
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन्।
महासंघ मधेश प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ढकालले मुलुक अत्यन्त संकटमा रहेको बताएका हुन्।
‘आर्थिक संकट केही हाम्रा सरकारी नीति, कोभिड र अन्तर्राष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो। तर, पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको संख्या बढेको छ। यो समयमा सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ,’ उनले भने, ‘यो समय एकले अर्कालाई आरोप-प्रत्यारोप गर्ने होइन हातेमालो गरेर संकट पार लगाउने हो।’
ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको दोहोर्याए।
रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत भएको भन्दै उनले दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए।
मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित कार्यक्रममा ढकालले महासंघ प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले वातावरण बनाउनुपर्ने बताए।
उनले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवार योग्य र सक्षम रहेको उल्लेख गर्दे सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरे।
‘बरु तीन वर्षबाट दुई वर्षे कार्यकाल बनाऔं। तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ। तर, यही अवस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनुपर्ने निश्चित छ,’ उनले भने।
अहिले अन्जन श्रेष्ठ, रामचन्द्र संघाइ र दिनेश श्रेष्ठ वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन्।