अर्थमन्त्री र गर्भनरबीच वान टु वान मिटिङ, ‘आर्थिक समस्या समाधान गर्न मिलेर अघि बढौं’

बिजमाण्डू
२०७९ चैत्र १७ गते १७:०७ | Mar 31, 2023
अर्थमन्त्री र गर्भनरबीच वान टु वान मिटिङ, ‘आर्थिक समस्या समाधान गर्न मिलेर अघि बढौं’

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता सुरु भएको छ।
पदबहाली र कर्मचारीलाई निर्देशनसँगै सुबर्ण हलबाट तल झरेर अर्थमन्त्रीको कार्यकक्षमा अहिले भेट भइरहेको हो।

Tata
GBIME
Nepal Life

सार्वजनिकरुपमा अहिलेको आर्थिक निरासालाई आशामा बदल्न राष्ट्र बैंकसँग समन्वय गर्ने बताएका अर्थमन्त्री महतले गभर्नरसँग मिलेर अगाडि बढ्न आग्रह गरेको स्रोतले बताएको छ।

पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन सकेन। जसले अर्थतन्त्रमा थप समस्याहरु देखिए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीचको तिक्त सम्बन्धका कारण चालू पुँजी कर्जा, ब्याजदरलगायतका विषयले समस्या थप बल्झियो।

त्यही कारण नवनियुक्त अर्थमन्त्रीले गभर्नर अधिकारीसँग मिलेर जाने सन्देश दिन खोजेका हुन्। महतभन्दा अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले गभर्नर अधिकारीलाई हरेक कार्यक्रममा साथमा राख्थे र राष्ट्र बैंकले ल्याएका केही नीतिगत व्यवस्थालाई सहजीकरण गर्न पनि सफल भएका थिए। त्यसले सेयर बजार, उद्योगी व्यवसायीको मनोबल बढ्दा अर्थतन्त्र केही चलायमान बन्ने संकेत देखिएको थियो।

गभर्नर अधिकारीलाई तत्कालीन शेरबहादुर देउवा सरकारले विभिन्न आरोप लगाउँदै निलम्बन गरेको थियो। निलम्बनसँगै अधिकारी सर्वोच्च अदालत पुगे। र त्यहाँबाट अधिकारी पुनर्स्थापित भए। देउवा सरकारकै पालामा निलम्बन भएकाले समेत गभर्नर अधिकारी कांग्रेससँग सन्तुष्ट छैनन्। त्यही असन्तुष्टीलाई सम्बोधन गर्न अर्थमन्त्री महतले रणनीतिकरुपमा प्राथमिकता दिएरै गभर्नर अधिकारीलाई सँगसँगै जान प्रस्ताव गरेका छन्। साथै कांग्रेससँग चिसिएको सम्बन्ध सुधार्न खोजेको देखिन्छ।