विश्वकप लिग-२ : डच टोलीलाई नेपालको सामान्य लक्ष्य, कुशलको संयमित अर्धशतक

बिजमाण्डू
२०८० फागुन १३ गते १३:२१ | Feb 25, 2024
विश्वकप लिग-२ : डच टोलीलाई नेपालको सामान्य लक्ष्य, कुशलको संयमित अर्धशतक
नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल। तस्बिर : क्यान।

काठमाडौं। नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको सामान्य लक्ष्य दिएको छ। क्रिकेट विश्‍वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

कीर्तिपुरस्थित त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका ४२ रनको साझेदारी गर्दै औशत सुरुवात दिएका थिए। ओपनर भुर्तेलले संयमित ब्याटिङ गरे पनि उनलाई साझेदारी दिन भने अन्य ब्याटर चुक्दा नेपाल ठूलो स्कोरतर्फ उन्मुख हुन सकेन।

नेपालको पहिलो विकेटका रुपमा ८.३ ओभरमा आशिफ शेख भिवान किंगमाको बलमा क्याचआउट हुँदा लगातार तेस्रो खेलमा पनि अर्धशतक बनाउने अवसरबाट चुके।

त्यसपछि आएका अनिल कुमार साहले आज पनि लय समात्न सकेनन्। उनी ७ रन बनाउँदै १०.६ ओभरमा किंगमाकै बलमा बोल्डआउट हुन पुगे। लगत्तै आएका कुशल मल्लले पनि लामो इनिङ्स खेल्न सकेनन्। उनलाई आर्यन दत्तले १२.६ ओभरमा एलबीडब्लु आउट गराउँदै पभेलियन फर्काए।

कुशल भुर्तेलको विकेट लिएपछि नेदरल्याण्डसका खेलाडी। तस्बिर: क्यान

कप्तान रोहित पौडेल आजको खेलमा पनि लयमा आउन सकेनन्। जारी सिरिजमा यसअघि १ रनमात्र बनाएका पौडेलले आजको खेलमा १६ रन बनाउँदै अफ्ठ्यारो अवस्थामा आउट भए। उनले खराब सट खेल्दै आर्यन दत्तको बलमा नोह क्रोएसको हातबाट क्याचआउट भएका हुन्।

जारी सिरिजमा नामिबियासँगको पहिलो खेलमा मात्र १ रन बनाएका उनले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा ब्याटिङको अवसर पाएनन्। त्यस्तै नामिबियासँगको दोस्रो खेलमा उनी डकआउट हुन पुगेका थिए।

उनी पछि आएका दीपेन्द्रसिंह ऐरी १ रन बनाएर रनआउट हुँदा भीम सार्की डकआउट हुन पुगे। नेपालका लागि संयमित ब्याटिङ गरेका कुशल भुर्तेल ३६.३ ओभरमा रोएलोफ भान डेर मेर्वीको बलमा उनैबाट क्याचआउट भए। ९३ बल फेस गरेका उनले ८ चौका प्रहार गर्दै सर्वाधिक ६६ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो आठौं अर्धशतक हो।

भुर्तेलपछि नेपाली ब्याटिङमा आरिफ शेखले जिम्मेवारी सम्हाले। भुर्तेलसहित गुल्सन झा र करण केसीसँग साझेदारी गरेका उनी २२ रन बनाएर किंगमाकै बलमा क्याचआउट हुनपुगे। सिरिजमा उनले आजकै खेलबाट प्लेइङ ११ मा अवसर पाएका हुन्।

ब्याटिङमा आरिफ शेख। तस्बिर: क्यान

अन्तिम समयमा आएर करण केसीले नेपालको इनिङ्सलाई माथि लैजान योगदान गरे। आरिफसँग ३६ रनको साझेदारी गरेका उनले २७ बलमा २६ रन बनाए। यसक्रममा उनले १ चौका र २ छक्का प्रहार गरे।

नेदरल्याण्ड्सका लागि भिवान किंगमा र आर्यन दत्तले समान ३ विकेट लिँदा बस डी लिडेले २ तथा रोएलोफ भान डेरले १ विकेट लिए।

नेदरल्याण्ड्स केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।