
काठमाडौं। च्याटबट च्याटजीपीटी बनाउने कम्पनी ओपन एआईले आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीहरूमा देखिएका कमजोरीहरू बताइदिनेलाई पुरस्कार दिने घोषणाा गरेको छ। प्रणालीका गल्ती-कमजोरी रिपोर्ट गर्ने प्रयोगकर्ताहरूलाई २० हजार अमेरिकी डलरसम्म दिने भएको हो।
सोधेका कुराको जवाफ आर्टिफिसियल इन्टेलिजेन्सले दिने च्याटबटको प्रयोगकर्ताहरू संसारभर छोटो समयमै निकै बढेका छन्। नेपालमा पनि च्याटबट प्रयोगकर्ता निकै छन्। गत जनवरीमा सार्वजनिक एक रिपोर्ट अनुसार गुगल सर्चमा च्याटजीपीटीलाई सर्वाधिक सर्च गरिएको देशहरूको सूचीमा नेपाल दोस्रो स्थानमा थियो।
कम्पनीले मंगलबार ओपनएआई बग बाउन्टी कार्यक्रम सार्वजनिक गरेको छ। यसअन्तर्गत प्रयोगकर्ताहरूले रिपोर्ट गरेका गल्ती-कमजोरी (बग)हरूको गम्भीरताको आधारमा प्रतिबग २०० देखि २० हजार डलरसम्म दिइनेछ।
टेक्नोलोजी कम्पनीहरूले प्रायः प्रोग्रामरहरू र इथिकल ह्याकरहरूलाई उनीहरूको सफ्टवेयर प्रणालीहरूमा भएको बगहरू रिपोर्ट गर्न प्रोत्साहन गर्न यस्तै बग बाउन्टी कार्यक्रमहरू प्रयोग गर्छन्।
बग बाउन्टी प्लेटफर्म बगक्राउड अनुसार, ओपनएआईले अनुसन्धानकर्ताहरूलाई च्याटजीपीटीका केही फिचर तथा यसको प्रणालीहरूले थर्ड पार्टी एप्लिकेसनहरूसँग डेटा साझेदारी गर्ने ढाँचाको समीक्षा गर्न पनि लगाएको छ।
यो कदम इटालीमा गोपनीयता नियमहरूको संदिग्ध उल्लंघनका लागि च्याटजीपीटीलाई प्रतिबन्ध लगाइएको केही दिनपछि आएको हो। यसले अन्य युरोपेली देशहरूमा नियामकहरूलाई जेनेरेटिभ एआई सेवाहरू अझ नजिकबाट अध्ययन गर्न प्रेरित गरिरहेको छ।
च्याटजीपीटीलाई लन्च भएको पहिलो हप्तामा १० लाख जनाले चलाएका थिए। हाल यो संख्या बढेर सक्रिय प्रयोगकर्ता १० करोड पुगेका छन्। माइक्रोसफ्टले फण्ड गरेको च्याटजीपीटी वेबसाइटमा मासिक भिजिटरहरू एक अर्बको संख्यामा छन्। (रोयटर्सबाट साभार)