मुलुकको अर्थतन्त्र गम्भीर र जटिल मोडमा पुगेको छ : पूर्व अर्थमन्त्री पौडेल

बिजमाण्डू
२०७९ चैत्र ११ गते २०:४५ | Mar 25, 2023
मुलुकको अर्थतन्त्र गम्भीर र जटिल मोडमा पुगेको छ : पूर्व अर्थमन्त्री पौडेल

बुटवल। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर र जटिल मोडमा पुगेको बताएका छन्। शनिवार बुटवलमा पश्चिम नेपाल बस व्यवसायी प्रालिको तेस्रो साधारण सभामा उनले मुलुकमा अहिले देखिएको आर्थिक संकट समाधानका लागि सबै एक ठाउँमा जुट्नुपर्ने अवस्था सिर्जना भएको बताए।

Tata
GBIME
Nepal Life

मुलुकको चिन्ताजनक अवस्था पार लगाउन राजनीतिक दल र निजी क्षेत्र एकजुट भई एउटै प्लेटफर्ममा बसेर लाग्नुपर्ने उनको भनाइ थियो।

‘अहिलेको अवस्थामा राज्यको आन्तरिक राजश्वबाट साधरण खर्च व्यवस्थापन गर्नसमेत कठिन छ। साधारण खर्च पनि धान्न नसकेको अवस्थामा पेन्सन, कर्मचारीलाई तलब, सामाजिक सुरक्षा व्यवस्थापन झन् कठिन बनेको छ,’ उनले भने।

रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दी पछिकै निराशाजनक अवस्थामा रहेको बताए। गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्य मात्रा कम राजश्व संकलन भएको उनले भनाइ छ।

‘राजश्व परिचलन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षकोभन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ’, पौडेलले भने, ‘मुलुकमा आधा शताब्दीपछि आर्थिक अवस्था फेरी संकटपूर्ण अवस्थामा आयो।’

विसं २०२८ सालको घटना स्मरण गराउँदै नेता पौडेलले भने, ‘उक्त वर्ष अघिल्लो वर्षको तुलनामा निकै कम राजश्व संकलन भएको थियो। ठिक सोही घटना ५० वर्षपछि चालु आर्थिक वर्षमा दोहोरिएको छ।’

नेता पौडेलले यातायात क्षेत्रका समस्या समाधान गर्न आफू सबै व्यवसायीको साथमा रहेर पहल गर्ने बताए। पौडेलले व्यवसायीका समस्या समाधान गर्न सरकारमा रहँदा वा बाहिर रहँदा पनि काम गर्नेमा विश्वास दिलाए।

पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायमा निजी क्षेत्रले गरेको ४० अर्ब बढी लगानीले उचित प्रतिफल पाउन नसकेको र व्यवसायी निराश भएको पौडेलले उल्लेख गरे।