
काठमाडौं। विभिन्न माग राखेर आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले पहिलो चरणको विरोध कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार संसद् भवन अगाडि धर्ना दिएपश्चात् पहिलो चरणको आन्दोलन सम्पन्न भएको महासंघले जनाएको छ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ दाहाल (राजन) ले महासंघका जायज माग पूरा गराउन पहल गर्ने प्रतिवद्धता जनाए।
नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले निर्माण उद्योग समस्याग्रस्त भएका कारण अर्थतन्त्रमै गम्भीर समस्या देखिएको बताए। निर्माण व्यवसायीका जायज माग राज्यले तत्काल पूरा गर्नुपर्ने बानियाँले बताए।
सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापाले निर्माण व्यवसायीका माग पूरा नगरेर सरकारले अर्कमण्यता देखाएको आरोप लगाए।
शुक्रबार बिहान नै महासंघले ९ देखि १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटार अगाडि पनि धर्ना दिएको थियो। धर्ना कार्यक्रममा कांग्रेस नेता एवं महासंघका मानार्थ सदस्य जीपछिरिङ लामाले राज्यले काम लगाएपछि व्यवसायीहरूको रकम भुक्तानी गर्नुपर्ने बताए।
कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले व्यवसायीका जायज माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
धर्ना कार्यक्रम सुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीको आन्दोलनलाई बेवास्ता गरे सशक्त कार्यक्रम अघि सार्ने बताए।
निर्माण व्यवसायीहरूले काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप, ठेक्काको मूल्य समायोजन गर तथा बीमा निर्देशिका २०७८ खारेजलगायतका माग राखेर आन्दोलन गरिरहेका छन्। यस्तै उपभोक्ता समितिबाट हुने निर्माण कार्यसम्बन्धी नियम खारेज, सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत कार्यको रोक हुनुपर्ने पनि उनीहरुको माग छ।