
काठमाडौं। वरिष्ठ उद्योगपति एवं समाजसेवी बनवरीलाल मित्तलको स्मृतिग्रन्थ ‘बनवरीलाल मित्तल एक प्रेरणा पुरुष’ सार्वजनिक भएको छ। श्री एयरलाइन्सका संस्थापक अध्यक्षसमेत रहेका मित्तलको जीवनीमा आधारित स्मृतिग्रन्थको मंगलबार एक कार्यक्रमबीच मन्त्रिपरिषद्का पूर्वध्यक्ष खिलराज रेग्मीले लोकार्पण गरे।
मित्तलको स्मृतिमा बनवरीलाल स्मृतिग्रन्थ प्रकाशन समितिले प्रकाशनमा ल्याएको उक्त ग्रन्थमा ख्यातिप्राप्त विभिन्न व्यक्तित्वहरुको एक सय ४७ वटा लेख समेटिएका छन्। ती लेखमा राजनीतिज्ञदेखि उद्योगपति, विभिन्न पेसा र व्यवसायमा आबद्ध विशिष्ट व्यक्तिले मित्तलको व्यक्तित्व र जीवनसँग जोडिएका विषय स्मृतिग्रन्थमा समावेश गरिएको छ ।
साहु हनुमानप्रसादका छोरा बनवरीलालको विसं १९९२ चैत १० गते जन्म भएको थियो। उनको विसं २०७२ मङ्सिर ९ गते निधन भएको थियो। उद्यमशीलताका बुहविधाबाट मित्तलको व्यावसायिक जीवन प्रारम्भ भएको थियो। निर्माण व्यवसाय, पूर्वाधार विकास, व्यवसायका अतिरिक्त पश्मिना, गलैँचा, तयारी पोसाक, चिया खेतीमा उनी संलग्न थिए।
६४ वर्षको उमेरमा श्री एयरलाइन्सको स्थापना गरी हवाइ सेवा उद्योगमा पनि मित्तलले उल्लेखनीय योगदान गरे।
पुस्तक सार्वजनिकका अवसरमा रेग्मीले मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा मित्तलको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै उनको जीवन र तत्कालीन परिवेश सङ्ग्रहित ग्रन्थ उपयोगी हुने बताए।
मित्तलजस्तो बहुआयामिक व्यक्तित्वका बारेमा समेटिएको ग्रन्थले समाजलाई नयाँ आयाम दिने विश्वास रेग्मीले व्यक्त गर्।
समीक्षक प्राध्यापक शिवगोपाल रिजालले मित्तल बहुआयामिक व्यक्तित्व भएको र उनले आर्थिक, सामाजिक र सांस्कृति क्षेत्रमा अतुलनीय योगदान गरेको उल्लेख गरे।
उद्यमी एवं साहित्यकार वसन्त चौधरीले मित्तलको नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताए।
बनवरीलाल स्मृतिग्रन्थ प्रकाशन समितिका संयोजक एमडी अग्रवालले उद्यमी, परोपकारी, समाजसेवी, पर्यटन अभियन्ता, धार्मिक तथा सांस्कृतिक समाज सुधारका रुपमा परिचित मित्तलको नेपालको आर्थिक, धार्मिक र सामाजिक क्षेत्रमा प्रभावशाली भूमिका रहेको उल्लेख गरे।
श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तलले बनवरीलाल कुशल अभिभावक, सफल उद्यमी, सामाजिक र धार्मिक व्यक्तित्व रहेको र उनको प्रेरणाबाट उद्योग व्यवसायलाई निरन्तर अघि बढाइएको बताए।