काठमाडौं। गत वैशाखमा तीनवटा जीवन बीमा कम्पनी प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भए। मर्जरपछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको पुँजी ८ अर्ब रुपैयाँ पुग्यो। हिमालयन लाइफ पुँजीका हिसाबले नेपाली जीवन बीमा बजारमा नेपाल लाइफपछिको दोस्रो ठूलो कम्पनी हो।
पुँजी बढेपनि कम्पनीले अपेक्षित रुपमा व्यवसाय बढाउन सकेन। चालु आर्थिक वर्ष ६ महिनामा कम्पनीको नाफा ८.२३ प्रतिशतले घटेको छ।
पुँजीको आकार बढ्दा व्यवसाय र आम्दानीमा सकारात्मक प्रभाव नदेखिएपछि कम्पनीले रणनीति बदलेको छ। गत सातादेखि हिमालयन लाइफले ७७ वटै जिल्लामा लागू गर्ने गरी झापाबाट बीमा जागरण अभियान थालेको छ। परम्परागत रुपमा गरिरहेको व्यवसायले बजारमा लिडर कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा हिमालयनले व्यवसाय विस्तारको नयाँ रणनीति अपनाएको हो।
सन नेपाल लाइफ इन्स्योरेन्सले नवीकरण शुल्क भुक्तानी गर्न नसकेर व्यतित बीमालेखमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुटको प्याकेज ल्याएको छ। बीमालेख त्यागेकालाई फेरि बीमामा आबद्ध गराउने रणनीतिसहित कम्पनीले यो सुविधा ल्याएको हो। यो योजना फागुन अन्तिमसम्म कायम रहने छ। सूर्य ज्योति लाइफले बीमा लेख नवीकरण गर्दा गिफ्टदेखि क्यास ब्याकको अफर ल्याएको छ।
नेपाल लाइफ इन्स्याेरेन्सले बीमा लेख नवीकरणमा पुनर्जागरण ल्याउन बिलम्ब बीमालेखकाे नवीकरण शुल्कमा छुट याेजना ल्याएकाे छ। कम्पनीले १८० दिनमाथि र ३ वर्षसम्म व्यतित भएका बीमालेखमा बिलम्ब शुल्कमा ३० प्रतिशत छुट, ३ वर्षमाथि ५ वर्षसम्म २५ प्रतिशत र ५ वर्षमाथि व्यतित भएका बीमालेखमा २० प्रतिशत छुटकाे प्याकेज ल्याएकाे हो।
जीवन मात्रै नभएर पछिल्लो समय निर्जीवन बीमा कम्पनीले पनि प्रडक्ट बेच्ने प्याकेज मात्रै नभएर व्यवसायको रणनीति फेर्न थालेका छन्।
शिखर इन्स्योरेन्सले अहिले वेदर इन्डक्स, अटो प्लस लगायत प्रडक्ट बेचिरहेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे लागत तत्काल धेरै भएपनि बीमा क्षेत्रमा दिगो व्यवसायतिर केन्द्रित भएको बताउँछन्।
‘अहिले बीमा बजार अपेक्षित रुपमा बढ्न सकेको छैन। व्यवसाय बढाउन नयाँ प्रडक्ट र रणनीति ल्याउनै पर्छ,’ उनले भने, ‘घर, कृषि क्षेत्रको बीमातिर हाम्रो अहिले फोकस छ। लागत सुरुमा यो क्षेत्रमा धेरै भएपनि बीमा बजारको पछिको लागि दिगो हुन्छ।’
बीमा बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि कम्पनीहरुले व्यवसाय बढाउने उपाय पनि फेर्दै गएका हुन्। व्यवसायको आकारभन्दा सेवा प्रवाह र गुणस्तरलाई प्राथमिकतामा राखेको बीमकहरुको दाबी छ।
बीमा साक्षरता वृद्धि, दाबी भुक्तानीमा सहजीकरण र डिजिटल प्रविधिको प्रयोग नगरी बीमा बजारमा टिक्न सकिंदैन भन्ने निष्कर्षसहित कम्पनीहरुले व्यावसायिक रणनीति बनाउन थालेका हुन्।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले दाबी भुक्तानी, बीमा साक्षरता र प्रविधिमा कम्पनी सिफ्ट भइरहेको बताए। ‘सेवाको गुणस्तर सुधार, दाबी भुक्तानीको पाटोमा सिफ्ट भइरहेका छौं। अब कम्पनीहरु डिजिटल प्रणालीमा नगइ सुखै छैन,’ उनले भने, ‘कम्पनी अनुसार व्यावसायिक रणनीति फरक हुनसक्छ। तर, अहिले भनेको अनएक्सप्लोर एरियातिर जानुपर्छ, साक्षरतामा एग्रेसिभ हुनुपर्छ भन्ने हो।’
प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य व्यवसाय बढाउन बीमा सम्बन्धी सचेतना बढाउने र सेवामा सहजता ल्याउनु नै अबको रणनीति भएको बताउँछन्। ‘बिजनेस जसरी पनि बढाउनै पर्ने हुन्छ। त्यो भनेको निर्जीवन बीमा कम्पनीको सन्दर्भमा जागरण बढाएरै आकर्षित गर्ने हो,’ उनले भने, ‘प्रविधिले फड्को मारेको छ। कम्पनीहरु त्यसतिर पनि गइरहेका छन्। बिजनेस बढाउने अबको रणनीति भनेकै कम्पनीले सचेतना बढाउने र सेवामा सहजता ल्याउने हो।’
चालु आर्थिक वर्ष ६ महिनाको वित्तीय विवरण हेर्दा अधिकांश कम्पनीले नाफा बढाउन सकेका छैनन्। मर्जरमा गएका कम्पनीहरुको नाफा खुम्चिएको देखिन्छ।
अन्य वित्तीय सूचकहरु पनि सबल देखिंदैनन्। त्यही भएर कम्पनीहरु जसरी पनि बीमितलाई आकर्षित गर्न केन्द्रित छन्। बीमा बजारमा प्रतिस्पर्धा पनि बढ्दो छ। नेपाल बीमा प्राधिकरणले मर्जर तथा प्राप्तिको नीति लिएपछि एक दर्जन कम्पनी घटे पनि पुँजीको हिसाबले आकार बढेको छ।
अर्कातिर ७ वटा लघुबीमा बजारमा थपिएका छन्। पुँजी वृद्धि र कम्पनीको व्यावसायिक हिस्सामा प्रतिस्पर्धाका कारण ठूला बीमा कम्पनी प्रतिफल र बिजनेसको दबाबमा छन्। सानिमा रिलायन्सका सीईओ पाण्डे अर्थतन्त्रमा आएको संकुचनले बीमा बजार अछुतो नरहे पनि बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेका कारण बीमा लागि अवसर देख्छन्।
‘अर्थतन्त्रमा संकुचन आन्तरिक कारण मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमै आएको हो। त्यो रिकभर हुन सकेको छैन। यो परिस्थितिमा व्यापक बिजनेस हुन्छ भन्ने छैन,’ उनले भने, ‘तर, बीमा क्षेत्रका लागि अर्को सकारात्मक कुरा भनेको बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम धेरै छ। तरलता त्यहाँ राखेरभन्दा बीमा क्षेत्रमा राख्दा लगानी गर्न पनि सकियो, रिस्क ट्रान्सफर पनि हुन्छ।’
बज्राचार्यले अहिले बीमा बजारमा शिथिलता रहेकाले कम्पनीले त्यही अनुसार रणनीति फेर्नुपर्ने बताए। ‘बीमा बजार ग्रोथमा देखिंदैन। एक दुई कम्पनीको केही बढेको छ। तर, मार्केट ऋणात्मक नै हो। त्यसैले कम्पनीहरुले रणनीति बनाएर व्यवसाय अघि बढाउनुपर्ने आवश्यकता छ’ उनले भने।