फ्याब ल्याबः जहाँ दिइन्छ आइडियालाई व्यावसायिक आकार, जोड्दैछ नेपालीलाई विश्व सञ्जालमा

बिजमाण्डू
२०८० साउन ११ गते ०६:१६ | Jul 27, 2023
फ्याब ल्याबः जहाँ दिइन्छ आइडियालाई व्यावसायिक आकार, जोड्दैछ नेपालीलाई विश्व सञ्जालमा


काठमाडौं। ललितपुर पुल्चोकस्थित इनोभेसन हब ‘इम्प्याक्ट हब नेपाल’मा रहेको फ्याब ल्याब पुग्दा पल्लव श्रेष्ठ र उनका सहकर्मी थ्रीडी प्रिन्टरमा सिटी (ह्‍वीसल) बनाउँदै थिए।

Tata
GBIME
NLIC

साइडको कम्प्युटरमा कोड सेट गरेर दिइएको निर्देशनअनुसार नै मेसिनले पोलिमर प्लास्टिकको धागोलाई थ्रीडी सिटीको आकारमा परिणत गर्दै थियो।

तीन भागमा छरिएको यो डिजिटल फ्याब्रिकेसन प्रयोगशालामा विभिन्‍न मेसिन छन्, जसलाई कोडद्वारा निर्देशन दिएर विभिन्न सामानहरु बनाउन प्रयोग गरिन्छ। सामान्य सिटीदेखि बायोरियाक्टर मेसिनसम्म यहाँ बनेका छन्।

विद्यार्थी, अनुसन्धानकर्ता, उद्यमीले यो प्रयोगशालामा उपलब्ध मेसिन प्रयोग गरेर आवश्यकताअनुसार विभिन्न सामानहरु बनाउन सक्छन्।

फ्याब ल्याब नेपालका टेक्निकल प्रमुख पल्लवले यसलाई साना स्टार्टअप वा जो कोहीको पनि नवीनतम आइडियालाई परीक्षण गर्ने उपयुक्त ठाउँ भनेर बुझाउने गरेका छन्।

आइडिया परीक्षणस्थल

फ्याब ल्याब स्थानीय प्रयोगशालाहरुको विश्वव्यापी सञ्जाल हो, जहाँ नयाँ आइडियामा काम गर्न चाहनेलाई डिजिटल र आधुनिक डिजाइनका लागि उपकरणहरुको पहुँच प्रदान गरेर आविष्कार र नयाँ उत्पादन सम्भावना परीक्षण गरिन्छ।

यसको सुरुवात सन् २००१ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) बाट भएको हो। अहिले फ्याब ल्याब संसारका १२० देशमा छन्।

पल्लव श्रेष्ठ यसरी बुझाउँछन्, ‘यो इम्प्याक्ट हबको एउटा कार्यक्रम हो। मुख्यत: एक कम्युनिटी स्पेस हो, जहाँ विद्यार्थी, अनुसन्धानकर्ता, सामान्य व्यक्ति, उद्यमीले ल्याबमा उपलब्ध मेसिन प्रयोग गरेर आफ्नो आइडिया टेस्ट गर्न सक्छन्।’

यसमा ल्याबका टेक्निकल अफिसर शशांक दिवानले थपे, ‘मानौँ तपाईको घरको ट्वाइलेटको फ्लस बिग्रियो, बजारमा किन्न पाइदैन। त्यो समस्या लिएर तपाई यहाँ आउन सक्नु हुन्छ। तपाईलाई त्यो सामान डिजाइन गर्न ज्ञान हुनैपर्छ भन्‍ने पनि छैन, न त यहाँ भएका केही मेसिन चलाउने सीप। यहाँ आएपछि हामीले आवश्यकताअनुसार डिजाइन गरेर बनाउन मिल्छ।’

त्यस्तै, उद्यमीहरुको लागि यो आफ्नो आइडिया टेस्ट गर्ने उपयुक्त ठाउँ भएको पल्लव सुनाउँछन्। उनले च्याउ बायो र कारखाना समूहको उदाहरण दिए, ‘च्याउ बायोले यही सबै प्रोटोटाइप बनाएर टेस्ट गरेर दुइटा ठूलो मेसिन त इन्स्टल पनि गरिसकेका छन्।’

कारखाना समूहले ४० पिस गेमिङ डिभाइसहरु यही बनाएर विद्यार्थीलाई वितरण गरेको उनी सुनाउँछन्। पल्लवले भने, ‘यसको लागि ज्ञान र सीप चाहिन्छ। जुन सबैसँग नहुन सक्छ। आइडियालाई फ्याब्रिकेसन सीपसँग मिलाएर काम गरे प्रयोगकर्तालाई नयाँ कुरा थाहा हुन्छ र हामीलाई पनि।’

फ्याब ल्याबले आधुनिक र विकसित उपकरण र सीप क्षमता इच्छुकलाई उपलब्ध गराउँछ। यसले विभिन्न सामान बनाउन सम्भव पार्दछ। व्यक्ति तथा परियोजनाहरुमा साझेदारी गर्न पनि सहज बनाउँछ।

फ्याब ल्याब नेटवर्कले एउटा प्रयोगशालाभित्र भएका सबै उपकरणहरुका साथसाथै शैक्षिक, प्राविधिक, वित्तीय र परिचालनको सहायता पनि उपलब्ध गराउँछ। फ्याब ल्याबमा व्यावसायिक वस्तुका प्रोटोटाइप तयार पार्न सकिन्छ। यहाँ पुगेकाहरुले जे नयाँ गर्न चाहन्छन् तिनका नमुना तयार पार्न सकिन्छ।

अन्तर्राष्ट्रिय सञ्जाल भएको ल्याब नेपालमा कसरी ?

फ्याब ल्याब नेपालमा कसरी आयो भन्ने प्रसंग रोचक छ। सन् २०१८ मा नेपाली कम्युनिटियर (हाल नाम परिवर्तन गरेर इम्प्याक्ट हब नेपाल)मा मिनी मेकर फेयर भएको थियो। कार्यक्रममा विभिन्न सरोकारवालाको उपस्थितिमा नेपाल तथा विदेशबाट इनोभेटर तथा आर्टिस्टहरुले आफ्नो आविष्कार, आइडिया र उत्पादन प्रदर्शनी गरेका थिए।

त्यतिबेला नवीनतम प्रविधि र डिजाइनमार्फत मानवीय आवश्यकता पुरा गर्न अन्तर्राष्ट्रियस्तरमा काम गरिरहेको संस्था फिल्डरेडीका प्रतिनिधिले पनि उक्त फेयर अवलोकन गरे।

फिल्डरेडी तत्कालिन नेपाली कम्युनिटियरको सहयोगी पनि थियो। फिल्डरेडीका प्रतिनिधि भुटानको फ्याब ल्याब (फ्याब्रिकेसन ल्याबेटोरी) हेरेर आएका थिए।

मिनी मेकर फेयरमा उनीहरुले साइलबाट मकै छोडाउने मेसिन, सोलारबाट चल्ने डीआईवाई ओभन, सोलारबाट चल्ने वाटर पम्प, भर्चुअल रियालिटीबाट नेपाल यात्रा गर्ने भीआर ग्याजेट, भूकम्प बारेका जानकारी गराउने गेम लगायतका नवीनतम प्रविधि देखे।

यो प्रदर्शनीबाट नै फिल्डरेडीका प्रतिनिधिले यहाँको आयडिएटरको सम्भावना र आवश्यकता दुवैसँग राम्ररी अवगत हुन पाए। पल्लव श्रेष्ठ भन्छन्, ‘सामान्य टुल्सबाट नै धेरै विद्यमान समस्या समाधान गरेको देखेर उहाँले नेपाली कम्युनिटियरलाई फ्याब ल्याब होस्ट गर्ने की भनेर प्रस्ताव राख्‍नुभयो।’

फ्याबल्याब आवश्यक छ/छैन भनेर यूटोपिया, कारखाना, किङ्स कलेज, काठमाडौं विश्वविद्यालयको डिजाइन ल्याब लगायत सबै सरोकारवालासँग बसेर छलफल भयो। अन्तत: खाँचो रहेको निष्कर्ष आएसँगै फ्लाब ल्याब नेपाल स्थापना गर्न काम अघि बढेको हो।

यसपछि कुन कुन मेसिनको आवश्यक छ भनेर टुंगो लगाउन, डकुमेन्टेसन गर्न र फ्लेटफर्मको विस्तृत डिजाइन गर्न नै करिब तीन वर्ष लाग्यो। यसका लागि फिल्डरेडी संस्थाको नेपाल प्रतिनिधि प्रदिता प्रधान, नेपाली कम्युनिटियरबाट वाशिंगटन विश्वविद्यालयका सहायक प्राध्यापक बेन स्पेनसरलाई साथ दिन मेकानिकल इन्जिनियर पल्लव पनि आबद्ध भए।

कमोडिटी ग्रान्टमा आउने मेसिनहरु भएकाले कागजी काम निकै थियो। सँगसँगै फ्याब ल्याबको लागि ठाउँ पनि तयार बनाउनु थियो।

पल्लबले सुनाए, ‘बेन स्पेनसरले कुन मेसिन कहाँ राख्‍ने भनेर लेआउट तयार पार्नु भयो। पछि डिटेलिङमा हामी मिलेर गर्‍यौं। यो ल्याब तयार बनाउन अनुदानमा आएको १४ सिपिङ कन्टेनरलाई एकमाथि अर्को राखेर र झ्यालढोका, भेन्टिलेसन, इन्सुलेसन राखेर बस्न लायक बनायौं।’

सन् २०२१ फेब्रुअरीमा ल्याबको औपचारिक उद्‍घाटन भयो। यो बीचमा पनि फ्याब ल्याब नेपालले एचडीसी (ह्‍युमेनिटेरियन डिजाइन च्यालेज) कार्यक्रम चलायो।

पल्लवले बुझाए, ‘यसमार्फत हामीले चार प्रदेशमा डिजिटल फ्याबब्रिकेसनसम्बन्धी तालिम गरायौँ। जसबाट ल्याबको आवश्यकता कति रहेछ भन्नेमा हामी थप विश्वस्त भयौँ।

नेपाल कम्युनिटरले फिल्ड रेडीसँगको साझेदारीमा र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को सेन्टर फर बिट्स एण्ड एटम्स, डसल्टको सिस्टम सोलिड वर्क्स, र युकेएडको फ्रन्टियर टेक्नोलोजी लाइभ स्ट्रिमिङ कार्यक्रम लगायतका दाताहरुको सहयोगमा फ्याब ल्याब नेपाल सुरु भएको हो।

यसले खासगरी स्टार्टअपमा आधारित नयाँ केही गर्न चाहनेका लागि डिजिटल फ्याबब्रिकेसन प्रविधिको पहुँच बढाउँछ। फ्याबब्रिकेसन प्रविधियुक्त ल्याब नेपालमा निकै कम छन्। विशेषगरी विश्वविद्यालयका केही सीमित क्याम्पसमा मात्र छन्। तर यी प्रयोगशालाहरु त्यहाँको विद्यार्थीहरुको लागि मात्र खुल्ला हुन्छ।

यसले गर्दा नेपालको कृषि, उत्पादन, डिजाइन, प्याकेजिङ र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) लगायतका उदीयमान क्षेत्रहरूका लागि महत्त्वपूर्ण औद्योगिक उत्पादन विकास गर्नमा ठूलो खाडल छ। खाडल भर्न पनि फ्याब ल्याब नेपालले मद्दत गर्दै आएको पल्लव सुनाउँछन्।

फ्याब ल्याबसँग केही मिल्दोजुल्दो महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र पनि हो। तर दुवैको काम गराइमा फरक छ। फ्याब ल्याबको विश्वव्यापी सञ्जाल भएकाले यहाँका प्रोडक्ट डिजाइनमा एक्सपोजर धेरै हुने पल्लवको विश्वास छ। 

डिजिटल फ्याब्रिकेसनको पहुँच विस्तार

उनी डिजिटल फ्याबब्रिकेसनको फाइदा बताउँछन्, ‘प्रमुख भनेको त एकुरेसी नै हो। एक पटक प्रोडक्ट डिजाइन गरेपछि त्यसलाई फेरि फेरि बनाउन पर्दा पुरानो नै सेभ भएको डिजाइन डाटा/कोड हालेर फ्याब्रिकेट गर्न/ बनाउन सकिन्छ।’

कुनै पनि स्टार्टअप एक नवीनतम आइडियाबाट सुरु हुन्छ। तर यस्ता उद्यमीहरुसँग स्रोतसाधन र लगानीको अभाव हुन्छ। ठूला-ठुला उत्पादक कम्पनीहरुले आइडिया परीक्षणका लागि एक/दुईटा प्रोटोटाइप बनाउन कसैलाई पनि दिँदैनन्। कोही सुरुमा नै १००० पिस बनाउन पर्ने सर्त राख्छ। कतिसँग त प्रोडक्ट बनाउनका लागि आवश्यक मेसिन र ज्ञान पनि हुँदैन।

यसले गर्दा धेरै नवीनतम आइडियाहरु ओझेलमा पर्ने गर्छन्। यस्ता कम्पनीहरुको लागि फ्याब ल्याब नेपालजस्ता संस्था आवश्यकता बनेको छ। भुटान सरकारले आफ्नै लगानीमा ६ वटा फ्याब ल्याब स्थापना गरेको छ।

सामुदायिक संसाधन भएकाले यो ल्याब विद्यार्थी, उद्यमी, युवा, साना व्यवसायी, विकास साझेदार, तालिम संस्थान, विश्वविद्यालय लगायत जो कोहीका लागि पनि खु्ल्ला छ। केही सेवा शुल्क तिरेर वा सहुलियत सदस्यता लिएर सबैले फ्याब ल्याबको सेवा प्रयोग गर्न सकिने पल्लव बताउँछन्।

फ्याब ल्याब नेपालको अनुभवी र दक्ष टोलीले डिजिटल डिजाइन (आफूले खोजेको जस्तो प्रोडक्ट डिजाइन गर्न), डिजिटल फ्याबब्रिकेसन, इलेक्ट्रोनिक्स र उत्पादनमा सहयोग प्रदान गर्दै आएका छन्।

यसले सीप निर्माण, उद्यमशीलता र विविध समूहहरूको जीविकोपार्जन विकासमा योगदान पुर्‍याउने पल्लब र शशांक विश्वास राख्छन्।

फ्याब ल्याब नेपालले नै अहिले विशेषगरी इन्जिनियरिङका विद्यार्थी साथै स्कूले विद्यार्थीहरु लक्षित गरी विभिन्न दाता संस्थासँग मिलेर तिन तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ।

फ्याब ल्याब नेपालसँग थ्रीडी प्रिन्टर, मिलिङ मेसिन, सीएनसी मेसिन, लेजर कटर, पावर र ह्‍यान्ड टूल्स, इलेक्ट्रोनिक्स कम्पोनेन्टहरू, मोल्डिङ र कास्टिङ, विनाइल कटर, डिजिटल एम्ब्रोइडरी मेसिन लगायतका उपकरणहरु छन्।

यी उपकरण प्रयोग गर्न वा प्रयोग गरेर केही प्रोडक्ट निकाल्न यसमा लाग्ने समय, ल्याबका जनशक्तिले गर्नुपर्ने डिजाइन, म्याटरियल कति लाग्यो इत्यादि हेरेर शुल्क बुझाउनुपर्ने पल्लवले बताए।

सीएनसी मेसिन प्रयोग गरेको एक घण्टाको १६०० देखि १७०० रुपैयाँ छ भने लेजर कटर प्रयोग गरेको प्रति मिनेट २७ रुपैयाँ छ। थ्रीडी प्रिन्टिङको शुल्क प्रतिमिनेट ५ रुपैयाँ छ।

हाल दैनिक करिब १० जना क्लाइन्टले फ्याब ल्याबको सेवा प्रयोग गरेर आफ्नो प्रोटोटाइपमा काम गरिरहेका उनले बताए।

पल्लवले भने, ‘अहिले हामी यहाँको फ्लो बढाउन र एसटीएम (स्टेम) एजुकेसनमा बढी केन्द्रित भएर तालिमहरु चलाउने तयारी गर्दैछौँ।’