मोदी-ट्रुडो सम्बन्ध बिग्रिंदा अर्बौं डलर लगानी जोखिममा, क्यानडा-भारत तनाव बढ्नुको कारण के?

सहयोग रञ्जित
२०८० असोज ३ गते ०६:५६ | Sep 20, 2023
मोदी-ट्रुडो सम्बन्ध बिग्रिंदा अर्बौं डलर लगानी जोखिममा, क्यानडा-भारत तनाव बढ्नुको कारण के?
Photo : MEA India

हालै भारतमा सम्पन्‍न जी-२० सम्मेलनमा सहभागी देशका सरकार र राष्ट्र प्रमुखले जति आतिथ्यता पाए, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यही ‘लेभल’को सम्मान नयाँ दिल्लीमा पाउन सकेनन्।

Tata
GBIME
NLIC

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा आएका सबै देशका राष्ट्र र सरकार प्रमुखलाई वान अन वान भेटे, क्यानडाका ट्रुडोलाई बाहेक। यस्तै, सामूहिक भेटमा मोदीले सबैलाई स्वागत गरिरहँदा ट्रुडो भने मोदीसँग हात मिलाएर हतारिँदै निस्किए।

सम्मेलनको साइडलाइनमा मोदी र ट्रुडोबीच भेट त भयो, तर त्यो वार्ता मिठो रहेन। द्विपक्षीय वार्तामा मोदीले ट्रुडोलाई क्यानडामा बढ्दो भारतविरोधी गतिविधिलाई लिएर चर्को आक्रोश व्यक्त गरेका थिए।

मोदी खालिस्तानी अभियान रोक्न प्रयास नगरेको भन्दै ‘कराएका’ थिए। खालिस्तान अभियानलाई क्यानडाको ट्रुडो सरकारले प्रोत्साहित गरिरहेको नयाँ दिल्लीको आरोप नयाँ होइन।

गत जुन ४ मा क्यानडाको ब्रैंपटन सहरमा खालिस्तान समर्थक शिख समुदायका व्यक्तिले पाँच किलोमिटर लामो पदयात्रा निकालेका थिए। त्यस क्रममा रातो सारीमा रगतले लतपत भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको तस्विरसहितको परेड निकालिएको थियो।

सो तस्बिरमा दुई जना शिख सैनिकले गान्धीलाई गोली हानिरहेको अर्को तस्बिर पनि थियो। सो परेडको तस्बिर र भिडियो सार्वजनिक भएपछि भारत सरकारले क्यानडा सरकारको ध्यानकर्षण गराएको थियो।

नयाँ दिल्लीमा भएको भेटका क्रममा मोदीले ट्रुडोसामु यो विषय पनि उठाएका थिए।

Photo : MEA India

‘जी-२० सम्मेलनका बेला मोदीले ट्रुडोलाई दुई देशको सम्बन्धमा प्रगति ल्याउन आपसी सम्मान र भरोसा आवश्यकता रहेको बताए। शिख आन्दोलन अलगावादलाई प्रोत्साहन दिंदै भारतीय कूटनीतिज्ञहरुविरुद्ध हिंसालाई उक्साइँदैछ,’ मोदी र ट्रुडोको भेटपछि भारत सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको थियो।

ट्रुडोले भने भारतलाई क्यानडाको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न जवाफ फर्काएका थिए। केही व्यक्तिको हर्कतले सम्पूर्ण समुदायमाथि नै प्रश्‍न उठाउनु जायज नभएको ट्रुडोको भनाइ थियो।

मोदीसँगको भेटपछि नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ट्रुडोलाई खालिस्तानी अभियानबारे प्रश्‍न सोधियो। जवाफमा उनले भने, ‘क्यानडाले अभिव्यक्ति स्वतन्त्रता, विवेकको स्वतन्त्रता र शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारलाई सधैं साथ दिनेछ। यो हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ..।’

नयाँ दिल्लीमा भारत सरकारसँग सम्बन्ध त चिसिएको थियो नै, प्रधानमन्त्री ट्रुडो विमान बिग्रिएर तय मितिभन्दा दुई दिन ढिला गरी नयाँ दिल्ली छाड्न बाध्य भए। हिन्दुस्तान टाइम्सका अनुसार त्यसबेला भारत सरकारले ट्रुडोलाई ‘एयर इन्डिया वान’को सेवा लिन आग्रह गरेको थियो। तर, ट्रुडो भारतको आग्रहलाई अस्वीकार गर्दै आफ्नै विमान ठिक हुने समय कुरेर बसे।

भारतीय मिडियाले क्यानडाका प्रधानमन्त्रीको यो भ्रमणलाई ‘पेनफूल इन्डिया ट्रिप (पीडादायी भारत भ्रमण)’को संज्ञा दिए।

किन भारतविरोधी गतिविधि रोक्दैन क्यानडा?

ट्रुडो र मोदीको सम्बन्ध बिग्रिएको भर्खरै होइन। हुन त क्यानडा र भारतको सम्बन्ध चिसिएको धेरै भइसक्यो। क्यानडामा बस्दै आएका खालिस्तानी पक्षधरका शिख समुदायका‍ कारण दुई देशको सम्बन्धमा खटपट देखिंदै आएको छ।

मोदी सन् २०१४ मा प्रधानमन्त्री बनेका हुन्। ट्रुडोले सन् २०१५ देखि सरकारको नेतृत्व गरिरहेका छन्। सन् १०१९ मा मोदी फेरि लोकसभा निर्वाचन जित्दै प्रधानमन्त्री बने। सोही वर्ष ट्रुडोले पनि प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल सुरु गरे।

ट्रुडोको लिबरल पार्टी अफ क्यानडाले आफूलाई उदारवादी लोकतान्त्रिक पार्टीका रुपमा प्रस्तुत गर्दै आएको छ। यता मोदीको भारतीय जनता पार्टी हिन्दुत्व र राष्ट्रवादी धारणामा अघि बढिरहेको छ।

यही फरकका कारण दुवै नेताको सम्बन्ध सुरुवातदेखि नै चिसिँदै आएको छ। ट्रुडो शिखप्रति उदार बन्दा मोदी खालिस्तानी गतिविधिप्रति आक्रामक भएर प्रस्तुत भइरहेका छन्।

ट्रुडो भने शिख समुदायप्रति उदार देखिन्छन्। उनले सन् २०१५ मै जति शिख आफ्नो मन्त्रिपरिषद्‍मा छन् त्यति भारत सरकारमा नरहेको टिप्पणी गरेका थिए। त्यस कारण उनलाई जस्टिन ‘सिंह’ ट्रुडो भनेर ठट्टा गरिने गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

सन् २०१८ मा सपरिवार भारत आएका बेला पनि ट्रुडोले त्यति राम्रो ‘रिसेप्सन’ पाएका थिएनन्। उनको स्वागतमा मोदीले ‘जुनियर मन्त्री’लाई पठाएका थिए। प्राय: सरकार वा राष्ट्र प्रमुखलाई भेट्नेबित्तिकै अंकमाल गर्ने मोदीले ट्रुडोलाई भारत आएको धेरै दिनपछि मात्र भेटेका थिए।

सन् २०१८ मा परिवारसहित भारतमा जस्टिन ट्रुडो Photo : Reuters

ताजमहल जाँदा होस् या अरु ठाउँको भ्रमण, ट्रुडो तस्बिरमा हाँसिरहेका देखिन्थे। तर त्यहाँ न मोदी देखिए, न त मोदी सरकारका मन्त्री वा प्रदेशका मुख्यमन्त्री नै। ७ दिनका लागि भारत आएका उनी अमृतसरस्थित स्वर्ण मन्दिरसमेत पुगेका थिए। त्यसबेला पनि खालिस्तान अभियानलाई नै लिएर नयाँ दिल्लीले ट्रुडोलाई ‘इग्‍नोर’ गरेको चर्चा चलेको थियो।

जी-२० सम्मेलनका क्रममा भारतको ‘पेनफूल ट्रिप’ पछि जब ट्रुडो क्यानडा फर्किए, त्यसपछि दुई देशबीचको तनाव उत्कर्षमा पुग्यो।

नयाँ दिल्लीमा रहँदा भारतलाई क्यानडाको महत्वपूर्ण ‘पाटर्नर’ बताएका थिए ट्रुडोले। तर, सेप्टेम्बर १५ मा क्यानडाले भारतसँग हुने भनेको व्यापार मिसन स्थगित गर्‍यो। गत शुक्रबार भारतले पनि क्यानडासँग भएको व्यापारबारे छलफल रोकिएको जनायो।

क्यानडा र भारतबीचको तनाव यतिमा मात्रै सीमित रहेन। अहिले दुई देश एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गर्नेसम्मको अवस्थामा पुगेका छन्। कारण उही खालिस्तान मुद्दा।

ट्रुडोले सोमबार संसद्‍मा खालिस्तानी नेता हरदिप सिंह निज्जरको हत्यामा भारत सरकार संलग्‍न भएको हुन सक्ने बताएपछि अहिले दुई देशबीचको तनावपूर्ण सम्बन्ध छताछुल्ल भएको छ।

क्यानडाका नागरिक हरदिपको सन् २०२३ को जुन १८ मा ब्रिटिश कोलम्बियामा गोली हानी हत्या गरिएको थियो। हत्यापछि त्यहाँका शिख समुदाय निकै आक्रोशित बनेका थिए।

भारतबाट पंजाबलाई टुक्राएर छुट्टै खालिस्तान बनाउनुपर्ने लबिङ गर्दै आइरहेका उनै हरदिपको हत्यामा भारत सरकारकै संलग्‍नता रहेको हुन सक्ने ट्रुडोले बताएपछि अहिले दुवै देश आरोपप्रत्यारोपमा उत्रिएका छन्।

हरदिप भारतले आतंकवादीको सूचीमा राखेका व्यक्ति हुन्। ‘पछिल्ला केही हप्तादेखि हाम्रो सुरक्षा निकायले भारत सरकारका एजेन्ट र क्यानडाका नागरिक हरदिपको हत्याबीच सम्भावित सम्बन्धको अनुसन्धान गरिरहेको छ,’ ट्रुडोले संसद्‍मा भनेका थिए। उनले दोषीलाई कारबाहीको दायरामा ल्याउनेसमेत बताएका थिए।

त्यसपछि क्यानडाले त्यहाँ रहेका एक उच्च भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गर्‍यो। यो विषयलाई क्यानडाले आफ्नो राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडेर हेरिरहेको ओटवाका अधिकारीहरुले बताएका छन्।

क्यानडामा शिखहरुको संख्या धेरै छ। त्यहाँको राजनीतिमा पनि शिखहरु संलग्‍न छन्। शिख समुदायका मानिस क्यानडामा पटकपटक मन्त्री बनेका छन्। अहिले पनि शिख मन्त्री छन्। तिनैमध्ये एक हरजित सज्जनले प्रधानमन्त्री ट्रुडोको अभिव्यक्तिको समर्थन गरेका छन्।

‘हामी हाम्रो लोकतन्त्रमा भारत वा अन्य कुनै देशलाई हस्तक्षेप गर्न दिंदैनौं। क्यानडाको भूमिमा क्यानडाली नागरिकको हत्यामा कुनै पनि विदेशी सरकारको संलग्नता हाम्रो सार्वभौमसत्ताको गम्भीर उल्लंघन हो,’ भारतीय मूलका सज्जनले एक्स (पहिला ट्वीटर)मा लेखेका छन्।

भारतका विदेशमन्त्री एस जयशंकरले क्यानडामा भारतविरोधी गतिविधि भइरहँदा पनि ट्रुडो सरकार ‘भोट बैंक’ बचाउन लागेको टिप्पणी दिएको धेरै भएको छैन। ट्रुडोले शिख समुदायप्रति सहानुभूति राख्नुको कारण जयशंकरले भनेको ‘भोट बैंक’ पनि रहेको विश्लेषकहरु बताउँछन्। ट्रुडोको पार्टी हाल त्यहाँको न्यू डेमोक्रेटिक पार्टीको समर्थनमा सत्तामा छ। सो पार्टीका नेता भारतीय मूलका शिख जग्मित सिंह हुन्।

हाल हाउस अफ कमन्समा न्यू डेमोक्रेटिक पार्टीको २५ सिट छ। ट्रुडोको लिबरल पार्टीसँग १५८ सिट छ। सरकार बनाउन बहुमत नपुगेपछि ट्रुडोले जग्मितको पार्टीसँग गठबन्धन गरेर बहुमत जुटाएका हुन्। सो सहमति जुटाइनुका पछाडि जग्मितको पार्टीका केही मुद्दालाई ट्रुडोको पार्टीले समर्थन गर्ने सर्त राखिएको थियो। ट्रुडो र जग्मितबीच भएको सो सहमतिलाई लिएर त्यसबेला नै क्यानडाको कन्जर्भेटिभ पार्टीले आलोचना गरेको थियो।

उनै सिंहले एक्स (ट्विटर)मा लेखेका छन्, ‘भारत सरकारका एजेन्टहरुले क्यानडियन नागरिक हरदिपलाई क्यानडामै हत्या गरेको आरोप छ। सबै क्यानडियनसामु मेरो वाचा छ, म न्यायको खोजीको कुनै कसर बाँकी राख्दिन, चाहे त्यो नरेन्द्र मोदीलाई जवाफदेही बनाउनु किन नहोस्।’

यता मंगलबार भारतले पनि क्यानडालाई ‘टिट फर ट्याट’ जवाफ दिँदै क्यानडाका उच्च कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय सार्वजनिक गर्‍यो। भारतविरोधी गतिविधीमा संलग्‍न भएको भन्दै ती कूटनीतिज्ञलाई देश छाड्न ५ दिनको समय दिइएको छ। ट्रुडोले लगाएको आरोपको भारत सरकारले खण्डन गरेको छ।

‘क्यानडाका प्रधानमन्त्रीले संसद्‍मा भनेको कुरालाई हामी खारेज गर्छौं। क्यानडामा भएको कुनै पनि प्रकारको हिंसामा हाम्रो संलग्‍नता छैन,’ भारतको विदेश मन्त्रालयले भनेको छ।

भारत र क्यानडाबीच बढ्दो तनावलाई लिएर अमेरिका, बेलायत र अस्ट्रेलियाले चिन्ता व्यक्त गरेका छन्। ट्रुडोले यसबारेमा अमेरिकाका राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग कुराकानी गरेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्।

ह्‍वाइट हाउसले भनेको छ, ‘ट्रुडोले उल्लेख गरेका आरोपप्रति गहिरो हाम्रो गहिरो चिन्ता छ। हामी क्यानाडा सरकारसँग नियमित सम्पर्कमा छौं। क्यानडामा यसबारेमा अनुसन्धान अगाडि बढ्छ र दोषीहरूलाई कारबाही हुनेछ।’

बढ्दो तनावबीच ट्रुडोले अर्को एक बयान दिएका छन्। जसमा उनले आफूले भारतलाई उक्साउन नचाहेको बताएका छन्। उनले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्‍नता भएको हुन सक्ने विषयमा भारत सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

‘भारतले यस विषयलाई गम्भीरताका साथ हेर्नुपर्छ। हामी कसैलाई उक्साउन चाहँदैनौं,’ ट्रुडोले भने।

व्यापारमा कस्तो पर्ला असर?

दुई देशको बिग्रिंदो सम्बन्धका कारण उनीहरुबीच चल्दै आएको व्यापारमा समेत असर पर्ने सम्भावना देखिएको रोयटर्सले जनाएको छ।

भारत र क्यानडाबीच हुने भनिएको ‘कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप एग्रिमेन्ट’अन्तर्गत द्विपक्षीय व्यापारमा ६.५ अर्ब डलर वृद्धि हुने अपेक्षा थियो। जसबाट क्यानडाको कूल ग्राहस्थ उत्पादन (जीडीपी) सन् २०३५ सम्म ३.८ अर्ब डलरदेखि ६.९ अर्ब डलर सम्म बढ्ने अनुमान गरिएको थियो।

क्यानडा र भारतबीचको व्यापार सन् २०२२ मा ८ अर्ब डलर पुगेको थियो। क्यानडामा भारतले ४ अर्ब डलरको सामान निर्यात गर्ने गर्छ। त्यही रकम बराबरको सामान भारतमा आयात हुने गरेको छ। भारतमा आयातित दालको माग बढ्नाले क्यानडाका किसानलाई फाइदा पुगेको थियो।

यस्तै, भारतका औषधि र सफ्टवेयर कम्पनीले क्यानडामा आफ्नो व्यापार जमाइसकेका छन्। क्यानडाबाट भारतले कोइला, कोक, ब्रिकेट, खाद्यान्‍न लगायत वस्तु आयात गर्छ भने कपडा, अटो पार्टस, एयरक्राफ्ट उपकरण र इलेक्ट्रोनिक सामान निर्यात गर्छ। दुई देशको सम्बन्धमा आएको चिसोपनाले यी व्यापारिक गतिविधिमा समास्या आउन सक्ने अनुमान गरिएको छ।

भारतका उद्योग वाणिज्यमन्त्री पियुष गोयल र क्यानडाकी व्यापार तथा आर्थिक विकासमन्त्री म्यारी एनजी व्यापार सम्झौताबारे छलफल गर्दै।

यस्तै, भारतमा लगानी गर्ने क्यानडा १७ औं ठूलो देश हो। सन् २००० देखि अहिलेसम्म क्यानडाले ३.६ अर्ब डलरको लगानी भारतमा गरिसकेको छ। भारतको स्टक मार्केट र डेट मार्केटमा क्यानडाका पोर्टफोलियो लगानीकर्ताको ठूलो लगानी छ।

यसका साथै क्यानडा पेन्सन फन्डले पनि भारतमा रियल स्टेट, फाइनान्सियल सेक्टर लगायत क्षेत्रमा १५ देखि २० अर्ब डलर लगानी गरेको छ। जोमातो, पेटीएम, नाइका, कोटाक महिन्द्रा बैंक, विप्रो, इन्फोसिस, आइसीआइसीआइ बैंक लगायत क्षेत्रमा सो पेन्सन फन्डको लगानी रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

दुई देशबीचको व्यापारले कर्पोरेट कम्पनीलाई हालसम्म फाइदा पुग्दै आएको थियो। बाम्बर्डिया, एसएनसी लावलिन लगायत ६०० वटा क्यानडियन कम्पनीको भारतीय बजारमा राम्रो पकड छ। जबकि भारतका ३० भन्दा बढी कम्पनीले क्यानडामा लगानी गरिरहेका छन्। जसबाट हजारौं मानिसले रोजगारी पाएका छन्।

सन् २०१८ पछि क्यानडामा पढ्ने विदेशी विद्यार्थीमा भारतीय विद्यार्थीको संख्या उच्च हुँदै गएको छ। सन् २०२२ मा क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये भारतीयको संख्या ४७ प्रतिशतले वृद्धि भएको थियो। हाल क्यानडामा ३ लाख २० हजार भारतीय विद्यार्थी अध्ययनरत् छन्। क्यानडा र भारतबीच बढेको राजनीतिक र कूटनीतिक तनावले यसमा पनि असर पर्न सक्छ।

यस्तै, दुई देशबीचको सम्बन्ध बिग्रिंदा पंजाब लगायत क्षेत्रमा बस्दै आएका शिख परिवारमा समेत असर पर्ने विश्लेषकहरुको अनुमान छ। क्यानडामा बसिरहेका शिखहरुले पंजाब लगायत क्षेत्रमा बस्दै आएकालाई आर्थिक सहयोग गर्दै आएका छन्।