
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन जित्नका लागि केही उम्मेदवारले बैंकिङ प्रणालीप्रतिको विश्वासनीयतामाथि नै असर पर्ने गरी जिल्लाजिल्लामा गतिविधि चलाएको भन्दै राष्ट्र बैंकको नेतृत्व असन्तुष्ट बनेको छ।
वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघइलगायतले जिल्लाजिल्लामा गएर बैंकको ऋण तिर्न नसकिएको अभिव्यक्ति दिँदै अरुलाई पनि नतिर्न उक्साइरहेको बुझाइ राष्ट्र बैंक उच्च तहको छ।
महासंघको चुनाव आगामी चैत २८ गते हुँदैछ। उनीहरुले निर्वाचन जित्नका लागि मतदाताले जस्तो सुन्न चाहन्छन् त्यस्तै भाषण गरिरहेका छन्। बैंकहरुको ऋण उठ्न नसक्ने, खराब ऋण बढ्नेजस्ता भाषण गरेको र त्यसलाई लिएर जनमानसमा नराम्रो सन्देश प्रवाह भएको बुझाइ गभर्नर महाप्रसाद अधिकारीदेखि राष्ट्र बैंक उच्च तह सबैको छ।
बैंकप्रतिको विश्वास गुम्ने गरी दुर्गा प्रसाईंले मनपरी अभिव्यक्ति दिइरहेका बेला महासंघ नेतृत्वले पनि मतदाता रिझाउने भाषण गर्दा प्रणाली प्रतिको विश्वासमा कमी आउने भन्दै राष्ट्र बैंकले यस बारेमा वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुसँग पनि चासो राखेको थियो।
सोमबार २१ बैंककै प्रमुख कार्यकारी अधिकृतलाई डाकेर गभर्नर अधिकारीले नेपालको बैंकहरु दक्षिण एसियाका बैंकहरुभन्दा निक्कै सुदृढ रहेको र खराब ऋण बढ्दैमा आत्तिन नपर्ने बताएका थिए।
जिल्लाजिल्लामा गएर बैंकले डुबायो भनिरहेका व्यवसायीले आफूले भने नियमित किस्ता तिरिरहेको बैंकरहरुले बताएका छन्।
‘गभर्नरले गरेको कार्यक्रम धेरै अर्थमा व्याख्या गर्न सकिन्छ’ सहभागी एक बैंकरले भने, ‘दुर्गा प्रसाईंको अभियानमा हामी छैनौं, समर्थन छैन भन्ने तर बैंकप्रति विश्वास हराउने कुरा पनि गर्ने काम भइरहेको छ। यसप्रति राष्ट्र बैंकको चासो देखिन्थ्यो।’