
काठमाडौं। आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साना किसानसँग मर्जरमा जाने प्रस्ताव पारित भएको छ। काठमाडौंमा शुक्रबार सम्पन्न संस्थाको २४ औं वार्षिक साधारण सभाले मर्जरमा जानेसहित २६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो।
संस्था संचालक समिति अध्यक्ष सुजाता जोशीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहित सभाले वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ।
अध्यक्ष जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ३१५ वटा साझेदार संस्थासँग कर्जा लगानीमा ११ अर्ब ८४ करोड रुपैयाँ बाँकी रहेको बताइन। संस्थाले आव २०७८/७९ मा रु.५० करोड ५५ लाख सञ्चालन नाफा गरेको छ। सेयरधनीलाई चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र १.३६४८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ।
आरएमडीसी तथा साना किसान मर्जरको प्रक्रियामा छन्। मर्जर गर्नुको औचित्यमाथि प्रकाश पार्ने क्रममा अध्यक्ष जोशीले एकीकृत भएपछि संस्थाको पुँजीगत आधार मजबुत भइ प्रतिस्पर्धात्मक क्षमतामा अझ वृद्धि हुने बताइन।
एकीकृत कारोबार सुरु भएपछि व्यवसाय बढ्ने, कृषि तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको विस्तारमा सहयोग पुग्ने, लघुवित्त तथा सहकारी संस्थाहरुलाई सुलभ तथा सहज रुपमा वित्तीय स्रोत उपलब्ध गराउने एक विशिष्टिकृत संस्थाको रुपमा रुपान्तरण हुने अपेक्षा गरिएको पनि उनले बताइन।
सभाले आरएमडीसी र साना किसान लघुवित्त वित्तीय संस्था मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। जस अनुसार आरएमडीसीको १०० कित्ता सेयर बराबर मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात (१००:८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ।
आरएमडीसी लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजतपत्र प्राप्त संस्था हो।