चर्को ब्याजले दुई दर्जन जलविद्युत कम्पनी नोक्सानीमा, यही अवस्था रहे धेरै लगानीकर्ता डुब्छन्

अन्जना सुवेदी
२०८० जेठ ९ गते १२:४५ | May 23, 2023
चर्को ब्याजले दुई दर्जन जलविद्युत कम्पनी नोक्सानीमा, यही अवस्था रहे धेरै लगानीकर्ता डुब्छन्


काठमाडौं। चर्को ब्याजदरका कारण जलविद्युत कम्पनी संकटमा पर्न थालेका छन्। ब्याजदरका कारण दुई दर्जन भन्दा बढी जलविद्युत कम्पनी नोक्सानीमा गएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत कम्पनी धमाधम नोक्सानीमा गएपछि जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण पनि घट्न थालेको छ। स्वतन्त्र ऊर्जा उत्पादक संस्था(इप्पान)का सदस्य उत्तम ब्लोन लामाका अनुसार चर्को ब्याजदरले जलविद्युतका लगानीकर्तासमेत हत्तोसाहित भएको बताए।

‘बनिसकेको आयोजनाको एक प्रतिशत ब्याजदर बढ्नु भनेको ३ प्रतिशत लाभांश घट्नु हो। औसत हामीले १० प्रतिशतमा लिएको ऋणको ब्याज अहिले १४ प्रतिशत पुगेको छ। जसले लाभांश शून्य नै बनाइदिन्छ,’ उनले बिजमाण्डूसँग भने,’निर्माण सम्पन्न नभएका आयोजनाहरुको लागत ब्याजदरका कारण ह्‍वातै बढ्छ। समग्रमा फाइनान्सियल जोखिम निकै बढाइदिने भएकाले ब्याजदर यही अवस्था रहे धेरै लगानीकर्ता डुब्छन्।’ उनका अनुसार अहिलेकै अवस्था अझै एक वर्ष रहेमा कुनै पनि परियोजना सर्भाइभ हुन सक्दैन।

बुद्धभूमि नेपाल हाइड्रोपावरका प्रबन्ध निर्देशक बलराम खतिवडाले ब्याजदरका कारण नयाँ परियोजना अगाडि बढाउन नसकिएको बताए। ‘चर्को ब्याजदर रहेमा व्यवसाय सरेन्डर गर्नुको विकल्प छैन,’ उनले भने।

हाइड्रोपावरको सेयर नबिक्ने अवस्था आउने

पछिल्लो केही समयदेखि जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको थियो। त्यही आधारमा ती कम्पनीका सेयरको भाउ पनि माथि गएका थिए। तर चर्को ब्याजले कम्पनी घाटामा जान थालेपछि विस्तारै आकर्षण घट्न थालेको छ।

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान जलविद्युतमा प्रतिफल आउन वर्षौ कुर्नुपर्ने अवस्था आएको बताउँदै अब साधारण सेयर पनि नबिक्ने अवस्था आउने बताउँछन्।

‘केही समयअघि १४/१५ करोडमा बन्ने आयोजना अहिले २५ करोड ३० करोड भन्दा कममा बन्दै बन्दैन। ब्याजदरका कारण लागत बढेको छ। हाइड्रोपावरका संस्थापकहरुमा १०/१२ वर्ष लगाएर बनाएको कम्पनीमा आइपीओ निकालेर निस्किन्छु भन्ने छ,’ उनले भने,’प्रतिफलको निश्चितता छैन। हकप्रद दिएर कहिलेसम्म धान्ने ? यही हिसाबले जाने हो भने जलविद्युत क्षेत्रमा भविष्य छैन। अब हाइड्रोपावरको सेयर बिक्री नहुने अवस्थामा आउँछ। ‘

ब्याजदरका कारण लागत बढ्दा नयाँ बन्ने योजनाहरु ८० प्रतिशत बन्द भइसकेको उनले बताए। पछिल्लो समय सेयर बजारमा सूचीकृत हुने कम्पनीहरुमा सर्वाधिक संख्या जलविद्युतको छ। नेप्सेमा ७३ वटा यही कम्पनीका सेयर सूचीकृत भएका छन्।

२४ कम्पनी नोक्सानीमा

नेप्सेमा सूचीकृत भएका कम्पनीमध्ये वित्तीय विवरण सार्वजनिक गरेका २४ कम्पनीहरु नोक्सानीमा देखिएका छन्।

यो मध्ये पनि माथिल्लो तामाकोसी जलविद्युत कम्पनी सर्वाधिक नोक्सानीमा छ। चैतसम्म यो कम्पनी २ अर्ब २ करोड नोक्सानीमा छ। गत वर्षको चैत मसान्तमा १ अर्ब ६५ करोड नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै वित्तीय खर्च बढेका कारण कम्पनीले नोक्सानी व्योहोर्नु परेको हो।

यस्तै शिव श्री हाइड्रोपावर २३ करोड नोक्सानीमा छ। न्यादी हाइड्रोपावर १५ करोड, हिमालयन पावर पार्टनर १० करोड, सिंगटी हाइड्रो इनर्जी ९ करोड ३१ लाख, लिबर्टी इनर्जी ७ करोड ९९ लाख र सानिमा मिडिल तमोर हाइड्रोपावर ५ करोड ९७ लाख नोक्सानीमा छन्।

२६ जलविद्युत कम्पनीको खुद नाफा घटेको छ।

११ हाइड्रो कम्पनीको नाफा बढ्यो

हाइड्रोपावर क्षेत्रले ब्याजदरको भारी बोकिरहेका बेला पनि केही कम्पनीहरु नाफा वृद्धि गरेका छन्। कम्पनीको ऋण कम भएकाले उनीहरुको कारोबार नाफामा देखिएको हो।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार ११ आयोजनाहरु नाफा बढेको छ। चिलिमे जलविद्युत कम्पनीले सर्वाधिक नाफा कमाएको छ।

चिलिमेले ५२ करोड ८९ लाख खुद नाफा कमाएको हो। जुन गत वर्षको तुलनामा १.३४ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड २० लाख खुद नाफा कमाएको थियो।

यस्तै बुटवल पावर कम्पनीले पनि गत वर्षको तुलनामा नाफा १२ प्रतिशतले बढाएको छ। कम्पनीले यो अवधिसम्म २६ करोड ८१ लाख खुद नाफा कमाएको हो। गत वर्ष सोही अवधिमा कम्पनीको नाफा २३ करोड थियो।

यस्तै राधी विद्युत कम्पनीले ८ करोड, हिमालयन हाइड्रोपावरले ८ करोड,  युनिभर्सल पावरले ६ करोड, ङादी ग्रुप पावरले ४ करोड ९९ लाख खुद नाफा कमाएका छन्।