
काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि लागु गर्ने भनिएको ‘अल अपरेसन आइएफआर’ तत्कालका लागि स्थगित हुने भएको छ। आन्तरिक उडान सुरक्षा विस्तार अन्तर्गतको योजनाले उडान-अवतरणमा ढिलाइ र उडान संख्यामा गिरावट आउने देखिएपछि तत्कालका लागि स्थगित गरिएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
रात्रिकालीन उडानमा पर्याप्त यात्रु नभएका कारण तत्कालका लागि यो प्रणाली लागू गर्नका लागि थप अध्ययन गर्न लागिएको उनले जानकारी दिए।
‘हाम्रो विमानस्थलको क्षमता कम छ। आइएफआर गर्दा दुईवटा जहाजको सेपरेसनको टाइम वृद्धि हुन्छ। प्रक्रिया लामै हुन्छ। हामीले शनिबारबाटै यो प्रणाली लागू गर्ने भनेका थियौं। तर, वायुसेवा कम्पनीले आफू अझै तयार नभएको जनाएपछि केही समयका लागि स्थगन गरेका हौं,’ उनले भने।
सामान्यतया दैनिक २ सय ९० वटा उडान-अवतरण हुँदै आएकोमा यो प्रणाली लागु गर्दा उडान संख्यामै भारी गिरावट आएका कारण थप अधययन गर्न लागिएको उनले जानकारी दिए। आउँदो १५ तारिखसम्म थप अध्ययनका आधारमा यो प्रणाली लागू गर्ने योजना रहेको उनले बताए।
यो प्रणाली लागू गर्दा दैनिक १ सय २४ उडान-अवतरण घट्ने निष्कर्ष आएको उनले जानकारी दिए।
‘वायुसेवाहरु कमर्सियली भायबल हुन पर्यो। राति १२ बजे राखिएको उडानमा यात्रु नै आएनन् भने त्यसको अर्थ रहेन नि,’ उनले भने,’हाम्रो मुख्य उद्देश्य भनेकै हवाई सुरक्षा हो।’
के हो अल अपरेसन आइएफआर?
भिजिबिलिटी ५ किलोमिटरभन्दा बढी र बादल १५ सय फीट भन्दा माथि भएको अवस्थामा भिजुअल मेट्रोलोजिकल कन्डिसन (भीएमसी) उडान गर्न सकिन्छ। यस अन्तर्गत भीएफआर फ्लाइट गर्न सकिन्छ। तर, यही दुरी र उचाइ कायम नभएको अवस्थामा आइएफआर उडान गर्न सकिन्छ।
‘सुरक्षा सुदृढिकरणका लागि अल अपरेसन आइएफआर लागू गर्न लागेका थियौं। तर, वायुसेवा कम्पनीले केही समय मागेका छन्,’ उनले भने।
त्यसैले अनिवार्य गरिने भनिएको आइएफआर प्रणाली तत्कालका लागि स्थगन गरिने भएको हो। हाल मुलुकभर संचालित विमानस्थलमध्ये पोखरा, नेपालगञ्ज, चन्द्रगढी, जनकपुर, विराटनगर, काठमाडौं, धनगढी, भैरहवा, सिमरामा आइएफआर प्रणाली लागु हुँदै आएको छ।
हाल हवाई सेवामा आन्तरिकतर्फ बुद्ध, यती, श्री, सौर्य, लगायत वायुसेवा कम्पनीले मुलुकका विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन्।