हिउँदमा पानी नपर्दा चिया उत्पादनमा ५० प्रतिशतसम्म ह्रास, गुणस्तर खस्किदा मूल्यमा पनि घट्ने

अनन्तराज न्यौपाने
२०७९ चैत्र १२ गते ०८:४४ | Mar 26, 2023
हिउँदमा पानी नपर्दा चिया उत्पादनमा ५० प्रतिशतसम्म ह्रास, गुणस्तर खस्किदा मूल्यमा पनि घट्ने


विराटनगर। हिउँदमा पानी नपर्दा चिया उत्पादन ५० प्रतिशतले घट्ने देखिएको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार माघ–फागुनमा पानी नपरेकै कारण चैत-वैशाख (मार्च-अप्रिल)मा हुने चियाको उत्पादनमा ५० प्रतिशतले ह्रास आउनेछ।

Tata
GBIME
Nepal Life

यसले वर्षभरिको उत्पादनमा १५ देखि २० प्रतिशतले असर पर्नेछ। नेपालमा सामान्यतया वार्षिक २ करोड २० लाख किलो सीटीसी चिया र ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुँदै आएको छ।

अध्यक्ष मित्तलले भने, ‘अप्रिल सुरु भएपछि त चियाको बोट नै बुढो देखिन थाल्छ। पत्ती र मुना नै फुस्रा हुन थाल्छन्। चैतको ५ र ६ गते पानी परेको छ। यो पानीले केही मद्दत गर्दैन। फागुनभित्र परिसक्नु पर्थ्यो।’

मित्तलले यस वर्ष पानी नपरेका कारण चैत-वैशाखको चिया ‘जुसी’ अर्थात् रसिलो नहुने बताए । गुणस्तर खस्किएकाले यसको सिधा असर चियाको मूल्यमा पर्नेछ। उनले तराई क्षेत्रका चिया–कृषकले पम्पसेटका माध्यमबाट चियाबगानमा सिँचाइ गरेको जानकारी दिए।

‘हो, हामीले तराईका बगानमा पम्पसेट चलाएर भए पनि अलिअलि सिँचाइ गर्‍यौं,’ उनले सुनाए, ‘यति नगरेको भए सबै बोट मर्ने थिए। पहाडका बोट मरिहाल्दैनन्। तर, तराई क्षेत्रमा माघ-फागुनमा पानी परेन भने बगानलाई सिँचाइ अनिवार्य हुन्छ।’

उनले नेपाल विद्युत् प्राधिकरणले चियाबगानलाई दिँदै आएको सहुलियत बन्द गर्दा कृषकहरू मारमा परेको गुनासो गरे। मित्तलका अनुसार चिया किसानहरु पम्पसेट चलाउँदा प्रति युनिट ४ रुपैयाँ ७५ पैसाका दरले विद्युत् महसुल बुझाउँदै थिए।

तर प्राधिकरणले २०७७ साउनदेखि चियाबगानलाई पनि अन्य उद्योगसरह नै राखेर महसुल प्रति युनिट ८ रुपैयाँ ५५ पैसा बनाएको छ। यसले गर्दा अधिकांश किसानले थोरै मात्र सिँचाइ गरेका छन्। प्राधिकरणले विद्युत् महसुलमा एक्कासि दोब्बर वृद्धि गरेपछि किसानले अत्यन्त थोरै मात्र सिँचाइ गरेका हुन्।

‘अधिकांश कृषकले धेरै उत्पादन लिन होइन, चियाका बोट नमरून् भन्ने उद्देश्य राखेर ठिक्क र चाहिनेजति मात्र सिँचाइ गरेका छन्,’ मित्तलले भने, ‘प्राधिकरणले वृद्धि गरेको महसुलका कारणले धेरै किसानले पर्याप्त सिँचाइ गरेनन्।’

गोर्खा टी स्टेट इलाम र हिमालय टी प्रोड्युसर कोअपरेसन लिमिटेड इलामका अध्यक्ष उदय चापागाईंका अनुसार मार्च–अप्रिलमा टिपिने र उत्पादन गरिने चियालाई फर्स्ट फ्लसको भन्ने गरिएको छ।

‘हिउँदमा पानी परेन, जबकि टन्न माघे झरी चाहिन्थ्यो,’ उनले भने, ‘तर, ठ्याम्मै परेन। गत वर्ष हिउँदमा राम्रो झरी परेको थियो, त्यसैले उत्पादन र त्यसको गुणस्तर पनि राम्रो थियो।’ गत वर्ष फर्स्ट फ्लसको चियाको उत्पादन राम्रो भएको र त्यसले मूल्य पनि उचित पाएको उल्लेख गर्दै उनले यो वर्ष त्यस्तो अवस्था नदोहोरिने दाबी गरे।

सरकारले चियाकृषकलाई समयमा पर्याप्त प्रांगारिक मल पनि उपलब्ध गराउन नसकेको आरोप उनले लगाए। ‘रासायनिक मलको कथा तपाईंहरू सबैलाई थाहा छँदैछ, मैले के सुनाउनु ?,’ उनको आक्रोश थियो, ‘रासायनिक मल अलिअलि पाइयो तर हामीलाई चाहिने मुख्य प्रांगारिक मलको अत्तोपत्तो नै भएन। एकातिर हिउँदे झरी नपर्नु अनि अर्कातिर प्रांगारिक मल नपाइनु। अनि कसरी गर्न सकिन्छ गुणस्तरीय उत्पादन !’

मई १५ देखि जुन १५ सम्मको चियालाई सेकेन्ड फ्लस र जुन १५ देखि जुलाई १५ सम्मको चियालाई थर्ड फ्लसको भन्ने गरिएको उद्यमी चापागाईंले बताए। नेपालका १४ जिल्लाका २० हजार कृषक चियाखेतीमा आबद्ध छन्। पहाड र तराई क्षेत्र गरी कुल २८ हजार हेक्टर क्षेत्रमा चियाखेती भइरहेको छ।