प्यालेस्टाइनमाथि फराकिलो जितपछि सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी लेबनान

बिजमाण्डू
२०८० फागुन १३ गते ०६:५८ | Feb 25, 2024
प्यालेस्टाइनमाथि फराकिलो जितपछि सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी लेबनान
गोल सेलिब्रेट गर्दै साम्बा। तस्विर: वाफ

काठमाडौं । नेपाली महिला फुटबल टोलीले सेमिफाइनलमा लेबनानसँग प्रतिस्पर्धा गर्ने भएको छ। वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपमा शनिबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई हराएसँगै नेपालले सेमिफाइनलमा लेबनानसँग भेट पक्का गरेको हो।

Tata
GBIME
Nepal Life

साउदी अरबमा जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४-० गोलअन्तरले हराएको थियो। साउदी अरबको जेद्धास्थित किंग अब्दुलल्ला स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले २ तथा रेखा पौडेल र गीता रानाले समान १ गोल गरे।

गोल अघि बढाउँदै प्रीति राई। तस्बिर: वाफ

खेलको ४२ औं मिनेटमा सावित्राको गोलमा नेपालले अग्रता बनाएको थियो। दोस्रो हाफमा रेखाले नेपालको अग्रता दोब्बर बनाइन्। उनले ५९ औं मिनेटमा गोल गर्दा तेस्रो गोल सावित्राले नै गरिन्। ७८ औं मिनेटमा गोल गर्दा सावित्राले नेपालका लागि व्यक्तिगत ५२ औं गोल पुरा गरेकी छिन्। यो प्रतियोगितामा भने ८ औं गोल गर्दै सर्वाधिक गोल कर्ताको सूचीमा उनको नाम शीर्ष स्थानमा छ।

त्यस्तै, अन्तिम गोल गीता रानाले इन्जुरी समयमा गरेकी थिइन्। समूह चरणमा नेपालले यसअघि सिरियालाई ४-१ र इराकलाई ५-० गोलले हराएको थियो।

योसँगै समूहका सबै खेल जितेको नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने तीन मध्ये दुई खेल जितेको प्यालेस्टाइन उपविजेता बन्दै सेमिफाइनल पुगेको छ। नेपालले समूह ‘ए’ को उपविजेता र प्यालेस्टाइनले समूह ‘ए’को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘ए’ मा जोर्डन अपराजित रहँदै समूह विजेता बनेको थियो भने लेबनन तीन मध्ये दुई खेलमा जित निकाल्दै समूह उपविजेता बनेको थियो।

प्रतियोगिताबाट इराक, गुआम, साउदी अरब र सिरिया भने समूह चरणबाटै बाहिरिएका छन्। सेमिफाइनलको खेलमा नेपाल र लेबनान मंगलबार प्रतिस्पर्धा गर्नेछन्।