चैत १८ देखि रसुवा केरुङ नाकाबाट आवतजावत खुल्ला हुने, नाकामा सरसफाई थालियो

बिजमाण्डू
२०७९ चैत्र १४ गते १६:२३ | Mar 28, 2023
चैत १८ देखि रसुवा केरुङ नाकाबाट आवतजावत खुल्ला हुने, नाकामा सरसफाई थालियो

काठमाडौं। रसुवा नाकामा चैत १८ गतेदेखि आवातजावत सुरु हुने भएको छ।

Tata
GBIME
Nepal Life

कोभिडका कारण करिब ३ वर्षदेखि उक्त नाकाबाट भन्सारका कर्मचारी, सर्वसाधारण, व्यवसायी, सवारी चालक तथा मजदुरहरुलाई आवतजावतमा रोक लगाइएको थियो। कोभिड महामारीको त्रासले गर्दा चिनियाँ पक्षले नेपाली पक्षसँग भेट्न छाडेका थिए।

चिनियाँ पक्ष स्वास्थ्य प्रोटोकलसहित मितेरी पुलसम्म आयातित सामान झारेर जाने गरेको थियो। यतिबेला उक्त नाकालाई पुरानै लयमा संचालन गर्ने विषयमा छलफल भइरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए।

‘चिनियाँ पक्षका अधिकारीहरुसँग यस विषयमा वी च्याटमा रसुवा केरुङ नाकामा आवातजावतका विषयमा खुलेर कुराकानी भएको छ। यस नाकाबाट हुने आयात निर्यातमा सिन्डिकेट हटाएर पहिले जस्तै संचालन हुने कुरा भएको छ। उताबाट अप्रिल १ तारिख अर्थात चैत १८ गतेदेखि नाका खुल्ला गर्ने तयारी गरिएको छ,’ उनले भने।

उनका अनुसार हालसम्म भन्सारमा ‍औपचारिक रुपमा नाकामा आवातजावत सुरु गर्ने पत्र भने आएको छैन। तर, चिनियाँ पक्षसँग औपचारिक रुपमै नाका पूर्णरुपमा पुरानो लयमा संचालन गर्ने तय भइसकेको छ। यसका लागि चिनियाँ पक्षले केरुङतर्फ सरसफाई समेत सुरु गरिसकेको छ।

आयात निर्यातमा सुधार हुने

लामो समयदेखि बन्द रहेको रसुवा केरुङ नाकामा आवातजावत खुलेपछि आयात र निर्यातमा सुधार आउने रसुवा भन्सार कार्यालयले अपेक्षा गरेको छ। हाल यस नाकाबाट दैनिक १४ वटा चिनियाँ कन्टनेरमा सामान आइरहेको छ भने दैनिक ५ देखि ७ वटा कन्टेनर निर्यात हुने गरेको छ।

कोभिड महामारी अघि यस नाकाबाट दैनिक एक सय भन्दा बढी कन्टेनरमा सामान आयात हुने गरेको थियो। कोभिड महामारी सकिएपछि दैनिक २० कन्टेनर आउन दिने भनिए पनि हालसम्म यो कायम हुन सकेको छैन। चीन तर्फको निर्यात पनि केही महिनादेखि मात्रै सुरु भएको हो।

निर्यात खुलेपनि पहिले जस्तो ठूलो परिमाणमा आइरहेको छैन। पुसयता केरुङ नाकाबाट १६ करोड रुपैयाँ बराबरको करिब एकसय ५९ वटा कन्टेनरमा स्वदेशी उत्पादित वस्तु निर्यात भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए।

तीन वर्षदेखि व्यवसायीहरु चीन नगई नेपालबाटै सामान अर्डर गरिरहेका छन् भने चिनियाँ पक्षपनि यस नाकाबाट नेपाल आउन सकिरहेका छैनन्। पहिले नेपाली व्यवसायीहरु चिनियाँ सामान आयात गर्न आफैं जाने गरेका थिए। अर्डर गरेका सामान समेत समयमा आइपुग्न नसक्दा हाल केरुङ नाकाबाट आयात गर्ने व्यवसायीहरुको संख्या समेत घट्न थालेको छ। रसुवा केरुङ नाकामा आवतजावत दोहोरो रुपमा हुन थालेमा आयात निर्यात बढ्ने प्रमुख भण्डारीले बताए।