सावित्रा एक्लैले पाँच गोल गर्दा ‘वाफ च्याम्पियनसिप’मा नेपालको सजिलो जित

बिजमाण्डू
२०८० फागुन १० गते २२:०२ | Feb 22, 2024
सावित्रा एक्लैले पाँच गोल गर्दा ‘वाफ च्याम्पियनसिप’मा नेपालको सजिलो जित
गोल गरेपछि सावित्रा भण्डारी। तस्बिर: वाफ

काठमाडौं। सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपाली महिला फुटबल टोलीले इराकमाथि ५-० गोलको फराकिलो जित निकालेको छ। वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसीपको समूह ‘बी’ को खेलमा नेपालले खेलमा इराकलाई हराएको हो।

Tata
GBIME
Nepal Life

किङ्ग अब्दुल्ला स्पोर्ट्स सिटी मैदानमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले एक्लैले पाँच गोल गरिन्। साम्बा उपनामले चिनिने भण्डारी नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। आजको गोलसँगै नेपालका लागि कुल ४४ खेल खेलेर उनले ५० गोल पूरा गरेकी छिन्।

उनले खेलको १३ औँ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। त्यसको दुई मिनेट नबित्दै अग्रता दोब्बर बनाइन्। उनले ह्याट्रिक भने ३६औँ मिनेटमा हेडरमार्फत गोल गर्दै पूरा गरिन्।

४३ औँ मिनेटमा अर्को गोल थप्दा पहिलो हाफमा नेपाल ४-० गोलले अघि रह्यो।

पाँचौँ गोल भने साम्बाले ८० औँ मिनेटमा गरिन्। प्रीति राईको पासमा उनको उत्कृष्ट गोलसँगै नेपालले ५-० को फराकिलो जित निकाल्न सफल भयो। समूह ‘बी’ मा नेपालको यो दोस्रो जित हो। यसअघिको खेलमा नेपालले सिरियालाई ४-१ गोलअन्तरले हराएको थियो।

प्रतियोगितामा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा गुआम, जोर्डन, लेबनान र साउदी अरब छन् भने समूह ‘बी’मा प्यालेस्टाइन, नेपाल, इराक र सिरिया छन्। यीमध्ये नेपाल र गुआम आमन्त्रित टोली हुन्।