पर्यटक आगमन घट्यो, त्यसमा ब्याज बढ्दा पोखराका एक दर्जन होटल बिक्रीमा

वसन्तराज उप्रेती
२०७९ चैत्र १० गते ०९:११ | Mar 24, 2023
पर्यटक आगमन घट्यो, त्यसमा ब्याज बढ्दा पोखराका एक दर्जन होटल बिक्रीमा

काठमाडौं। पर्यटक आगमन कम र चर्को ब्याजले पोखराका एक दर्जन होटल बिक्रीमा राखिएको छ। बैंक ऋण लिएका कतिपय होटल लिलामी हुने अवस्था समेत आएको छ।

Tata
GBIME
Nepal Life

कोभिडपछि टिक्न नसकेर पाँच वटा होटल बिक्री भइसकेका छन्। पोखराका लेकसाइड रिट्रिट, दरबार सुइट, लब एण्ड लाइट र ट्रेकर इन बिक्री भइसकेका छन्। पोखराका एक व्यवसायीका अनुसार एक दर्जन होटल बिक्रीमा छन्।

‘हिजो कोभिडको समयमा सरकारकै निर्देशनमा हामीले सेवा बन्द गर्‍यौं। हिजो सहुलियतमा दिइएको ब्याज हटेको छ। पर्यटक बढेका छैनन्। तर, बैंकको ब्याज ७ प्रतिशतबाट १६ प्रतिशत पुगेर धान्नै नसक्ने अवस्थामा पुगेपछि होटल बिक्री गर्नुपर्ने अवस्थामा पुगेका हौं,’ ती व्यवसायीले भने। बिक्रीमा राखिएका होटल किन्न चाहनेको संख्या भने अत्यन्तै कम छ।

‘पोखरामा धेरै होटल बिक्रीमा छन्। तर, बाहिर हल्ला गर्दा प्रतिष्ठामा आँच आउने डरले व्यवसायी भित्रभित्रै गुम्सिएका छन्,’ ती व्यवसायीले भने, ‘बिक्री गर्न चाहने धेरै भए पनि किन्ने भने धेरै नै कम छन्।’ उनका अनुसार कतिपयले दबाब परेका होटललाई लागतभन्दा कममा किन्न बार्गेनिङ गरिरहेका छन्।

अहिले सिजनको बेलामा पनि पोखराको समग्र होटलमा सप्ताहान्त अकुपेन्सी ३५ प्रतिशत हाराहारी कायम हुँदै आएको छ। पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि आन्तरिक पर्यटक घटेका छन्। त्यसमा मुग्लिन-पोखरा सडक विस्तारले सवारी अवागमनमा अप्ठ्यारो हुँदा आन्तरिक पर्यटक थप घटेका छन्।

‘ब्याजदर थेगिनसक्नु भयो। केही ठूला होटलको अकुपेन्सी सन्तोषजनक होला। तर, समग्र होटल उद्योगलाई हेर्ने हो भने २० प्रतिशतभन्दा कम अकुपेन्सी छ। बिजुली-पानीको महसुल तिर्ने पैसा छैन। बैंकको किस्ता कसरी तिर्ने?,’ क्षेत्रीय होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बिजमाण्डूसँग भने, ‘एक जना व्यवसायी डुबे भने एक हजार जना सर्वसाधारणको पैसा डुब्छ।’

राष्ट्र बैंकले पुनर्कर्जाको सुविधा नदिएमा धेरै होटल बन्द हुने उनको जिकिर छ। अध्यक्ष सुवेदीले आफ्नै होटल साकुरा पनि बिक्रीमा राखेका छन्।

हाल पोखरामा होटल संघसँग आबद्ध ४ सय २५ वटा होटल छन्। कोभिडपछि २५ प्रतिशतभन्दा बढी व्यवसायी र ८० प्रतिशत जनशक्ति यो क्षेत्रबाट पलायन भइसकेको उनले जानकारी दिए।

कसरी बिग्रियो पोखराको पर्यटन ?

पोखराको पर्यटन सधैं गुल्जार हुने गर्थ्यो। त्यही कारण होटल-रेष्टुरेन्टमा धमाधम लगानी बढ्यो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भयो। उक्त परियोजना अघि बढेकाले व्यवसायी हौसिए। विमानस्थल सञ्चालनमा आएपछि आम्दानी निकै बढ्ने आकलन गर्दै थप लगानी होटल क्षेत्रमा आयो।

तर, एकाएक कोभिड संक्रमणको महामारी आयो, रोकथामका लागि लकडाउन भयो। लकडाउनका कारण देशका सबै होटल समस्यामा परे। त्यो बेलामा राष्ट्र बैंकले होटल क्षेत्रलाई पुनर्कर्जा र पुनर्संरचनाको समय दियो। लकडाउन हटेपछि केही समय आन्तरिक पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्रलाई भरथेग गर्‍यो। कोभिडको दुई वर्ष जेनतेन पोखराका होटल चले।

यही बेलामा राष्ट्र बैंकले पुनर्कर्जा सुविधा हटायो। यो सुविधा हटाएपछि एकाएक ब्याज माथि गयो। ब्रेकइभनमा चलेका होटल ब्याज तिर्न नसक्ने अवस्थामा पुगे। विस्तारै बाह्य पर्यटक बढ्न थालेकाले होटल व्यवसायी आशावादी थिए।

तर, त्यही बेला यती एयरलाइन्सको जहाज दुर्घटना भएर ७२ जनाको निधन भयो। यो जहाज दुर्घटनासँगै पोखरामा आन्तरिक पर्यटक कम भए। काठमाडौंपछि पोखरा गन्तव्य बनाउने भारतीय पर्यटकको संख्या पनि कम भयो। सडकमार्गबाट जानका लागि मुग्लिन-पोखरा सडक विस्तारका लागि भत्काएकाले त्यसको असर पनि होटलको अकुपेन्सीमा पर्‍यो। अर्थतन्त्र मन्दीतर्फ गएका बेला आन्तरिक पर्यटकको संख्या झन् घट्यो। चिनियाँ पर्यटक कोभिड संक्रमणपछि आएका छैनन्। (यसअघि पोखराको होटल बिक्री भएको सूचीमा डेन्डिलियन पनि असावधानीवस परेकोमा सच्चाइएको छ-सम्पादक)