
काठमाडौं। सामसङले ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ नेपाली बजारमा भित्र्याएको छ। सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र २०२२ की मिस नेपाल प्रियंका रानी जोशीले सोमबार संयुक्तरुपमा नयाँ स्मार्टफोन सार्वजनिक गरे।
कार्यक्रममा ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ का विशेषताबारे जानकारी गराइयो। पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भ्यूइङ, सेल्फी र आईपी एक्स एट रेटिङ मोडलहरुले प्रदर्शन गरे।
ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ दुवैलाई धेरै टिकाउ बनाउन सावधानीपूर्वक निर्माण गरिएको दाबी सामसङको छ। मेन स्क्रिन सक डिस्पर्सन तहका साथ जडान गरिएको कम्पनीले जनाएको छ। यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरलाई फैलिन नदिने बताइएको छ। उत्पादनको लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्युरिटी अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध रहेको सामसङको भनाइ छ।
ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनका लागि निर्मित पकेट साइजको उपकरण मानिएको छ। यो स्मार्टफोन तीन प्रकारका रङ मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ। ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध स्मार्टफोनको मूल्य १ लाख ४० हजार रुपैयाँ तोकिएको छ।
यस्तै, वाइड स्क्रिन र धेरै समय चल्ने ब्याट्रीसहितको पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लान मिल्ने खालको भएको कम्पनीले जनाएको छ। ग्यालेक्सी जेड फोल्ड ५ कालो र निलो रङमा पाइन्छ। १२ जीबी र्यामसहित २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ। २५६ जीबी स्टोरेजको फोनको मूल्य २ लाख २७ हजार र ५१२ जीबी स्टोरेज भएकाको मूल्य २ लाख ४० हजार रुपैयाँ तोकिएको छ।
यी मोडलका स्मार्टफोनको प्रि-अर्डर साउन २२ देखि नै सुरु भइसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा २५ हजार रुपैयाँसम्मको आकर्षक उपहार रोज्न सक्ने छन्। यसका साथै शून्य प्रतिशत ब्याजमा प्रतिमहिना ७ हजार रुपैयाँ ईएमआई तिरेर किन्न सक्ने सुविधा पनि छ। देशभरका २०० भन्दा बढी पसलमा यी फोन उपलब्ध छन्।
आफ्नो फोन अपग्रेड गर्न चाहने ग्राहकका लागि सामसङले एक्सचेन्ज सुविधा पनि ल्याएको छ।