
भारत सरकारले क्यानडा सरकारलाई नयाँ दिल्लीमा कार्यरत ४० जना कूटनीतिज्ञलाई फिर्ता लग्न भनेको छ। खालिस्तानी नेताको हत्यामा भारत सरकारको एजेन्टहरुको संलग्नता हुन सक्ने क्यान्डाको आरोपपछि दुई देशबीच पछिल्लो समय तनाव बढ्दै गइरहेको छ।
फाइनान्सियल टाइम्सका अनुसार भारत सरकारले फिर्ता लैजान भनेको कूटनीतिज्ञहरुलाई दिइने ‘इम्युनिटी’ अक्टोबर १० मा सकिनेछ। त्यसपछि दिल्लीमा बस्ने कूटनीतिज्ञले विशेष सुविधा पाउने छैनन्।
क्यानडियन नागरिक हरदिप सिंह निज्जरको हत्या भारतीय सरकारका एजेन्टले गरेको क्यानडाका प्रधानमन्त्री जस्ट्रिन ट्रुडोको आरोपबीच दुई देशकोबीच विवाद बढेको हो। तनाव बढ्दा दुवै देशले यसअघि पनि कूटनीतिज्ञलाई आआफ्नो देशबाट निकाला गरेका थिए। यस्तै, दुवै देशले व्यापार मिसन पनि स्थगित गरेका थिए। भारतले क्यानडाका नागरिकलाई उपलब्ध गराउँदै आएको भिसा सेवासमेत स्थगित गरिसकेको छ।
क्यानडाका प्रधानमन्त्री ट्रुडोले आफूले कसैलाई उत्तेजित बनाउने प्रयास नगरेको भन्दै आरोपहरुका बारेमा भारत सरकारले छानबिनमा सहयोग गर्नुपर्ने बताएका छन्। अमेरिकाले पनि आरोप गम्भीर रहेको भन्दै त्यसबारेमा छानबिन हुनुपर्ने बताइसकेको छ।
भारतले भने क्यानडाको आरोपहरुको खण्डन गरेको छ।