लागुऔषधको ‘ट्रान्जिट’ मकवानपुर: एक वर्षमा २४८ जना पक्राउ, २-४ हजारकै लोभमा बन्छन् भरिया

बिजमाण्डू
२०८० साउन ३० गते १२:३३ | Aug 15, 2023
लागुऔषधको ‘ट्रान्जिट’ मकवानपुर: एक वर्षमा २४८ जना पक्राउ, २-४ हजारकै लोभमा बन्छन् भरिया


हेटौंडा। मकवानपुरमा पछिल्लो समय धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्। सडक सञ्‍जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सीमा नाका रक्सौलबाट पनि नजिकै पर्ने भएकाले यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन्।

Tata
GBIME
NLIC

जिल्लाकै विभिन्‍न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोबार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ। जिल्लामा उत्पादन भएको लागुऔषध अन्यत्र बाहिरिने र बाहिर उत्पादन भएको लागुऔषध पनि मकवानपुर हुँदै ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।

मकवानपुरमा दिन प्रतिदिन लागुऔषधको कारोबार फष्टाउँदै गइरहँदा प्रहरीले गाँजा खेती फँडानी र कारोबारी गर्नेलाई पक्राउ गर्नेबाहेक यसको नियन्त्रण र न्यूनीकरणको लागि दीर्घकालीन पहल गरेको पाइदैन। यही गतिमा लागुऔषधको कारोबार बढ्दै गए भविष्यमा मकवानपुर अन्तर्राष्ट्रिय कारोबार केन्द्र नबन्ला भन्‍न नसकिने विज्ञहरु बताउँछन्।

एक वर्षमा २४८ लागुऔषध कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कोरोबार गर्ने २४८ जनालाई पक्राउ गरेको छ। विभिन्‍न प्रकारको लागुऔषध ओसारपसार गर्ने उनीहरूलाई पक्राउ गरेर १५३ वटा मुद्दा दायर गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा २ सय ५ जना पुरुष र १७ जना महिला गरी २ सय २२ जना नेपाली रहेका छन्। त्यस्तै, २३ जना विदेशी नागरिक पनि पक्राउ परेका छन्।

त्यसैगरी, प्रहरीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २ सय २५ जनालाई पक्राउ गरेको थियो। २ सय ६ पुरुष र ८ महिला तथा ११ जना विदेशी नागरिकलाई लागुऔषध कारोबारको आरोपमा पक्राउ गरेको प्रहरीको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७७/७८ मा मकवानपुर प्रहरीले लागुऔषध कारोबारी गर्ने १ सय ५१ जनालाई पक्राउ गरेको थियो। १ सय ३९ पुरुष र ९ महिला तथा ३ विदेशी नागरिक लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका थिए।

सामान्य लालचमै फस्छन् युवा

मकवानपुरमा लागुऔषध कारोबारी गर्नेहरू दैनिकजसो प्रहरीले पक्राउ गरिरहेको भए पनि मुख्य नाइके भने हालसम्म पक्राउ पर्न सकेका छैनन्। प्रहरीले पक्राउ गर्नेहरू अधिकांश सामान्य लालचमा लागुऔषध एक ठाउँबाट अर्को ठाउँमा लैजाने भरियाको रुपमा मात्रै रहेका हुन्छन्।

अधिकांश मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको नागरिकहरू लागुपदार्थ ओसारपसारमा संलग्‍न हुने गरेको पाइन्छ। राक्सिराङ विकट गाउँपालिका मात्रै नभएर यहाँका अधिकांश बासिन्दा गरिबी र भोकमारीको चपेटामा छन्। जसले गर्दा उनीहरू सामान्य लालचमा लागुपदार्थ ओसारपसारमा संलग्‍न हुने गरेको मकवानपुरका प्रहरी प्रवक्ता कार्कीको भनाइ छ।

उनले भने, ‘गरिबीको कारणले यति थोरै काम गर्दा पनि पैसा आउँछ भन्‍ने उनीहरूलाई पर्छ र यो काम गर्न तयार हुन्छन्। कतिपय अवस्थामा त विभिन्‍न लालच देखाएर बालबालिकालाई पनि प्रयोग गरिएको हुन्छ।’

कार्कीले २-४ हजारकै लोभमा परेर लागुऔषध कारोबारीको फन्दामा फस्‍नेको संख्या धेरै रहेको बताए। उनले थोरै काम गरेर धेरै पैसा कमाउने लोभले पनि यस कारोबारमा धेरै संलग्‍न हुने गरेको बताए।

६ हजार किलो गाँजा र २१ किलो चरेश बरामद

मकवानपुर प्रहरीले गत एक वर्षमा ठूलो मात्रामा लागुऔषध बरामद गर्‍यो। कारोबारको लागि विभिन्‍न स्थानमा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले विभिन्‍न प्रकारका लागुऔष बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार ६ हजार ५ किलो ७ सय ६ ग्राम गाँजा र २१ किलो चरेश प्रहरीले बरामद गरेको छ। त्यस्तैगरी, १४ किलो १ सय ६० ग्राम अफिम, ५१ ग्राम ३ सय ४० मिलिग्राम खैरो हेराइन, १५ सय ४० बोतल कोरेक्स बरामख गरेको प्रवक्ता कार्कीले बताए।

प्रहरीले ४ हजार ४ सय २ ट्याब नाईट्रा भेट र ३ हजार ९ सय ८१ एम्पुल डाईजापाम बरामद गरेको छ भने ४० सवारी साधनसमेत नियन्त्रणमा लिएको छ।

त्यस्तैगरी, आव २०७८/७९ मा मकवानपुर प्रहरीले २६ सय ६२ किलो गाँजा, २० किलो २६ ग्राम चरेश, १२ किलो ७७५ ग्राम अफिम, ७५ ग्राम ३१३ मिलिग्राम खैरो हिरोइन, ९ सय ४२ बोतल कोरेक्स, १२ हजार ६ सय ९७ ट्याव नाइट्राभेट र २८ सय ४४ एम्पुल डाइजापाम बरामद गरेको प्रहरी प्रवक्ता कार्कीको भनाइ छ।

त्यसअघि, आव २०७७/७८ मा मकवानपुर प्रहरीले १ हजार ७ सय ८९ किलो ९ सय ४३ ग्राम गाँजा, २३ किलो ५ सय ५८ ग्राम चरेश, १४ किलो ७ सय २५ ग्राम अफिम, १४ ग्राम ५ सय ५२ मिलिग्राम खैरो हिरोईन, २ सय ९६ बोतल कोरेक्स लगायत बरामद गरेको थियो।

३ सय बिघा ९० कठ्ठा लागुऔषध खेती फँडानी

मकवानपुर प्रहरीले हरेक वर्ष जस्तै गएको वर्ष पनि लागुऔषध खेती फँडानी कार्यलाई निरन्तरता दिएको छ। जिल्लाका विभिन्‍न विकट स्थानमा खेतीको रुपमा लगाइएको गाँजा तथा अफिमजस्ता लागुऔषध फडानी गरिइएको हो।

प्रत्येक वर्ष प्रहरीले लागुऔषध फडानी अभियान नै चलाए पनि यसले लागुऔषध उत्पादन, यसको कारोबार र प्रयोगमा भने कमी ल्याउन सकेको छैन।

तथ्यांकअनुसार गत आवमा मकवानपुर प्रहरीले ४ सय ९७ प्रहरी खटाएर तीन सय बिघा ९० कठ्ठा १० धुर जग्गामा लगाइएको लागुऔषध फडानी गरेको छ। प्रहरीले १ सय ४६ बिघा १७ कठ्ठा १० धुरमा लगाएको गाँजा र २ सय २४ बिघा ३ कठ्ठामा लगाइएको अफिम फडानी तथा नष्ट गरेको छ।

अघिल्लो आवमा पनि मकवानपुर प्रहरीले १ सय ४४ बिघा १ कठ्ठा १६ धुर गाँजा र १ सय ४४ बिघा १४ कठ्ठा अफिम फँडानी गरेको थियो।

अवैध सुनचाँदी, कपडा र खाद्यान्‍न पनि बरामद

मकवानपुर प्रहरीले गएको वर्षमा भन्सार छलेर ल्याएको सुनचाँदी समेत बरामद गरेको छ। प्रहरीले गत आव २०७९/८० मा १ करोड १९ लाख ९१ हजार ७ सय ५ रुपैयाँ बराबरको १ किलो २ सय ४९ ग्राम ५ सय २ मिलिग्राम सुन बरामद गरेको हो।

त्यसैगरी, प्रहरीले १८ लाख ७५ हजार ५ सय ९२ रुपैयाँ बराबरको २१ किलो ८ सय ६३ ग्राम चाँदी बरामद गरेको छ।

त्यस्तै, मकवानपुर प्रहरीले गएको आर्थिक वर्षमा भन्सार छलेर ल्याएको २ करोड ७ लाख ८४ हजार ८ सय २२ रुपैयाँ बराबरको कपडा तथा खाद्यान्‍नसमेत बरामद गरेको छ।