बिजुलीबजार पुलमुनिको सडक दुई वर्ष बित्‍न लाग्दा पनि निर्माण भएन, ठेक्का तोड्ने तयारी

बिजमाण्डू
२०७९ चैत्र १४ गते १४:२६ | Mar 28, 2023
बिजुलीबजार पुलमुनिको सडक दुई वर्ष बित्‍न लाग्दा पनि निर्माण भएन, ठेक्का तोड्ने तयारी

काठमाडौं। निर्माण सुरु भएको दुई वर्ष बित्‍न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ। सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षको प्रगति जम्मा १४ प्रतिशत मात्रै छ।

Tata
GBIME
Nepal Life

निर्माणमा ढिलाइ भएको कारण देखाउँदै निर्माण व्यवसायीको घरमा सूचना टाँस्नाका साथै ठेक्का तोड्न केही समय दिइएको काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियर सज्जन कुँवरले बताए।

‘निर्माण कम्पनीको कामको मूल्यांकन भइरहेको छ,’ उनले भने, ‘मूल्यांकन सकिएपछि नै ठेक्का तोडिनेछ।’

२०७८ जेठमा एक वर्षमा सम्पन्न गर्ने गरि सो सडक निर्माणका लागि सम्झौता भएको थियो। वारिपारि दुवैतर्फ पुलमुनिको भागमा ढलान गर्ने गरी ठेक्का भए पनि काम सम्पन्न नभएकाले गत जेठमा तीन महिनाका लागि अवधि थप भएको इञ्जिनियर कुँवरले बताए।

‘तीन महिनामा पनि काम राम्रो हुन नसकेपछि अवधि थप नभएकाले ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘अहिलेसम्म काम राम्रो भइरहेको छैन। व्यवसायीले अहिलेसम्म काम नै नगरेको पाइएकाले ठेक्का तोड्न लागिएको हो।’

निर्माण कम्पनीले काम नगरेकाले कालोसूचीमा राख्न सूचना पनि निकालिएको इञ्जिनियर कुँवरले बताए।

पुलमुनि दुवैतर्फ काम गर्ने गरि ठेक्का सम्झौता गरिएकामा वडा नं २९ को बानेश्वरतर्फ स्थानीयवासीले खोला सार्न नदिने भनेकाले काम नसकिएको उनले जानकारी दिए। स्थानीयवासीबाट अवरोध र निर्माण व्यवसायीले पनि काम नगरेकाले निर्माण अलपत्र नै रहेको छ।

बबरमहलतर्फ भने ग्राभेल गरेर ढलान गर्नुपर्ने भए पनि काम भएको छैन। बाटो खुलाइसकेको भए पनि थप काम अघि नबढेकाले यो ठेक्का तोडिसकेपछि नयाँ ठेक्काबाट निर्माण अघि बढाइने इञ्जिनियर कुँवरले जानकारी दिए। सो सडकको निर्माण सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट लिमिटेडलाई दिइएको थियो।

धोबीखोला करिडोर निर्माण गर्दा ठाउँठाउँमा पुल निर्माण हुँदासँगै पुलमुनि सडक खुलाइएको थियो। क्रसिङको काम गर्ने यी पुलमुनिको सडक वर्षामा पानी जमेर नियमित संचालन हुन कठिन भए पनि अरु समयमा मुख्य सडकको चाप कम गरिरहेका छन्।

धोबीखोला पुलमा फरक फरक रंग लगाइएको छ। फरक रंगका आधारमा ठाउँको समेत नाम रहन गएको छ। त्यसअघि हनुमानस्थानमा सिम्रिक पुल, मैतीदेवीमा सेतो पुलका साथै त्यहाँभन्दा माथि चवहिलसम्म रातो पुल, कालो पुल, पहेँलो पुल (पहिलेको भत्केको पुल) र बैजनी पुल निर्माण भएर पुलमुनिका सडक समेत संचालनमा छन्।