
काठमाडौं। लगानी तथा व्यवसाय प्रवर्द्धन गर्न नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच समझदारी भएको छ।
समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन्।
दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुनेछ।
काठमाडौंमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इण्डियन च्याम्बर अफ कमर्ससँगको सहकार्यले दुई देशबीच व्यवसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रवर्द्धनमा दुई संस्थाबीच सहकार्य हुने बताए।
इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताए।
परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुवै संस्थाले लविइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए।
कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ सदस्य समिति सभापति सन्दिप शारदा, महानिर्देशक दिपकराज जोशी, इण्डियन च्याम्बर अफ कमर्सका महानिर्देशक डा. राजीव सिंहलगायत थिए।