नेपाल वायुसेवा निगमको १५ करोडमा किनेको जहाजलाई भवन भट्टले रेष्टुरेन्ट बनाउँदै

बिजमाण्डू
२०७९ चैत्र ९ गते १७:४१ | Mar 23, 2023
नेपाल वायुसेवा निगमको १५ करोडमा किनेको जहाजलाई भवन भट्टले रेष्टुरेन्ट बनाउँदै

काठमाडौं। गैरआवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले पाँच वर्ष अगाडि नेपाल वायुसेवा निगमसँग  खरिद गरेको बोइङ ७५७-५०० जहाजलाई रेष्टुरेन्टमा रुपान्तरण गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

उनले निगमसँग किनेको जहाज ‘कर्णाली’लाई तीन करोड रुपैयाँ खर्चेर रेष्टुरेन्ट बनाउन लागेका हुन्। ५ रोपनी क्षेत्रफलमा रहने यस्तो प्रकारको रेष्टुरेन्ट नेपालको पहिलो हुने दाबी गरिएको छ।

जहाज भित्रको रेष्टुरेन्टमा ग्राहकले हवाई यात्रा गर्दा जस्तै खानपिनको सेवा लिनसक्ने उनले बताए।

‘हामीले जहाजलाई नै रेष्टुरेण्ट बनाउन लागेका हौं। इन्जिनबाहेक जहाजभित्र हुने सबै सुविधा यसमा राखिएको हुन्छ। पाइलट अनाउन्समेन्ट, एयर होस्टेसको आतिथ्यता सहितको सेवा दिइनेछ’ उनले भने।

जहाजमा वेटरसँगै अध्ययनरत एयर होस्टेसलाई तालिम दिइने उनले जानकारी दिए।

भट्टले पाँच वर्ष अगाडि १४ करोड ६० लाख रुपैयाँमा निगमसँग यो जहाज खरिद गरेका थिए। ८६ हजार ४ सय १० घण्टा उडान गरिसकेको उक्त जहाजको इन्जिन भने एक वर्षअघि एउटा अमेरिकी  कम्पनीले खरिद गरिसकेको छ।

३६ वर्ष पुरानो उक्त जहाज निगमले सन् १९८७ सेप्टेम्बर १९ मा खरिद गरेको थियो।

कतै होटल, कतै अफिस

पुराना काम नलाग्ने जहाजलाई सामान्यतयाः उड्डयन अवधारणा अन्तर्गतकै व्यवसायमा प्रयोग गरिँदै आइएको छ। तथापि, केही अन्तर्राष्ट्रिय व्यवसायीले होटलमा प्रयोग गरिरहेको छ।

स्वीडेनको राजधानी स्टकहोममा रहेको होटल ‘जम्बो स्टे’ले यसरी नै जहाजलाई सुइट रुमको रुपमा प्रयोग गरेको छ। अर्लान्डा विमानस्थल छेउमा रहेको यो होटल सन् २००९ मा स्थापना भएको हो। यो होटलमा ४६ वर्ष पुरानो बोइङ ७४७-२१२बी सिरिजको जम्बो जेट प्रयोग गरिएको छ। ‘स्काई क्वीन’ को नाम दिइएको उक्त जहाज अहिले चर्चित होटलका रूपमा परिचित छ।

त्यसअघि स्वीडेनको ट्रान्सजेट एयरलाइन्सले चलाएको उक्त जहाज सन् २००२ देखि थन्किएको थियो। पछि सिंगापुर एयरलाइन्सले उक्त जहाजमा लङ हल रुटमा उडान गरेको थियो। हाल यो जहाज ३३ वटा कोठा क्षमता र एक पटकमा ७६ जना ग्राहकलाई सेवा दिने क्षमता छ।

यसैगरी दुईजना आइरिस विल्डर्सले एउटा जहाजलाई नै आरामदायी कार्यालय बनाएका छन्। भारतको लो कस्ट एयरलाइन्स इण्डिगोको एयरबस ३२० सिरिजको जेट जहाजलाई पनि अफिसको रुपमा प्रयोग गरिएको छ।

दुईवटा क्याबिन भएको जहाजमा १० वटा झ्यालसहितको कार्यकक्ष, शयन कक्ष र एउटा भान्सा छ।