प्रसारणलाइनपछि एमसीएले करिब १५ अर्बको  तीन ठुला सबस्टेसन निर्माणका लागि ठेक्का निकाल्यो

बिजमाण्डू
२०७९ चैत्र १० गते १२:४७ | Mar 24, 2023
प्रसारणलाइनपछि एमसीएले करिब १५ अर्बको  तीन ठुला सबस्टेसन निर्माणका लागि ठेक्का निकाल्यो

काठमाडौं।  एमसीसी कम्प्याक्ट अन्तर्गत निर्माण हुने प्रसारणलाइनपछि तीन ठुला सबस्टेसन निर्माणका लागि ठेक्का निकालेको छ।

Tata
GBIME
Nepal Life

एमसीए-नेपालले शुक्रबार सूचना जारी गरेर सबस्टेसन निर्माणका लागि ठेक्का निकालेको हो।  यो परियोजनाअन्तर्गत  रातमाटे, न्यु दमौली र न्यु बुटवलमा निर्माण गर्न लागेको हो।

तीनवटै सबस्टेसन ४०० केभीका हुनेछन्।  यी सबस्टेसन निर्माणको ठेक्का पाउने कम्पनीले सबस्टेसनको प्लान्ट डिजाइन, सप्लाइ, डेलिभरी, इन्टलेसन, टेष्टिङ र कमिसनिङको काम गर्नुपर्नेछ।

तीनवटा लटमा सबस्टेसन निर्माणका गर्न लागिएको छ। पहिलो लटमा रातमाटे ४०० केभी सबस्टेसन निर्माण र  लप्सीफेदी र हेटौडासम्मलाइन पूर्याउने काम गर्नेछ। लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणले सबस्टेसन निर्माणको काम गरिरहेको छ। केही समय पहिले स्थानीयसंग विवाद हुँदा प्रशासन नै प्रयोग गर्नुपरेको थियो।

अहिले सो स्थानमा विवाद मिलेर सबस्टेसन निर्माणको काम चलिरहेको छ। हेटौडामा २२० केभीको सबस्टेसन छ। सो सबस्टेसन स्तरोन्नतिको काम भइरहेको छ। प्राधिकरणले स्तरोन्नतिको काम गरिरहेको हो।

दोस्रो लटमा न्यु बुटवलमा ४०० केभी सबस्टेसन र तेस्रो लटमा ४०० केभीको न्यु दमौली सबस्टेसन निर्माण हुनेछ। असार १५ गते (३० जुन)सम्म आवेदन दिन सकिन्छ।

एमसीए नेपालले प्रसारणलाइन निर्माणका लागि यस अघि नै ठेक्का निकालिसकेको छ। गत मंसिर ठेक्का निकालेको हो। यो प्रसारणलाइन लप्सीफेदीदेखि न्यु बुटवलसम्म निर्माण हुनेछ।

लप्सीफेदी-रातमाटे-न्यु हेटौंडा पहिलो लट (११७ किमी), दोस्रो लटमा रातमाटे-न्यु दमौली (९० किमी)  र तेस्रो लट न्यु दमौली-न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमी) गरी कुल ३१५ किलोमिटर छ।

एमसीसी अन्तर्गतको  आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्नु पर्नेछ। सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने कार्यतालिका छ। परियोजनाका सबै काम २०२८ अगष्टमा सक्नुपर्नेछ।

प्रस्तावित यो प्रसारणलाइनमा कुल ८५६ वटा टावर निर्माण हुनेछन्। टावर निर्माणका क्रममा २ लाख १२ हजार रुखहरु काट्नुपर्छ। सरकारी र निजी गरी ८ सय रोपनी जग्गा चाहिने अनुमान गरिएको छ। अहिले रुख कटानको स्वीकृति र अधिग्रहणको प्रक्रिया अघि बढेको  एमसीए नेपालले जनाएको छ।

यो प्रसारणलाइन काठमाडौं-सिन्धुपाल्चोक- नुवाकोट- धादिङ- मकवानपुर-चितवन-तनहुँ- पाल्पा-नवलपुर-परासी हुँदै जानेछ। ४०० केभीको डबल सर्किट यो प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत वहन गर्न सक्छ। निर्माणपछि अहिले संचालनमा रहेको ढल्केबर-मुजफ्फरपुर पछिको दोस्रो अन्तर्देशीय प्रसारणलाइन हुनेछ। नेपाल-भारत विद्युत व्यापारको आयतन बढाउन यो प्रसारणलाइन महत्वपूर्ण हुने अपेक्षा  गरिएको छ।

अहिले यो आयोजनामा बोटेक जेभीले परामर्शदाताका रुपमा काम गरिरहेको छ। २२८ मिलियन डलर (२९ अर्ब  ६४ करोड रुपैयाँ) प्रसारणलाइन र ११४ मिलियन डलर (१४ अर्ब ८२ करोड रुपैयाँ) सवस्टेसनका लागि खर्च हुने एमसीए-नेपालले जनाएको छ।

एमसीए नेपालले पहिलो चरणमा प्रसारणलाइन र दोस्रो चरणमा सबस्टेसनको ठेक्का निकाल्ने योजना बनाएको थियो। सोही अनुरुप प्रसारणलाइन ठेक्का निकालेसँगै सबस्टेसनको पनि ग्लोबल ठेक्का निकालेको हो।

एमसीए नेपालका अनुसार दमौली र बुटवलको प्रसारणलाइनका लागि  विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरिसकेको छ। त्यहाँ एमसीए-नेपालले संरचनाहरु मात्रै निर्माण गर्नेछ भने नुवाकोटको रातमाटेमा जग्गा अधिग्रहण नै गरेर सबस्टेसन निर्माण हुनेछ। यो सबस्टेसन निर्माणका लागि ३९८ रोपनी जग्गा चाहिन्छ। ३९७ रोपनी जग्गा अधिग्रहण भइसकेको एमसीए नेपालले जनाएको छ।