१ करोड २० लाखको लागतमा मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

बिजमाण्डू
२०८० माघ २४ गते १०:२८ | Feb 7, 2024
१ करोड २० लाखको लागतमा मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै
तस्बिर : आनम कन्स्ट्रक्सन।


भरतपुर। पश्‍चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्‍नतिको काम अघि बढेको छ। घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्‍नति गर्न लागिएको हो।

Tata
GBIME
NLIC

मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ। १ हजार १ सय मिटरको घाँसेमैदान रहेको विमानस्थलमा नयाँ धावन मार्ग ७ सय मिटर लम्बाइ र २० मिटर चौडाइको हुनेछ।

पहिलो चरणमा उच्च स्तरको ग्राभेल गरिएको जनाउँदै उनले भविष्यमा थप स्तरोन्‍नति र विस्तार गर्न सकिने बताए। झन्डै १ करोड २० लाखको लागतमा निर्माण कम्पनीले धावन मार्ग स्तरोन्‍नतिको काम गरिरहेको छ।

यहाँ पछिल्लो समय नेपाली सेनाले प्याराजम्प गर्दै तालिम लिने गरेको छ। मेघौलीमा रहेका होटलले कहिलेकाहीँ जहाज र हेलिकप्टर चार्टर गरेर ल्याउने गरेका छन्।

यसअघि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ मार्फत विमानस्थलको गुरुयोजना समेत निर्माण गरिएको छ। स्तरोन्‍नति नहुँदा घाँसेमैदान मात्रै रहेको विमानस्थल गौचरनजस्तै बनेको थियो।

सरकारले चितवन निकुञ्जभित्र होटल सञ्‍चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो। त्यसपश्चात् एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराइएको थियो।

भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ। यस विमानस्थल कुल २३ बिघा क्षेत्रमा फैलिएको छ। रासस