बहुप्रतिक्षित आइफोन १५ सार्वजनिक, एन्ड्रोइडकै जस्तो टाइप-सी चार्जिङ पोर्ट, नेपालमा कति पर्ला मूल्य?

बिजमाण्डू
२०८० भदौ २७ गते ०९:१६ | Sep 13, 2023
बहुप्रतिक्षित आइफोन १५ सार्वजनिक, एन्ड्रोइडकै जस्तो टाइप-सी चार्जिङ पोर्ट, नेपालमा कति पर्ला मूल्य?
Photo: AFP

काठमाडौं। टेक जायन्ट एप्पलले बहुप्रतिक्षित आइफोन १५ लन्च गरेको छ। नेपाली समयअनुसार मंगलबार राति एप्पलले अमेरिकाको क्यालिफोर्नियामा रहेको हेडक्वार्टर एप्पल पार्कमा आइफोन १५ सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

एप्पलले एन्ड्रोइड स्मार्टफोनमा जस्तै पहिलोपटक युएसबी-सी चार्जिङ सुविधासहित आइफोन १५ र आइफोन १५ प्लस ल्याएको छ। जसको सुरुवाती मूल्य ७९९ अमेरिकी डलर (१ लाख रुपैयाँभन्दा बढी) तोकिएको छ। साथै एप्पलले आइफोन १५ प्रो र प्रो म्यास पनि सार्वजनिक गरेको छ। जसको सुरुवाती मूल्य ९९९ डलर (१ लाख ३२ हजार रुपैयाँ) तय गरिएको एप्पलले जनाएको छ।

आइफोनका यी चार मोडलसँगै एप्पलले ब्राण्ड-न्यू एप्पल वाचसमेत सार्वजनिक गरेको छ। जुन ९५ प्रतिशत टाइटानियमबाट बनाइएको छ। एप्पल वाचको ब्यान्ट्री लाइफ ७२ घण्टा रहेको दाबी एप्पलको छ। साथै एप्पलले युएसबी-सीसहित नै एयरपड्स पनि ल्याएको छ।

आइफोन १५ र १५ प्लस

एप्पलका अनुसार आइफोन १५ र १५ प्लस १२८ र ५१२ जीबी स्टोरेजमा पाइनेछ। दुवै फोन कालो, निलो, हरियो, गुलाबी र पहेंलो रङमा उपलब्ध हुनेछ।

आइफोन १५ डुअल सिम (न्यानो) स्मार्टफोन हो। जसको डिस्प्ले ६.१ इन्च सुपर रेटिना एक्सडीआर ओएलइडी छ। जसलाई सेरामिक सिल्ड मेरेरियलले थप सुरक्षित बनाइएको एप्पलले जनाएको छ। यो वर्ष एप्पलले आइफोन १५ मा डाइनामिक आइल्यान्ड उपलब्ध गराएको छ। गत वर्ष एप्पलले यो फिचर आइफोन १४ प्रो मोडलमा मात्रै ल्याएको थियो। आइफोन १५ र १५ प्लसको डिस्प्लेमा २००० निट्ससम्मको ब्राइटनेस र आइपी६८ रेटिङ (धुलो र पानी रेसिस्टेन्स) सुविधा रहेको एप्पलले जानकारी गराएको छ।

आइफोन १५ र १५ प्लस मोडलमा प्राइमरी क्यामरा ४८ मेगापिक्सेल छ। यी स्मार्टफोनमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा छ। स्मार्टफोनको अघिल्लो भागमा १२ मेगापिक्सेल ट्रु डेप्थ क्यामरा छ। यी दुवै मोडलमा एप्पलले ए१६ बायोनिक चिप प्रयोग गरेको छ। अघिल्लो वर्ष यो चिप आइफोन १४ प्रो मोडलहरुमा मात्रै उपलब्ध थियो।

आइफोन १५ प्रो र १५ प्रो म्याक्स

एप्पलले आइफोन १५ प्रो र प्रो म्याक्स चारवटा भेरियन्टमा सार्वजनिक गरेको छ। १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजमा यी दुवै मोडलका आइफोन उपलब्ध हुने छ। एप्पलकाअनुसार आइफोन १५ प्रो र प्रो म्याक्स ब्ल्याक टाइटानियम, न्याचुरल टाइटानियम र ह्‍वाइट टाइटानियम फिनिसमा आउनेछ।

आइफोन १५ प्रो ६.१ इन्च र १५ प्रो म्याक्स ६.७ इन्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्लेमा उपलब्ध हुने एप्पलले जनाएको छ। यी मोडललाई पनि सेरामिक सिल्ड मेरेरियलले थप सुरक्षित बनाइएको एप्पलले जनाएको छ। यी फोनहरुको डिस्प्लेमा पनि २००० निट्ससम्मको ब्राइटनेस र आइपी६८ रेटिङ (धुलो र पानी रेसिस्टेन्स) सुविधा छ।

यी स्मार्टफोनहरुमा एप्पलले नयाँ ३एनएम चिपसेट ए१७ बायोनिक चिपसेट जडान गरेको छ। यसले स्मार्टफोनको पर्फर्मेन्स १० प्रतिशतले वृद्धि हुने एप्पलको भनाइ छ। दुवै मोडल ग्रेड ५ टाइटानियम र अल्मुनियम सब-स्ट्रक्चरबाट निर्मित छन्। जसले फोनको आयु बढाउने र वजन घट्ने एप्पलले जनाएको छ।

यी फोनमा नयाँ एक्सन बटन राखिएको छ। जसले ‘म्यूट’ स्वीचलाई विस्थापित गरेको छ। नयाँ एक्सन बटन अरु विभिन्‍न क्रियाकलापमा प्रयोग गर्न सकिने एप्पलले जनाएको छ।

यी स्मार्टफोनहरुको वाइड एंगल क्यामरा ४८ मेगापिक्सल छ। १२ मेगापिक्सेल अल्ट्रावाइड सिंगल क्यामरा राखिएको छ। आइफोन १५ प्रोमा १२ मेगापिक्सेलको ३एक्स टेलिफोटो क्यामरा जडान गरिएको छ। साथै १५ प्रो म्याक्समा १२ मेगापिक्सेलको पेरिस्कोप क्यामरा राखिएको छ। एप्पलले यो सुविधाले ५एक्स अप्टिकल जुम अनुभव दिने दाबी गरेको छ।

आइफोन १५ प्रो र प्रो म्याक्समा पनि युएसबी टाइप-सी पोर्ट (युएसबी ३.० स्पीड) नै रहेको छ। आइफोन १५ प्रो (१२८ जीबी) को सुरुआती मूल्य ९९९ डलर (१ लाख ३२ हजार रुपैयाँ) र प्रो म्याक्सको (२५६ जीबी) ११९९ डलर (१ लाख ५९ हजार रुपैयाँ) तोकिएको छ।

एप्पल वाच सिरिज ९ र अल्ट्रा २

एप्पलले आइफोनका विभिन्न मोडलसँगै मंगलबार राति वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ। वातावरणमैत्री बनाउन खोजिएको एप्पल वाच संसारभर हवाईजहाजको साटो डुंगा (सामुद्री मार्ग) बाट ढुवानी गर्ने घोषणा गरेको छ। सन् २०३० सम्म कार्बोन न्युट्रल हुने दाबी गर्दै एप्पलले उक्त निर्णय गरेको बुझिएको छ।

सिरिज ८ ले ३३ किलो कार्बोन इमिसिन गरेको बताउँदै एप्पलले सिरिज ९ ले त्यसलाई ८.१ किलोमा झारेको जनाएको छ।

एप्पल वाच सिरिज ९ को प्रारम्भिक मूल्य ३९९ डलर (करिब ५३ हजार रुपैयाँ) तोकिएको छ। सिरिज ९पाँचवटा सेडमा उपलब्ध हुनेछ। मिडनाइट, स्टारलाइट, सिल्भर, (प्रडक्ट) रेड र पिंकमा उपलब्ध हुनेछ। पिंक भने नयाँ सेड हो।

एप्पल वाच अल्ट्रा टु (सेकेन्ड जेनेरेसन) पनि सार्वजनिक गर्दै एप्पलले यसको मूल्य अमेरिकामा ७९९ डलर तोकेको छ।

एप्पलले यी फोनहरुको प्रि-अर्डर शुक्रबारबाटै खुल्नेछ भने बिक्री अर्को हप्ताको शुक्रबारबाट सुरु गर्ने योजना एप्पलको छ। नेपालको हकमा भने आइफोन १५ का मोडलहरु कहिलेबाट उपलब्ध हुन्छ भन्ने आधिकारिक जानकारी सार्वजनिक भएको छैन।