नेपाली बजारमा स्कुटर भर्सेस बाइक: बाइकलाई उछिन्दै स्कुटरको बिक्री बढ्यो

शुक्र गिरी
२०८० साउन ८ गते ०८:४० | Jul 24, 2023
नेपाली बजारमा स्कुटर भर्सेस बाइक: बाइकलाई उछिन्दै स्कुटरको बिक्री बढ्यो


काठमाडौं। बिक्रीमा स्कुटरले मोटरसाइकललाई जितेको छ। नेपाली बजारमा आयात र खरिदबिक्री स्कुटरको उल्लेख्य परिमाणमा बढेको हो। गत आर्थिक वर्ष २०७९/८० मा मोटरसाइकलका तुलनामा स्कुटरको बिक्री ६० प्रतिशत बढेको तथ्यांकमा देखिएको छ।

Tata
GBIME

भन्सार विभागबाट आयात र यातायात कार्यालयको दर्ता तथ्यांक हेर्दा स्कुटरको बजार बढेको पुष्टि हुन्छ। भन्सार विभागको तथ्यांकले नेपालमा मोटरसाइकलभन्दा स्कुटरको आयात धेरै भएको देखाएको छ।

२०७७/७८ मा दुई पांग्रेको बजार कारोबारमा स्कुटर बिक्रीको योगदान ३६ प्रतिशत थियो। तर यो वर्ष भने स्कुटरको बजार हिस्सा ७ प्रतिशत बढेर ४३ प्रतिशत पुगेको छ। तर चार महिनाको तुलना गर्ने हो भने स्कुटरको बजार हिस्सा ४७ प्रतिशत पुगेको अटो व्यवसायीहरुले बताएका छन्।

चालु आर्थिक वर्षको ११ महिनामा मोटरसाइकल र स्कुटर गरी १ लाख ४ हजार २४८ वटा आयात भएका छन्। जसमा ९७ सीसीदेखि १२५ सीसीसम्मका स्कुटरको आयात ६३ हजार ६८० वटा भएको छ। मोटरसाइकल आयात ३४ हजार वटा हाराहारी छ।

आयातित दुई पांग्रे साधनमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको संख्या ६ हजार ९ सय ८६ वटा छ भने पेट्रोल इन्जिन दुई पांग्रे ९७ हजार २ सय ६२ वटा छन्। अघिल्लो वर्षको तुलनामा आयात ६० प्रतिशतले घटेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष यो अवधिमा १ लाख २० हजार युनिटको हाराहारीमा बाइक तथा स्कुटर आयात भएका थिए।

यस्तै यातायात कार्यालयमा पनि स्कुटरको दर्ता धेरै भएको छ। आर्थिक वर्ष २०७९/८० मा २३ हजार ७ सय ४ वटा स्कुटर दर्ता भएका छन्। मोटरसाइकल ७ हजार ३ सय ७६ दर्ता भएका छन्। यस्तै, १८ हजार ५६३ वटा स्कुटर सरुवाका रुपमा दर्ता भएका छन्। सरुवा दर्ताका मोटरसाइकलको संख्या १३ हजार २ सय ९७ छ। यातायात कार्यालयमा यो वर्ष मोटरसाइकल र स्कुटर ६२ हजार ९ सय ४ वटा दर्ता भएका छन्।

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङले पछिल्लो समय १२५ सीसीको एनटर्क स्कुटरको बिक्री बढ्दा टीभीएसको बिक्रेता जगदम्बा मोटर्सको कारोबार बढेको जनाएको छ। नेपालमा स्कुटर बिक्रीमा अहिले टीभीएस निकै अगाडि छ। बिक्री सुरु गरेको ३ वर्षको अवधिमा एनटर्क मात्र ५० हजार बिकेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अहिले ६५ प्रतिशत स्कुटर बिक्री हुदा ३५ प्रतिशत मात्र बाइकहरुको बिक्री भइरहेको छ। स्कुटरको माग निकै बढेको छ।

अहिले जगदम्बा मोटर्सले होन्डा, बजाज, हिरो, यामाहा लगायतका ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। बजाजसँग भने स्कुटरको मोडल छैन। टीभीएसको एनटर्कसँग सिधा प्रतिस्पर्धा गर्ने भनेको होन्डाको डिओ स्कुटर हो। साथै सुजुकी र यामाहाका केही मोडलका स्कुटरहरुले पनि प्रतिस्पर्धा गरिरहेका छन्।

एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले स्कुटर बिक्री बढ्नुमा धेरै कारणहरु देखेका छन्। नेपालबाट दिनानुदिन बाहिर जानेको संख्या बढ्दो छ। पुरुष अत्यधिक बाहिरिएका छन्। घरमा स्कुटर भए परिवारका जो कसैले सजिलै चलाउन सक्छन्।

उनका अनुसार एउटा मुख्य कारण स्कुटर चलाउन सजिलो र बाइकभन्दा सस्तो पर्छ। स्कुटरहरु विभिन्न मोडलमा ३ लाखभन्दा कम मूल्यमा खरिद गर्न पाइन्छ। ‘पहिले श्रीमान मोटरसाइकल र श्रीमती स्कुटर चलाउने गरी किन्ने चलन थियो, अहिले एउटा स्कुटर भए दुवैलाई काम चल्ने भएको छ,’ उनले भने, ‘स्कुटर पावरफुल पनि आएका छन्।’

नेपाल कुल जनसंख्यामा लगभग ३ करोडको हाराहारीमा छ। केन्द्रिय तथ्यांक विभागका अनुसार ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन्। अहिले लगभग ६५ लाख मानिसहरु विदेशमा छन्। बाहिर भएकामा ८२ प्रतिशत पुरुष र १८ प्रतिशत महिला छन्।

नेपालमा अहिले २ करोड २७ लाख जनसंख्या भौतिक रुपमा सक्रिय छन्। जसमा बाहिर धेरै पुरुष बाहिर गएका कारण ६० प्रतिशत महिलाको जनसंख्या सक्रिय छ। बाहिर गएका पुरुषले रेमिटेन्स पठाउदा नेपालमा बसेका उनीहरुका श्रीमती तथा परिवारहरुले खर्च गर्ने भएकाले उनीहरु स्कुटर किन्न रुचाउने गरेको देखिएको उनले बताए।

‘जस्तै अहिले श्रीमान नआउदा श्रीमतीले चढ्ने अनि श्रीमान बाहिरबाट आएपछि उसले पनि चढ्न मिल्ने गरी स्कुटर खरिद गर्न रुचाइएको हो,’ उनले भने।  

यामाहाको पनि बाइकको भन्दा स्कुटर बिक्री यो वर्ष बढेको उनले बताए। उनका अनुसार यामाहाको स्कुटर ६० प्रतिशत बिक्री भएका छन् भने बाइक ४० प्रतिशत मात्र बिक्री भएको छ।

यस्तै सुजुकीको पनि अहिले ५५ प्रतिशत स्कुटर र ४५ प्रतिशत बाइक बिक्री हुने गरेको कम्पनीले जनाएको छ।

सबै दुई पाङ्ग्रे सवारी बिक्रेताहरुको अघिल्ला वर्षहरुमा भने बाइकको बिक्री धेरै हुने र स्कुटरको बिक्री थोरै हुने गरेको थियो। तर यो वर्षदेखि सबै ठिक विपरित भएको अटो व्यवसायीहरुको भनाइ छ। यस्तै पछिल्लो समय विद्यूतीय स्कुटरको बिक्री पनि बढेको छ। यो वर्ष ७ हजार युनिट विद्युतीय स्कुटर आयात भइसकेका छन्।

यस्तै अर्को कारण पेट्रोलियम पदार्थको मूल्य आकाशिनु पनि मूख्य कारण रहेको व्यवसायीहरुको भनाइ छ।

स्कुटर नहुने ब्रान्डको व्यापारमा धेरै गिरावट

तर बाइकको बिक्री घट्दा बजाज जस्ता स्कुटर नहुने ब्रान्डलाई धेरै समस्या भएको छ। बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको व्यापारमा गिरावट आएको छ। यो ब्रान्डसँग स्कुटर नभएका कारण यस्तो भएको कम्पनीको भनाइ छ।

कम्पनीले धेरै अपडेटेड मोडलका बाइकहरु नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। तर कम्पनीले सोचेको जस्तो बिक्री भएको छैन। अहिले सबैभन्दा धेरै मार बजाजलाई परेको छ।

कम्पनीले दुई वर्ष अगाडि एक लौटी रुपमा ६५ हजार युनिट बाइक बिक्री गरेको थियो। तर यो वर्ष कम्पनीले मुस्किलले २० हजार युनिट बाइक बिक्री गरेको छ।

कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर अमृत चालिसेका अनुसार कम्पनीको व्यापार घटेको छ। यसमा आर्थिक मन्दी र ऋण सहज नुहदा पनि धेरै ग्राहकहरुले बाइक खरिद गर्न सकिरहेका छैन्। उनले अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बिक्रीमा गिरावट आएको उनको भनाइ छ।

विदेशिने जनसंख्या बढिरहँदा बजाजका बाइक बिक्रीमा असर गरेको उनी बताउँछन्। ‘हाम्रो बाइकहरु केटाहरुले मात्र धेरै चढ्ने गर्छन्। त्यही सेग्मेन्टका बाइकहरु छन्। स्कुटर हामीसँग छैन,’ उनले भने, ‘स्कुटरको बिक्री बढेको छ, हामीसँग छैन। बाइक बिकाउन धेरै संघर्ष गर्नु परेको छ।’

यस्तै जावा, क्रसफायर, याज्दी बीएमडब्लु, केटीएम जस्ता मोडलहरुको बिक्रीले अपेक्षित गति लिन गाह्रो परेको व्यवसायीहरु बताउँछन्। रोयल इन्फिल्डले भने नेपालमा एसेम्बल प्लान्ट राखेपछि मूल्य घटाएको छ, जसका कारण बिक्री अरुभन्दा केही बढेको देखिएको छ।

स्कुटर बहुउपयोगी

मोटरसाइकलका तुलनामा हलुका र परिवारका वयस्क महिला पुरुष जो कसैले चलाउन सक्ने भएकाले स्कुटर बहुउपयोगी देखिएको छ। त्यसैले पनि स्कुटरको खरिदबिक्रीले गति लिएको व्यवसायी बताउँछन्।

स्कुटर पहिलेजस्ता पनि छैनन्। धेरै सुविधा थपिएर आएका छन्। उत्पादक कम्पनीले फिचरहरु थप्ने र नयाँ मोडलका स्कुटरहरुमा बाइकको जस्तै पावर भएको इन्जिन उपलब्ध गराउने भएकाले सबै वर्गलाई आकर्षित गरेको छ।

सामान ओसार्नेदेखि बच्चाहरुलाई चढाएर यात्रा गर्न समेत सजिलो भएकाले स्कुटर धेरैको रोजाइमा पर्न सफल भएको हो।

घरमा एउटा स्कुटर भयो भने चाहिने खाद्यान्नदेखि ग्यास सिलिन्डर समेत ओसार्न सजिलो हुन्छ।

कुन महिना कति दर्ता भए ?

गत आर्थिक वर्ष विभिन्न यातायात कार्यालयमा दर्ता भएका दुई पाङ्ग्रे सवारीमा स्कुटरको संख्या दोब्बरजस्तो देखिएको छ।

जसमा गत वर्षको साउनमा ४ हजार ४ सय ६३ वटा स्कुटर दर्ता हुँदा बाइक जम्मा ६ सय ९३ वटा मात्र दर्ता भएका छन्। जसमा विद्युतीय स्कुटरको संख्या ४ सय ३ र विद्युतीय बाइकको संख्या ४६ छ।

यस्तै, भदौमा पनि ४ हजार ४ सय ३७ स्कुटर र ९ सय २१ वटा मोटरसाइकल दर्ता भएका छन्। यो महिना ४ सय ५७ वटा विद्युतीय स्कुटर र ६८ वटा बाइक दर्ता भएका छन्। असोजमा भने बाइकको बिक्री बढेको छ। उक्त महिना १ हजार ७ सय ४० वटा बाइक दर्ता भएका छन्। यो महिना १ हजार ७१ वटा स्कुटर बिक्री भएका छन्। यसमा ३ सय ७१ स्कुटर विद्युतीय छन्।

कात्तिकमा फेरि बाइकको बिक्री घटेर स्कुटरको बढ्न थालेको छ। यो महिना २ हजार ५ सय २० वटा स्कुटर दर्ता भएका छन् भने ६ सय ८६ वटा बाइक दर्ता भएका कार्यालयले जनाएको छ। यसमा विद्युतीय स्कुटर ५ सय ४० र बाइक ४६ वटा दर्ता भएका छन्।

यसैगरी, मंसिरमा ८ सय ३० स्कुटर र ४ सय १७ वटा बाइक दर्ता भएका छन्। यो महिना विद्युतीय स्कुटर धेरै दर्ता भएका छन्। तर पुसमा भने पेट्रोल इन्जिन स्कुटर दर्ता भएका छैनन्। बाइक ४० युनिट दर्ता भएका छन्। यो महिना पनि विद्युतीय स्कुटर तथा बाइक उल्लेख्य संख्यामा दर्ता भएका छन्। जसमा ५ सय २६ वटा विद्युतीय स्कुटर र १०३ वटा बाइक दर्ता भएका छन्।

यसैगरी, माघ महिना विद्युतीय र पेट्रोल गरी जम्मा ८ सय २२ वटा स्कुटर दर्ता हुँदा ४ सय ८ युनिट मात्र बाइकहरु दर्ता भएका छन्। फागुनमा पनि स्कुटरको दर्ता बढेर १ हजार १ सय १७ वटा पुगेको छ। जसमा ३ सय ३१ वटा बाइक छन्। यो महिना विद्युतीय स्कुटर र बाइकहरु कुल १ हजार ४ सय ४८ वटा दर्ता भएका छन्।

यस्तै, चैतमा १ हजार ६ सय ८६ स्कुटर र ५ सय ६४ वटा बाइक दर्ता भएका छन्। साथै वैशाखमा २ हजार २ सय २८ स्कुटर र ४ सय ५ बाइक दर्ता भएका छन्। यो महिना विद्युतीय स्कुटर र बाइक २ हजार ६ सय ३३ वटा दर्ता भएका छन्।

यो आर्थिक वर्षको जेठमा २ हजार २ सय ४३ स्कुटर र ५ सय २८ वटा बाइक दर्ता भएका छन्। यस्तै असारमा १ हजार ७ सय ६१ स्कुटर र ५ सय ४ वटा बाइक दर्ता भएका छन्।