जीवन विकासको लाभांशलाई राष्ट्र बैंकको अंकुश, ३७ बाट खुम्चियो १४.९९ प्रतिशतमा

बिजमाण्डू
२०७९ चैत्र १० गते १४:५२ | Mar 24, 2023
जीवन विकासको लाभांशलाई राष्ट्र बैंकको अंकुश, ३७ बाट खुम्चियो १४.९९ प्रतिशतमा

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासनपछि दोस्रो बजारमा सूचीकृत भएकै वर्षको नाफाबाट लगानीकर्ताहरुलाई बम्पर लाभांश वितरण गरेको थियो। यसपटक भने कम्पनीले प्रस्तावित लाभांशको दरलाई सच्याउनु परेको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले लघुवित्तहरुको लाभांशमा कडाइ गरेपछि जीवन विकासको लाभांश ७९ प्रतिशत सम्म घटेको छ। गत फागुन १० गते राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई निर्देशन दिदै १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गरे जगेडामा रकम सञ्चित गर्नुपर्ने व्यवस्था गरेको छ।

जीवन विकास लघुवित्त सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमध्ये लघुवित्तले चुक्ता पुँजीको २८ प्रतिशतले हुन आउने २८ करोड ९५ लाख बराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ९.३६ प्रतिशतले हुन आउने ८ करोड ६८ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

तर, त्यसको दुई दिन नबित्दै राष्ट्र बैंकले लघुवित्तका लाभांशमाथि कडाइ गर्दै नयाँ निर्देशन जारी गर्‍यो। नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले जीवन विकासलाई संशोधन गरेर मात्र स्वीकृति दियो। गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १४.९९ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति दिएको हो।

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड छ। गत आर्थिक वर्षको नाफाबाट अब कम्पनीले चुक्ता पुँजीको १४.२८ प्रतिशतले हुन आउने १४ करोड ७७ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ भने सो बोनस सेयर प्रयोजनका लागि ०.७१ प्रतिशतले हुन आउने ७३ लाख बराबरको नगद लाभांश वितरण गर्ने तयारीमा छ।

लघुवित्तले सो लाभांश आगामी चौथो वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात लगानीकर्ताहरुलाई वितरण गर्ने छ। साधारण सभा यही चैत ३० गते बिहीबार मोरङको कटहरी-२ स्थित संस्थाको केन्द्रीय कार्यालयबाट संचालन गर्ने तयारी छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले चैत १७ गते बुक क्लोज मिति तोकेको छ। बुक क्लोजभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सो लाभांश पाउने छन्।

जीवन विकासले आर्थिक वर्ष अर्थात २०७७/७८ मा लगानीकर्ताहरुलाई ७३.६८ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो।