त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग पराजित, नामिबिया शीर्ष स्थानमा

बिजमाण्डू
२०८० फागुन १३ गते १६:०९ | Feb 25, 2024
त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग पराजित, नामिबिया शीर्ष स्थानमा

काठमाडौं । नेपाली क्रिकेट टोली नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको हो।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल फितलो ब्याटिङ गर्दै ४९.३ ओभरमा १७२ रनमा अलआउट हुन पुग्यो। नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले पनि अन्य ब्याटरले भरपर्दो इनिङ्स खेल्न सकेनन्।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले ३६.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। डच टोलीका लागि विक्रमजित सिंहले सर्वाधिक अविजित ५८ रन बनाउँदा साइब्रान्ड एन्गलब्रेच ४३ रनमा अविजित रहे। त्यस्तै माइकल लेभिटले ३९ तथा म्याक्स ओडाउडले २८ रन बनाए।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान १ विकेट लिए।

बलिङमा ललित नारायण राजवंशी। तस्बिर: क्यान

नेपालको इनिङ्स

कीर्तिपुरस्थित त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै औसत् सुरुवात दिएका थिए। ओपनर भुर्तेलले संयमित ब्याटिङ गरे पनि उनलाई साझेदारी दिन भने अन्य ब्याटर चुक्दा नेपाल ठूलो स्कोरतर्फ उन्मुख हुन सकेन।

नेपालको पहिलो विकेटका रुपमा ८.३ ओभरमा आशिफ शेख भिवान किंगमाको बलमा क्याचआउट हुँदा लगातार तेस्रो खेलमा पनि अर्धशतक बनाउने अवसरबाट चुके।

त्यसपछि आएका अनिल कुमार साहले आज पनि लय समात्न सकेनन्। उनी ७ रन बनाउँदै १०.६ ओभरमा किंगमाकै बलमा बोल्डआउट हुन पुगे। लगत्तै आएका कुशल मल्लले पनि लामो इनिङ्स खेल्न सकेनन्। उनलाई आर्यन दत्तले १२.६ ओभरमा एलबीडब्लु आउट गराउँदै पभेलियन फर्काए।

कुशल भुर्तेलको विकेट लिएपछि नेदरल्याण्डसका खेलाडी। तस्बिर: क्यान

कप्तान रोहित पौडेल आजको खेलमा पनि लयमा आउन सकेनन्। जारी सिरिजमा यसअघि १ रनमात्र बनाएका पौडेलले आजको खेलमा १६ रन बनाउँदै अफ्ठ्यारो अवस्थामा आउट भए। उनले खराब सट खेल्दै आर्यन दत्तको बलमा नोह क्रोएसको हातबाट क्याचआउट भएका हुन्।

जारी सिरिजमा नामिबियासँगको पहिलो खेलमा मात्र १ रन बनाएका उनले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा ब्याटिङको अवसर पाएनन्। त्यस्तै नामिबियासँगको दोस्रो खेलमा उनी डकआउट हुन पुगेका थिए।

उनी पछि आएका दीपेन्द्रसिंह ऐरी १ रन बनाएर रनआउट हुँदा भीम सार्की डकआउट हुन पुगे। नेपालका लागि संयमित ब्याटिङ गरेका कुशल भुर्तेल ३६.३ ओभरमा रोएलोफ भान डेर मेर्वीको बलमा उनैबाट क्याचआउट भए। ९३ बल फेस गरेका उनले ८ चौका प्रहार गर्दै सर्वाधिक ६६ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो आठौं अर्धशतक हो।

भुर्तेलपछि नेपाली ब्याटिङमा आरिफ शेखले जिम्मेवारी सम्हाले। भुर्तेलसहित गुल्सन झा र करण केसीसँग साझेदारी गरेका उनी २२ रन बनाएर किंगमाकै बलमा क्याचआउट हुनपुगे। सिरिजमा उनले आजकै खेलबाट प्लेइङ ११ मा अवसर पाएका हुन्।

ब्याटिङमा आरिफ शेख। तस्बिर: क्यान

अन्तिम समयमा आएर करण केसीले नेपालको इनिङ्सलाई माथि लैजान योगदान गरे। आरिफसँग ३६ रनको साझेदारी गरेका उनले २७ बलमा २६ रन बनाए। यसक्रममा उनले १ चौका र २ छक्का प्रहार गरे।

नेदरल्याण्ड्सका लागि भिवान किंगमा र आर्यन दत्तले समान ३ विकेट लिँदा बस डी लिडेले २ तथा रोएलोफ भान डेरले १ विकेट लिए।

अंकतालिका

लिग-२ को पहिलो त्रिकोणात्मक शृङखला सकिँदा ४ मध्ये ३ खेलमा जित निकाल्दै ६ अंक जोडेको नामिबिया शीर्ष स्थानमा छ। त्यस्तै दोस्रो स्थानमा दुई जित र दुई हार ब्यहोर्दै ४ अंक जोडेको नेदरल्याण्ड्स छ। नेपालले भने ४ खेलमा तीनवटामा हार ब्यहोर्दै २ अंक जोडेको छ।