ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगको बाटो खुल्यो, मन्त्रिपरिषदले पारित गर्‍यो नीति

बिजमाण्डू
२०८० माघ ३ गते १८:४० | Jan 17, 2024
ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगको बाटो खुल्यो, मन्त्रिपरिषदले पारित गर्‍यो नीति

काठमाडौं । नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाइने भएको छ। बुधबार बसेको मन्त्रिपरिष बैठकले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने नीति पारित गरेको हो।

Tata
GBIME
Nepal Life

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालका अनुसार आजको बैठकले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने नीति पास गरेको हो।

‘आज बसेको मन्त्रिपरिषद् बैठकले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाउने नीति पास गरेको छ,’ उनले भने।

विश्वमा आधुनिक हरित ऊर्जाको रुपमा विकास भइरहेको ‘ग्रीन हाइड्रोजन’ लाई नेपालमा पनि प्रयोगमा ल्याउने गरि २०७८ मंसिरदेखि नै यसको नीति निर्माणको प्रक्रिया अघि बढाइएको थियो।

पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री हुँदा उनले ग्रीन हाइड्रोजन उत्पादन र प्रयोगका लागि आवश्यक नीति निर्माण गर्न जल तथा ऊर्जा आयोगलाई निर्देशन दिएकी थिइन्।

त्यसपछि ऊर्जा आयोगका सचिव मणिराम गेलालले आयोगकै सहसचिव शिशिर कोइरालाको नेतृत्वमा समन्वय समिति गठन गरेका थिए। समितिमा ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, विद्युत विकास विभागका उप-महानिर्देशक जिवछ मण्डल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल, त्रिभुवन विश्व विद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रध्यापक डा. भोलानाथ शर्मा घिमिरे र काठमाडौं विश्व विद्यालयका उप-प्रध्यापक डा. विराजसिंह थापा सदस्य रहेका थिए।

सरकारले आज नीति पारित गरेपछि आधिकारिक रुपमै नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र प्रयोग गर्न पाइने काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख विराज सिंह थापाले बताए।

अहिलेसम्म नीति नबनेकाले पाइलट प्रोजेक्टका रुपमा काठमाडौ विश्वविद्यालयले प्रयोगशाला बनाएर हाइड्रोजन उत्पादन गरिरहेको थियो। विश्वविद्यालयले केही समयअघि हाइड्रोजन गाडी र रिफ्युलिङ स्टेसनसमेत बनाएर प्रचारप्रसार गरेको थियो।

भारतमा हाइड्रोजनबाट बस संचालनका साथै खाना पकाउने इन्धनको रुपमा पनि हाइड्रोजन ऊर्जाको प्रयोग सुरु भइसकेको छ। नेपालमा पनि खाना पकाउन र गाडी चलाउनको लागि हाइड्रोजन ऊर्जा प्रयोगमा ल्याउन सकिने थापा बताउँछन्। यसले पेट्रोलियम पदार्थको आयात घट्ने र व्यापार घाटा पनि कम हुने उनले बताए।

‘उत्पादनको लागि- एक ठाउँमा उत्पादन भएको बिजुली अर्को ठाउँमा हाइड्रोजन उत्पादन गर्नलाई नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइन प्रयोग गर्न उपलब्ध गराउने, हाइड्रोजन उत्पादन कै लागि हाइड्रो पावर खोल्न विशेष नीतिहरुबाट सहुलियत तथा सहजीकरण गर्ने, हाइड्रोपावरलाई विशेष क्याटेगरीमा ल्याउने, अन्य नवकरणीय उर्जा सोलार वीनमिलहरुले पनि हाइड्रोजन उत्पादन गर्ने चासो राखेमा समेत विशेष तरिकाले सहयोग गर्ने भनिएको छ,’ थापाले भने।

थापाका अनुसार कोइला वा डिजलमा आधारित उद्योग हाइड्रोजनबाट संचालित हुन चाहेमा आवश्यक व्यवस्था गरिनेछ। यसका लागि सरकारले विनियमहरु बनाउनेछ।