नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा भेषराज लोहनी निर्विरोध निर्वाचित

बिजमाण्डू
२०७९ चैत्र १८ गते २१:२० | Apr 1, 2023
नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा भेषराज लोहनी निर्विरोध निर्वाचित


काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा ग्रीनहिल सिटीका भेषराज लोहनी निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न महासंघको साधारण सभाले लोहनीलाई आगामी दुई वर्षका लागि अध्यक्ष चुनेको हो।

Tata
GBIME
Nepal Life

वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा तथा उपाध्यक्षमा  राजकुमार राई र विदुर धमला निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा विष्णु (ध्रुव) प्रसाद घिमिरे, सचिवमा रामसुन्दर बके र कोषाध्यक्षमा रोशनकुमार भोयद्यो पनि निर्विरोध नै निर्वाचित भएको छन्।

त्यसैगरी प्रदेशबाट प्रतिनिधित्व गर्ने निर्विरोध निर्वाचित ४ जना सदस्यहरुमा घनश्याम पोखरेल (कोशी प्रदेश), अरुण स्तोम त्रिपाठी (गण्डकी प्रदेश), बाबुराम अधिकारी (बागमती प्रदेश) तथा दशरथ पौडेल (लुम्बिनी प्रदेश) र निर्विरोध निर्वाचित २ जना खुला सदस्यहरुमा श्रीधर महरा क्षेत्री (दाङ) र पूर्णिमा राजभण्डारी (काठमाडौं) रहेको महासंघले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष लोहनीले आफूसहित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई निर्विरोध निर्वाचित गराई दिएकोमा महासंघका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिएका छन्। उनले महासंघमा आबद्ध सम्पूर्ण व्यवसायीहरुको हक हितका लागि अहोरात्र खटेर कार्य गर्ने दृढता व्यक्त गरेका छन्।

त्यस्तै, शनिबार आयोजित महासंघको प्रथम महासभाको उद्घाटन गर्दै सीमाविद् तथा नेपाल जग्गा तथा आवास विकास संघका संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या झण्डै ६६ प्रतिशत पुगेको परिप्रेक्ष्यमा जनताको आवासको अधिकारको प्रत्याभूति गर्नमा रियल इस्टेट व्यवसायीहरुको ठूलो योगदान रहने बताए।

यस्तै, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले जग्गा र हाउजिङ व्यवसायीहरुबीच कुनै भिन्नता नगरी यसलाई एक अर्काको परिपूरकको रुपमा लिएर व्यवसाय प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

सहरी विकास योजनाकार विपिन चित्रकारले रियल इस्टेट कम्पनीहरुले मात्र घरजग्गाको व्यवसाय संचालन गर्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे।

बन्द सत्रको समापन गर्दै सभापति तथा महासंघका तदर्थ कार्य समितिका अध्यक्ष मीनमान श्रेष्ठले छोटो अवधिमा भएको कार्य विवरण प्रस्तुत गर्दै घरजग्गाको व्यवसायिक कारोबारको विकास तथा विस्तार गर्न र यो व्यवसायलाई मर्यादित तथा व्यवस्थित बनाउन महासंघमा आबद्ध सबै एकजुट हुनुपर्ने बताए।