२५ मेगावाटको सेती जलविद्युत अन्तिम चरणमा, आगामी मंसिर अघि नै उत्पादन परीक्षण

बिजमाण्डू
२०८० जेठ २१ गते ०९:३६ | Jun 4, 2023
२५ मेगावाटको सेती जलविद्युत अन्तिम चरणमा, आगामी मंसिर अघि नै उत्पादन परीक्षण

कास्की। २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजना प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो।

Tata
GBIME
Nepal Life

आयोजना २०७७ भदौदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन छ। आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

उनका अनुसार ढिलोमा पनि मंसिरभित्र आयोजनाले व्यावसायिकरुपमा विद्युत् उत्पादन सुरु गर्नेछ। ‘जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन। १५ सय जना प्रवर्द्धकको लगानी छ, सुरुआती लागत बढेको छैन,’ उनले भने, ‘समयमै आयोजना पूरा गर्न खटिएका छौं।’

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १ सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ। पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका दुई वटा टर्बाइनमा खसालिने छ। सो आयोजना नदी जलप्रवाहमा आधारित छ।

कोरोना महामारीबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए। आयोजनाको म्याद विसं २०८१ साउनसम्म छ। सेती जलविद्युत् आयोजनामा ५ अर्ब लगानी छ। ३ अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपीओ जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ।

आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडवर्क्सको काम सकिएर पानी पठाउन सुरु भएको बताए। त्यसैगरी पाइपलाइनतर्फ १ सय ५० मिटर जति मात्र काम बाँकी छ।

सेती आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ।

विद्युतगृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ। प्रसारण लाइनमा १३ वटा टावर रहने छन्। हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताए। (रासस)