दोस्रो बजारमा लगानीकर्ता १३% वृद्धि, तर कम्तिमा दुई कारोबार गर्ने चारमा एकमात्रै

विक्रम भट्टराई
२०८० असोज १ गते ०९:२३ | Sep 18, 2023
दोस्रो बजारमा लगानीकर्ता १३% वृद्धि, तर कम्तिमा दुई कारोबार गर्ने चारमा एकमात्रै


काठमाडौं। सेयर कारोबारका लागि दोस्रो बजारमा लगानीकर्ताको संख्या १३ प्रतिशतले बढेको देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार दोस्रो बजारमा सेयर कारोबारका लागि आबद्ध भएकामध्ये एक चौथाइ लगानीकर्ता मात्रै सक्रिय हुने गरेका छन्।

Tata
GBIME

दोस्रो बजारमा प्रवेश गरेका लगानीकर्ताको संख्या ३२ लाख ८३ हजार छ। यसमा २५.६५ प्रतिशत मात्रै सक्रिय छन्। नेप्सेले एक आर्थिक वर्षमा कम्तिमा दुई पटक कारोबार गर्नेलाई सक्रिय मान्दा त्यस्ता लगानीकर्ताको संख्या भने ८ लाख ४२ हजार मात्र छ।

अघिल्लो वर्ष सक्रिय लगानीकर्ताको संख्या झन्डै साढे १० लाख थियो। पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने लगानीकर्ताको यस्तो संख्या वार्षिक एक प्रतिशतको दरले मात्रै बढ्ने गरेको तथ्यांकले देखाउँछ। बियरिस प्रवृत्तिले गर्दा लगानीकर्ताले टीएमएस खोल्नै छाडेका छन्।

सक्रिय लगानीकर्ताको संख्या सुस्त दरले बढ्दा सरकारले पाउने राजस्वमा पनि धक्का लागेको छ। आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट मात्रै १४ अर्ब उठेको पुँजीगत लाभकर साँघुरिएर गत आवसम्म आइपुग्दा २ अर्ब ९७ करोड मात्रै छ। २०७७/७८ यता बर्सेनि ४०.३६ प्रतिशतको भारी दरमा राजस्व असुली घटेको छ।

दिनहुँ कारोबार गर्नेहरुको संख्या अझै कम छ। नेप्सेको पछिल्लो तथ्यांक अनुसार औसतमा ३० देखि ३५ हजार जना मात्रै कारोबारमा सक्रिय छन्। जबकी बजार ३२ सयको वेगमा हुँदा झन्डै डेढ लाखले कारोबार गर्ने गर्थे।

सोही अवधिमा डिम्याट खाता खोल्नेहरु वार्षिक १५.३८ प्रतिशत र मेरो सेयरमा आबद्ध हुनेहरु वार्षिक १९.१४ प्रतिशतका दरले बढिरहेका छन्। नेप्से सूचक पछिल्ला तीन आर्थिक वर्ष वार्षिक १०.०७ प्रतिशतले घट्दा समेत डिम्याट र मेरो सेयरमा उल्लेख्य वृद्धि भेटिन्छ।

अर्कोपट्टि टीएमएस लिएर पनि स्वयंम् कारोबार नगर्ने लगानीकर्ताहरुको संख्या १५ लाख २० हजारभन्दा बढी छ। जुन दोस्रो बजारमा कारोबार गर्नेहरुको लगभग आधा हो।

दोस्रो बजारको सेयर कारोबारमा आबद्धमध्ये ४६.३१ प्रतिशत जना लगानीकर्ता आफैंले टीएमएस खोलेर अर्डर राख्नुभन्दा सिधै ब्रोकरलाई फोन गर्न रुचाउँछन्। पछिल्लो तथ्यांकले लगानीकर्ताको यस्तो संख्या सामान्य भए पनि बढ्दो देखाउँछ।

त्यहीँ आफैले किनबेच अर्डर हाल्नेहरु वार्षिक ३०.४२ प्रतिशतका दरले बढ्दैछन्। कुल ३२ लाख ८३ हजार लगानीकर्तामध्ये १७ लाख ६३ हजार जना यस प्रकृतिका छन्। यता दोस्रो बजारमा भित्रिनेहरु बर्सेनि १२.७८ प्रतिशतले बढ्ने गरेका छन्।