
काठमाडौं। बुधवार सुनको मूल्य बढेको छ। ६ सय रुपैयाँले बढेर बुधवार १ लाख १३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ।
त्यस्तै, तेजावी सुन १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ थियो।
साउन २९ गतेदेखि प्रतितोला १४ सय ८० रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य बुधवार १४ सय ९० रुपैयाँ पुगेको छ।
एक महिनादेखि बजारमा सुनचाँदीको कारोबार न्यून रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।
अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव हुँदा सुनको कारोबार प्रभावित छ। उच्च भएको मूल्य फराकिलो अंकले घटेको छैन।
कारोबार नै घटेपछि व्यापारीले बैंकबाट सुन उठाउन कम गरेका छन्। जसले गर्दा बैंकले आयात गरेको सुन स्टक बस्न थालेको छ।
मलमास सुरु भएपछि सुनको कारोबार झन घट्ने उनले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रतिऔंस १९७४.४४ डलर छ। साताको सुरुको दिन आइतबार प्रतिऔंस १९५५.७३ डलर थियो।
चाँदी आइतबार प्रतिऔंस २४.९५ डलर रहेकोमा बुधबार २४.९९ डलर कायम छ।