुरुङको पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन र उनका छोरा दीपेश पुनसँग पटक पटक फोन सम्पर्क भएको खुलेको छ। प्रहरीले गुरुङको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दा उनको सम्पर्क माओवादी नेताहरूसँग देखिएको हो।

एक वर्षको अवधिमा जीवन र नन्दकिशोरबीच ३३ पटक फोन कल भएको देखिएको हो। गुरुङले नन्दकिशोर उपराष्ट्रपति हुँदा आफू सल्लाहकार रहेको बताउँदै आएका थिए।

पूर्वउपराष्ट्रपतिका छोरा दीपेशसँग १८४ पटक फोन सम्पर्क भएको खुलेको छ। बिजमाण्डूले प्राप्त गरेको सीडीआर रिपोर्टमा दीपेशसँग ९१ पटक ‘आउट’ र र ९३ पटक ‘इन’ गरी १८४ पटक फोन संवाद भएको देखिएको छ।

दीपेश साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको तस्करीको ६१ किलो र २०७९ पुस १० गते बरामद भएको भेपभित्रको ९ किलो सुन प्रकरणमा प्रहरीको ‘क्लोज वाच’ मा रहेका व्यक्ति हुन्। तस्करीमा संलग्नहरुसँग सम्पर्क देखिए पनि दीपेशमाथि कारबाही भने भएको छैन। सीआईबीले दीपेशलाई बोलाएर कागज गरी छाडेको थियो।

‘गुरुङको फोन कल केलाउँदा धेरै पटक नेता तथा तीनका छोरासँग सम्पर्क भएको खुल्छ। यसको थप अनुसन्धान हुँदैछ,’ सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘जीवनको माओवादी नेताहरुसँगको हिमचिम सुन तस्करीमा हो/होइन भन्नेबारे अनुसन्धान गरिरहेका छौं।’

भन्सार कार्यालयले हाल गुरुङमाथि अनुसन्धान गरिरहेको छ। केही दिनअघि नै मुद्दा बुझाउने तयारी गरेको भन्सारले थप सम्पर्क खुल्दै गएपछि म्याद थप गरेर राखेको छ। जीवनमाथि अनुसन्धान जारी राख्दा थप तस्करीका पाटाहरू खुल्दै गएका हुन्। प्रहरीले बरामद गरेको मोबाइल र ल्यापटपबाट पनि थप पाटो खुल्ने देखिएपछि फरेन्सिक जाँचका लागि पठाइएको छ।

जीवन गुरुङ (तस्वीरको बायाँ घेराभित्र)

रविको निर्देशनले तात्यो सीआईबी

गत मंसिर २१ गते दुबईबाट आएका चन्द्र घलेले ल्याएको तस्करीको १४ किलो सुन बरामदपछि घलेको बयान र अन्य प्रमाणका आधारमा भन्सार कार्यालयको टोलीले अन्य ७ जनालाई पक्राउ गरेको थियो।

यो प्रकरणमा भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा १० जनाविरुद्ध १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। जसमा गोरखा घर भएका मीनबहादुर गुरुङलाई मुख्य योजनाकार देखाइएको थियो। मीनबहादुरसँग जीवनको ५५३ पटक फोन सम्पर्क भएको देखिन्छ।

अनुसन्धानका क्रममा तस्करसँग जीवनको सम्बन्ध देखिए पनि भन्सारको टोलीले नियन्त्रणमा लिन मानेको थिएन। उनलाई प्रतिवादी नबनाई अदालतमा मुद्दा बुझाइएको थियो।

मुद्दा बुझाए लगत्तै घटनामा संगठित अपराधसमेत देखिएकाले अनुसन्धान गर्न भन्सार कार्यालयले सीआईबीलाई पत्राचार गरेको थियो। तर, सीआईबीले अनुसन्धानको मिसिल नपाएको भन्दै अनुसन्धान अगाडि बढाएको थिएन। गृहमन्त्री रवि लामिछानेले अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी तातेको हो।

प्रहरीले गुरुङसँग फोनमा धेरै पटक सम्पर्कमा आएका एक दर्जनभन्दा बढीको लिस्ट तयार पारेर अनुसन्धान गरिरहेको छ।

जीवनको चिनियाँ तस्करसँग सम्पर्क

६१ किलो र भेपभित्रको ९ किलो सुनका तस्करसँग पनि जीवनको सम्पर्क देखिएको छ। जीवन चिनियाँ नागरिकसँग ‘बिजनेस पार्टनर’कै रुपमा तस्करीमा संलग्न भएको विवरण भेटिएको सीआईबी स्रोतले जानकारी दिएको छ।

ती दुवै सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकको संलग्नता देखिएको थियो। जुन घटनामा मुख्य योजनाकार भनिएका वाङजिङ अझै फरार छन्। उनीसँग जीवनको सम्बन्ध देखिएको छ।

जीतेन्द्रमाथि पनि अनुसन्धान

नन्दकिशोरका अर्का छोरा जीतेन्द्र पनि सुन तस्करीमा संलग्न रहेको बाहिरिएको छ। उनले बाबुको पदीय अधिकार दुरुपयोग गरी चिनियाँ नागरिकसँग सुन किनेर तस्करी गर्ने गरेको खुलेको हो। 

चार वर्षअघि ल्याएको चार किलो सुनको रकम चिनियाँ गिरोहलाई नतिरेपछि जीतेन्द्रको तस्करी बाहिरिएको हो। यस प्रकरणमा प्रहरीले अनुसन्धान थालिसकेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अनुसन्धान गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आइतबार निर्देशन दिएका थिए।

भेपभित्रको ९ किलो सुनमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा पनि जोडिएकामा महराको बयान मात्र गरिएको थियो। राहुललाई भने पक्राउ गरिएको थियो। उनी अहिले अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।