नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माणस्थलमा टोलीसहित पुगे घिसिङ, भन्छन् ‘ढिला गर्नै हुन्न’

बिजमाण्डू
२०७९ चैत्र १२ गते १३:११ | Mar 26, 2023
नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माणस्थलमा टोलीसहित पुगे घिसिङ, भन्छन् ‘ढिला गर्नै हुन्न’

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तामाकोसी-काठमाडौं २२०-४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माण छिटो गराउन चासो दिएको छ। निर्माणस्थलमा किचलो भइरहेको थाहा पाएर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्राविधिक टोलीसहित पुगेका छन्।

Tata
GBIME
Nepal Life

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माणाधीन छ। उक्त आयोजनाबाट उत्पादित बिजुलीका लागि प्रसारणलाइन छैन। आयोजनाको बिजुली खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ।

नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमताबृद्धिका लागि २२०, १३२, ३३ केभी, २०० एमभीए क्षमताको थप पावर ट्रान्सफर्मर जडानको काम भइरहेको छ।

रामेछापका मन्थली-१३ साँखे फुलासीस्थित नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसन सम्मको प्रसारणलाइनको लम्बाइ ४३ किलोमिटर छ। रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर जाने नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ।

७३ वटा टावर  खडा गरिएको छ । २० किलोमिटर तार तानिएको छ। ६ वटा टावरको जग हाल्ने र ३ वटा टावर खडा गर्ने काम भइरहेको छ। रामेछापमा पर्ने तीन वटा टावरको निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ।

दोलखामा पर्ने ८४ वटा टावरमध्ये मेलुङ-७ सित्तलीमा निर्माण हुने एक वटा टावर जग्गाधनीको अवरोधका कारण निर्माण हुन सकेको छैन। अधिग्रहण गरिने जग्गाका लागि २०७७ पुसमा प्रति रोपनी १० लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको थियो। त्यसमा असहमति जनाउँदै जग्गाधनीले निर्माणमा अवरोध गरिरहेका छन्।

सिन्धुपाल्चोकमा पर्ने ३१ वटा टावरमध्ये १३ वटाको जग हालिएको छ भने ३ वटा खडा गरिएको छ। भौगोलिक रुपमा कठिन तथा जटिल स्थानमा पर्ने बाँकी टावरहरु निर्माणका टावर निर्माणस्थलसम्म पुग्न पहुँच सडक खन्ने काम भइरहेको छ। नयाँ खिम्ती–बाह्रबिसे खण्डको समग्र निर्माण प्रगति ७० प्रतिशत रहेको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको नेतृत्वको टोलीले आयोजनाको अनुगमन गर्दै स्थानीयबासीसँग छलफल गरेको छ। प्रसारण लाइन निर्माण गर्ने ठाउँका रुख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री तथा उपकरणको आपूर्ति, स्थानीयको अवरोधको कारण, निर्माण पुरा हुने तालिका लगायत विषयमा टोलीले छलफल गरेको हो।

टोलीले नयाँ खिम्ती-बाह्रबिसे खण्ड प्रसारण लाइन र सबस्टेसनको काम आगामी साउनभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीहरुलाई निर्देशन दिएको छ।

घिसिङका अनुसार यो आयोजना सम्पन्न भएमा मध्यभोटेकोसीको विद्युत राष्ट्रिय प्रसारणमा सिधै जोड्न सकिने विकल्प देखिएको छ। ‘वर्षायाम सुरु हुनुभन्दा अघिनै जनशक्ति तथा उपकरणहरु थप गरी निर्माणमा तीव्रता दिनुहोस्, स्थानीय समस्या समाधान गरी आगामी साउनभित्र निर्माण सम्पन्न गरी काम गरौं,’ छलफलमा सहभागीलाई घिसिङले भने।

नयाँ खिम्ती-बाह्रबिसे खण्ड प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमले ठेक्का पाएको थियो। तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो। यही कम्पनीहरुले नै २२० केभी बाह्रबिसे सबस्टेसन निर्माण गरिरहेको छ। प्राधिकरणले सबस्टेसन निर्माण आगामी असारभित्र सम्पन्न गर्ने समयसीमा दिएको छ।

प्राधिकरणले चिनियाँ  कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो। यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको थियो।

त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले ठेक्का पाएको थियो। प्राधिकरण र कम्पनीबीच २०७६ को जेठमा ठेक्का सम्झौता भएको थियो। तामाकोसी-काठमाडौं २२०-४०० केभी प्रसारण लाइन आयोजना बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र  बाह्रबिसेमा २२०-१३२-११ केभी सबस्टेसन निर्माणाधीन छन्।

साथै लप्सीफेदीमा ४००-२२०-१३२-११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ।

तामाकोसी तथा सुनकोसी नदी र सहायक खोलानालाका पानी उपयोग गर्ने आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न लागिएको हो। प्रसारण लाइनमा नेपाल सरकार तथा प्राधिकरणको लगानीसँगै एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण लगानी छ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको २२०-१३२ केभी, १०० एभीए क्षमताको नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तारका लागि काम भइरहेको छ। खिम्ती र लिखु नदी करिडोरमा निजी क्षेत्रका जलविद्युत आयोजनाका विद्युत जोड्नका लागि नयाँ खिम्ती सबस्टेसनको हालको क्षमताले नधान्ने हुँदा क्षमता विस्तार गर्न लागिएको हो।

यसका लागि सबस्टेसनमा ६६.६७ एमभीएका ४ वटा, ३० एमभीएका २ वटा र ६-८ एमभिएको १ वटा पावर ट्रान्सफर्मर जडानको काम भइरहेको छ ।