एन्फाको बजेट ६७ करोड ६७ लाख, कहाँबाट हुन्छ आम्दानी? खर्च के के मा?

बिजमाण्डू
२०८० फागुन १४ गते १५:४६ | Feb 26, 2024
एन्फाको बजेट ६७ करोड ६७ लाख, कहाँबाट हुन्छ आम्दानी? खर्च के के मा?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक बजेट साधारण सभाले पारित गरेको छ। सोमबार बसेको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको हो।

Tata
GBIME
Nepal Life

साधारण सभामा एन्फाले ६७ करोड ६७ लाख ६६ हजारको बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश साहले पत्रकार सम्मेलनमा बताए।

सोमबार एन्फाको नियमित साधारणसभा शंखमुलमा बसे पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जना कार्यसमित सदस्यले साधारण सभा बहिस्कार गरेका थिए।

आजको साधारण सभाबाट एन्फाको बजेटसँगै वार्षिक क्यालेन्डर पनि अनुमोदन भएको छ।

एन्फाको आम्दानी कहाँबाट कति?

एन्फाले सबैभन्दा ठूलो बजेट विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)बाट प्राप्त गर्छ। चौमासिक गरि ३५ करोड बढी रकम फिफाबाट प्राप्त गर्ने एन्फाको बजेटमा उल्लेख छ।

त्यस्तै, एसियन फुटबल कन्फिडरेसन एएफसीबाट १५ करोड ६० लाख रुपैयाँ एन्फाले प्राप्त गर्ने बजेटमा उल्लेख छ।

यसबाहेक प्रायोजनबाट २ करोड ६३ लाख, सरकारबाट २ करोड ४४ लाख लगायत विभिन्न ९ शीर्षकमा आम्दानी आउने एन्फाको बजेटमा उल्लेख छ।

एन्फाले तेस्रो त्रैमासिकमा सबैभन्दा धेरै २५ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरेको छ।

एन्फाको खर्च के मा?

एन्फाको बजेटको २० करोड ८० लाख हाराहारी रुपैयाँ प्रशासनमा खर्च हुने देखिन्छ। यसअन्तर्गत तलब भत्ता, प्रोमोसन र मार्केटिङ, प्राइज मनी, इन्फ्रास्ट्रक्चर र मेन्टिनेन्सलगायत पाँचवटा उपशीर्षक छन्।

त्यस्तै, घरेलु प्रतियोगितामा १५ करोड ५० लाख  खर्च हुने उल्लेख छ। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २० करोड खर्च हुने उल्लेख छ। यसमा युथ देखि सिनियरसम्म महिला र पुरुष राष्ट्रिय टोलीका खेल, साफ च्याम्यियनसीप, विश्वकप छनोट लगायत उल्लेख छ।

ट्रेनिङ र डेभलभमेन्टका लागि भने ११ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ।