त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

बिजमाण्डू
२०८० फागुन १३ गते ०७:२० | Feb 25, 2024
त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । क्रिकेट विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहान सवा ९ बजे खेल सुरु हुनेछ।

Tata
GBIME
Nepal Life

सिरिजमा नामिबियाले ४ मध्ये तीन खेल जितेर सिरिज टुंग्याएको छ। यस्तोमा तीन खेल खेल्दा एउटामा मात्र जित निकालेको नेपाल र नेदरल्याण्ड्स दुवै दुई अंक थप्ने होडमा हुनेछन्। आठ टोली सहभागी लिग-२ मा यी तीनै टोलीले शीर्षस्थानको दाबेदारी लिएका छन्।

जारी सिरिजमा नेपालले नामिबियासँग दुबै खेलमा पराजय व्यहोर्दा नेदरल्याण्ड्सलाई हराएको थियो। त्यस्तै नेदरल्याण्ड्सले नामिबियासँग पहिलो खेलमा जित निकाले पनि पछिल्लो खेलमा हार ब्यहोरेको थियो। त्यस्तै नेपालसँग पनि पराजित भएको थियो। अघिल्लो खेलमा नेपाल डच टोलीलाई ९ विकेटको फराकिलो अन्तरले हराउन सफल भएको थियो।

पछिल्ला ४ खेलमा दुवै टोलीले समान २-२ खेल खेलेका छन्। जारी सिरिजमा नेपालका आशिफ शेख र भीम सार्कीले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका छन्। ११६ रन बनाएका आशिफ जारी सिरिजकै सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्। त्यस्तै नेदरल्याण्ड्सका म्याक्स ओडाउडले कूल ७९ रन जोडेका छन्।

बलिङमा नेदरल्याण्ड्सका आर्यन दत्तले तीन खेलबाट ८ विकेट लिइसकेका छन्। सर्वाधिक विकेट भने नामिबियाका कप्तान जेर्राड इरास्मसले लिएका छन्। उनले ४ खेलबाट १२ विकेट लिएका छन्। नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी कुशल भुर्तेल हुन्। उनले कूल ७ विकेट लिएका छन्। नेदरल्याण्डसविरुद्धको अघिल्लो खेलमा उनले ४ विकेट लिएका थिए।