झोला बोकेर कहिले लेक कहिले बेँसी, जाडोमा पोखरा झर्ने विद्यार्थीलाई कहाँ लाग्छ रमाइलो?

रिना थापा
२०८० मंसिर १२ गते ०८:२१ | Nov 28, 2023
झोला बोकेर कहिले लेक कहिले बेँसी, जाडोमा पोखरा झर्ने  विद्यार्थीलाई कहाँ लाग्छ रमाइलो?


पोखरा । जाडो छल्न वर्षेनी हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङका बासिन्दा बेँसी झर्छन्। चिसो बढेपछि थातथलो छोडेर बेँसी झर्न सुरु असोजको अन्तिम सातादेखि नै हुन्छ।

Tata
GBIME
Nepal Life

हिउँदमा हिमाली क्षेत्रको कष्टकर जीवन छल्न हातमा कापी किताब बोकेर विद्यार्थी पनि बेँसी ओर्लिछन्। चिसो छल्न विद्यालय नै अस्थायी रुपमा पोखरा झर्छ। उपल्लो मुस्ताङमा रहेको लोमाङथाङ गाउँपालिकाबाट ९ विद्यालयका ५१० जना विद्यार्थी बेँसी झरेका छन्।

पोखराका विभिन्न स्थानमा अस्थायी रुपमा विद्यालय सञ्चालन गरिरहेका विद्यालयलाई भने भवनको समस्या छ। लेकबाट पोखरा झरेका सामुदायिक विद्यालयका कसैको आफनै भवन छ कोही सहयोगमा चलेका छन्। भएका भवन संरचना सानो छ, कतै दुई सिफटमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ।

लोमाङथाङबाट पोखरा झरेको दिव्य दीप माध्यमिक विद्यालय अहिले सहयोगमा चल्दैछ। विजयपुरमा अवस्थित भवानी कालिका उच्च माविले दिव्य दिपलाई कक्षा सञ्चालन गर्न ‘स्टाफ रुम’ सहित चार कोठा सहयोग गरेको छ। भवनकै समस्याले कक्षा दुई सिफटमा सञ्चालनमा छन्। बिहान साढे पाँच बजेदेखि साढे ९ बजेसम्म एकदेखि कक्षा ७ सम्म सञ्चालन हुन्छ। दिउँसको समयमा कक्षा ८, ९ र १० को पढाई हुन्छ।

यद्यपि, विद्यालयको आफनै भवन निर्माणधिन अवस्थामा छ। केन्द्र सरकारको सहयोगमा करिब ४ करोड लगानीमा विद्यालयको आफनै भवन निर्माणकार्य भइरहेको विद्यालयका प्रधानाध्यापक रहमत धुनियाँले बताए।

‘अप्ठ्यारो त अप्ठ्यारो भएको छ। हाम्रो भवन फागुन अन्तिमसम्म बन्छ। अर्को हिउँदे बसाइँ आफनै चार तलाको भवनमा हुन्छ,’उनले भने।

कक्षा सञ्चालनका लागि भवनको समस्या बाहेक आवासको समस्या पनि छ उनीहरुलाई।

दुर्गम क्षेत्र तथा हिमाली क्षेत्रमा शिक्षालाई प्राथमिकता दिन सरकारले घुम्ती विद्यालय सञ्चालन गरिरहेको छ। आवसीय विद्यालय कार्यक्रम लागु गरेको छ सरकारले। पोखरा झर्दामात्र होइन लेकमा नै हुँदा प्राय विद्यार्थी विद्यालय आवास गृहमा बस्छन्। विद्यालय आवासका लागि कक्षा १ देखि ३ सम्मको खर्च गाउँपालिकाले ब्यहोर्छ, त्योभन्दा माथि कक्षाको खर्च सरकारले। पोखरा झर्दा आफनै भवन नभएको विद्यालयको आवास गृह व्यक्तिको घरमा छ। १२६ विद्यार्थी भएको विद्यालयलाई आवास गृह व्यक्तिको घरमा बनाउँदा पनि असहज भएको उनले बताए।

यता, छोन्हुप जिन्जु आधाभूत विद्यालयको भने आफनै भवन छ। हेम्जामा अवस्थित यो विद्यालयको भवन सांघुरो रहेको विद्यालयका प्रअ वाङधी गुरुङले गरे। भवन बारे प्रदेश सरकारलाई गुनासो पोख्दा पनि वास्ता नरहेको उनको भनाइ थियो।

चिरिच्याट्ट गुम्बाका विद्यालय, के भन्छन् विद्यार्थी ?

लोमाङथाङ गाउँपालिकाबाट तीनवटा सामुदायिक विद्यालय पोखरा झरेका छन्। यस्तै चारवटा गुम्बाका, एउटा आम्चि र एउटा संस्थागत विद्यालय पोखरा झरेका छ। जिल्लाबाट झरेको पाल एवं नाम्ग्याल गुम्बा माध्यमिक विद्यालयको आफनै भवन छ। जिल्लामा २००५ सालमा स्थापना भएको गुम्बा विद्यालयको आफनै भवन पोखरामा २०१३ सालमा बनेको हो। त्यतिन्जेल उनीहरु अस्थायी भवनको प्रयोग गर्दै आएको छ।

आफनै भवन र आवास गृह बनाएको गुम्बा विद्यालयको अवस्था सामुदायिकको भन्दा राम्रो छ। यस विद्यालयलाई पनि नेपाल सरकारले वर्षेनी व्यवस्थापनको लागि १० लाख अनुदान दिन्छ। यद्यपि, विद्यालय व्यवस्थापनको चुनौती रहेको विद्यालय व्यवस्थापन समितिका सचिव निमा घोम्पोले बताए।

यसरी चिसो छल्न आएका विद्यार्थी चैत लागेपछि लेक उक्लिन्छन्। चैतको परीक्षा सकेपछि नयाँ शैक्षिक सत्रको पढाई भने लेकमा नै हुन्छ।

पाँच महिना पोखरा झर्ने छेयाङ ल्हामु गुरुङलाई पोखराको पढाई राम्रो लाग्छ। उनलाई सबैभन्दा मनपर्ने गुम्बामा भएको पुस्तकालय हो।

‘मलाई यहाँ पढ्न मज्जा लाग्छ। धर्मको ज्ञान पनि पाउँछ बाहिरी ज्ञान पनि पाउँछ। फेरि हिउँदोमा यहाँ बस्ने बर्खामा चाहिँ मुस्ताङ जान्छ एकदम रमाइलो लाग्छ। अब यहाँ लाइब्रेरीहरु छ मुस्ताङमा छैन,’गुम्बामा झुमा पढिरहेकी उनले भनिन्।

गुम्बामा झुमा पढाईका लागि रुकुमबाट आएकी हिरा खड्कालाई पोखरामा धेरै समय गर्मी लाग्छ। तर पनि पोखरा बसाइँको पढाई भने उनलाई मनपर्छ।

‘चार कक्षामा पढ्छु एकदमै राम्रो चलिरहेको छ। मुस्ताङमा धेरै चिसो हुन्छ यहाँ गर्मी। पोखरामा नै रमाइलो लाग्छ। छुट्टि हुँदा बाहिर घुम्न जान पाइन्छ। उता घुम्ने ठाउँ त छ तर त्यता धेरै हावा चल्ने ठाउँ छ,’उनले भनिन्।

यता दिव्य दिप विद्यालयमा १० कक्षामा अध्ययनरत पेम्बा ल्हामु र कुन्साङ आङमोलाई पोखरा बसाइँ भन्दा गाउँकै बसाइँ प्यारो लाग्छ।

‘गाउँतिरै पढ्न पाए हुन्थ्यो लाग्छ। यहाँ धेरै जस्तो गर्मी लाग्छ,’उनी भन्छिन्।